नेपालगन्ज

खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सके मात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । "/>

खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सरोकारवालाहरुको जोड

खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सरोकारवालाहरुको जोड


नेपालगन्ज

खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सके मात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता जनाए । भौतिक पुर्वाधार देखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा सदनमा बुलन्द आवाज उठाउनेछौं ।’ अन्सारीले भने–‘समस्या हामीलाई भन्नुस, नीतिगत तहमा आवाज उठाउने काम हाम्रो हो ।’ नेपालगन्जमा क्रिकेट मैदान निर्माण गर्ने सवालमा चाँडै नतिजा आउने गरी आफुहरुले काम गरेको उनले बताए ।

क्रियटिभ ह्याण्ड्सले पश्चिम नेपालमा नै पहिलोपटक नेपालगन्जमा शुक्रवार ओलम्पिक डे आयोजना गरेको हो । नेपालकै प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सहआयोजक क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथन, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल, नेपालगन्ज साहित्य उत्सव आयोजना गर्दै आएको छ । साथै महिला क्रिकेटको पहिलो कप्तान नेरी थापा र क्रिकेटर महेश क्षेत्रीलाई स्कुटरसहित नेपालगन्ज स्पोर्ट्स अनरबाट सम्मान गरिसकेको छ ।

ओलम्पियन कमल अधिकारीलाई ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रदान गरी सुरु गरिएको अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेलकुद र खेलाडीका लागि राज्यले सक्दो गरिरहेको बताए । अग्रज खेलकर्मी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष अजित शर्माले राजनैतिक परिवर्तनसँगै खेलकुदका कतिपय अल्पकालीन र दीर्घकालीन योजनामा प्रभाव पर्ने गरेका कारण खेलकुदले अपेक्षित गति लिन नसकेको औल्याए । सिओल एशियाडमा भलिबलतर्फ रेफ्रीको भुमिका निर्वाह गरेका शर्माले समग्र खेलकुद विकासका लागि भौतिक पुर्वाधारसँगै खेलाडी खोजी अभियानलाई सम्बन्धित निकायहरुले जोड दिनुपर्नेमा जोड दिए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आठौं राष्ट्रिय खेलकुद समयमै हुने धेरै आधारहरु तयार भइसकेको अवस्थामा शंका उपशंका नगर्न आग्रह गरे । ‘हामी आठौंको महाअभियानमा जुटेका छौं ।’ अध्यक्ष ओलीले भने–‘अब सम्पूर्ण जिल्लावासीले यसलाई प्रतिष्ठाको बिषय बनाएर अघि बढे अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदका रुपमा सम्पन्न गर्नेछौं ।’ अध्यक्ष ओलीले यसै महिनाभित्र खेलकुद पत्रकारिता तालिम पनि सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे ।

 

Logo