काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन् ।
शनिबार सिंहदबारमा बसेको बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले विकृति मच्चाएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रुपमा रहेको सहकारीमा देखिएको समस्यालाई हेरेर मात्र सरकार नबस्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘समितिले मिहिनेतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।’
समितिले प्रधानमन्त्रीसँगको छलफलपछि प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । समितिले यसअघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर राय लिइसकेको छ । साथै समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ ।
प्रतिक्रिया