सिनेजगत

भुवन केसीकाे समर्थनमा निरुता भन्छिन्, 'भुवन दाई मेरो लागि रियल हिरो हो'

15 Shares

काठमाडौं ।

पछिल्लो समय नेपाली फिल्म इन्डस्ट्री अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको विषयले गर्माएको छ । सामाजिक संजालमा पोष्ट गरेको सानो भिडियो र स्टाटासबाट सुरु भएको यी दुई बीचको द्वन्द्व अहिले अदालतसम्म पुगिसकेको छ ।

यस्तोमा दुवैले आफूलाई निर्दोष साबित गर्न हरकदम प्रयास गरिरहेका छन् भने आफ्नो पक्षमा बोलिदिन अन्य कलाकारहरुलाई पनि आग्रह गर्दै आएका छन् । जसकारण चलचित्रकर्मिहरु भुवन र साम्राज्ञी गरि दुई गुटमा विभाजित भएका छन् ।

यस्तैमा कुनै समयकी निकै चर्चित र सफल अभिनेत्री निरुता सिंहले पनि यस विषयमा आफ्नो समर्थन जनाएकी छिन् । सामाजिक संजालमा स्टाटस सेयर गर्दै निरुताले भुवनको समर्थनमा बोलेकी हुन् ।

याद रहोस्, निरुताले नेपाली चलचित्र क्षेत्रमा तुलसी घिमिरेद्वारा निर्मित चलचित्र ‘दक्षिणा’ मार्फत डेब्यु गरेकी थिईन् । जुन चलचित्रको नायकमा भुवन केसी थिए । त्यो एउटा चलचित्रबाट नै निरुताले निकै नाम कमाईन् जसकारण त्यस पश्चात उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

हाल निरुता लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएकी छिन् । तर भारतमै बसेपनि उनले नेपाली चलचित्र क्षेत्रका विभिन्न कार्यक्रमहरु र विवादका विषयहरुमा आफ्नो सहभागिता जनाउँदै आएकी छिन् । यसैबीच उनले नेपालमा चर्किरहेको भुवन–साम्राज्ञी विवादको विषयमा पनि बोलेकी हुन् । जसमा उनले भुवनलाई आफ्नो सपनाको महानायक भएको र भुवनसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताएकी छिन् ।

उनी लेख्छिन्– ‘भुवन दाई हजुरले गर्नु भएको हर सहयोग अनि मायाको लागि मुरी मुरी धन्यवाद । हजुरको त्यो माया सहयोग मेरो जीवनको अन्तिम दिनसम्म भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’

निरुताको यो अभिव्यक्तिपछि कतिले भुवनको आग्रहमा निरुताले उक्त स्टाटस लेखेको हुन सक्ने अड्कल काटेका छन् भने कतिले महानायक राजेश हमालको सम्मान नगरेको जस्ता प्रतिक्रिया जनाएका छन् ।

 

प्रकाशित: १८ श्रावण २०७७ १९:१६ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी