1

साम्राज्ञी र आनासँगै ‘प्रेम गीत–३’ का मनिष राउत नयाँ फिल्ममा अनुबन्धित

1
1
1

काठमाडौं ।

नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासहित ‘प्रेम गीत–३’मा रहेका अभिनेता मनिष राउत नयाँ फिल्ममा अनुबन्धित भएका छन् । साम्राज्ञी र आनाले यस अघि पनि थुप्रै फिल्ममा काम गरे पनि उनीहरू एकसाथ स्क्रिनमा भने पहिलो पटक देखिन लागेका हुन् ।

त्यसैगरि आफ्नो पहिलो फिल्म रिलिज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’मा नायक प्रदीप खड्कासँग काम गरेका मनिष आगामी चलचित्रमा प्रमूख भूमिकामा अनुबन्ध भएका हुन् । उनीसँगै साम्राज्ञी र आनाले एकसाथ नयाँ फिल्मका लागि सम्झौता गरेका हुन् ।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्मलाई यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् । पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको नाम भने फाइनल नभएको निर्देशक पौडेलले बताएका छन् ।

‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘कमिङ् एज’ को कथामा हामीले दुई बर्षदेखि काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ ।

‘डक्टर डेनिम’को प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । फिल्मका लागि सह–निर्माता करन साउद रहेका छन् ।

प्रकाशित: २३ साउन २०७७ १७:४० शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी