११ माघ २०७८ मंगलबार

यी हुन् नेपालका कोरोना संक्रमित १३ कलाकार

काठमाडौं ।
गत वर्ष डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) हाल विश्वभर महामारीकारुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमण सुरुवाती दिनहरुमा सर्वसाधारणमा मात्रै देखिए पनि पछिल्लो समय विश्वका शक्तिशाली व्यक्तिहरुमा समेत देखिन थालेको छ । महामारीकारुपमा फैलिरहेको यस भाइरसबाट हलिउड र बलिउडका थुप्रै कलाकार संक्रमित भएका छन् । ती मध्ये कतिले कोरोना जितेर घर फर्किसकेका छन् भने कतिपयले ज्यान समेत गुमाएका छन् ।

कोरोना त्रासमा विदेशी कलाकार गुज्रिरहँदा यस भाइरसबाट नेपाली कलाकारहरु पनि अछुतो रहन सकेका छैनन् । हाल नेपालमा पनि एक दर्जन भन्दा बढी कलाकारहरु यस भाइरसबाट संक्रमित भईसकेका छन् । कतिपयले यस भाइरसलाई परास्त गरिसकेका छन् भने कतिपय अझै पनि लडिरहेका छन् । आजको यस रिपोर्टमा हामी तिनै संक्रमित कलाकारहरुको विस्तृत विवरण प्रस्तुत गर्दैछौं ।


१. सुवास कार्की (बेलासे)
– हाँस्य कलाकार सुवास कार्की बेलासे कोरोनाबाट संक्रमित हुने पहिलो नेपाली कलाकार हुन् । करिब २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनले सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । जिउ दुख्ने र ज्वरो आउने श्वास फेर्न गाह्रो हुने समस्या पछि कोभिड परिक्षण गराएका उनमा गत वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै उनकी श्रीमती र एक वर्षकी छोरी पनि कोरोना संक्रमित भएका थिए । १४ दिनसम्म अस्पतालको आईसोलेसनमा रहेर उपचार गरेपछि भने बैशाख २७ गते श्रीमती र छोरीसहित उनी पनि संक्रमणमुक्त भएका थिए । हाल उनी पूर्णरुपमा ठिक भईसकेका छन् । अस्पतालको आईसोलेसनमा बस्दाको समयलाई सम्झदैँ उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई सामान्य नठान्न अनुरोध गरेका छन् । त्यस समय आफू बाँच्ने आशा नै हराइसकेको बताउँदै कोरोना जित्न आत्मबल जरुरी रहेको उनी बताउँछन् । बेलासे भन्छन्–‘सकेसम्म लाग्न नदिनु नै उत्तम हो, केहि गरि लागि हाले पनि नआत्तिकन सबै सूरक्षा अपनाएर आत्मबल दरिलो बनाउन सकियो भने आधा रोग त त्यसै निको हुने रहेछ ।’

२. हरिवंश आचार्य
– वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य पनि कोरोना संक्रमित नेपाली कलाकार हुन् । आफूमा कोरोनाको सामान्य लक्षण देखिएपछि पिसिआर टेस्ट गराएका उनमा गत असोज १९ मा कोरोना पोजेटिभ देखिएको थियो । उनीसँगै उनकी श्रीमती रमिला आचार्यमा पनि भाईरसको संक्रमण देखिएको थियो । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । आचार्य दम्पतिमा कोरोना पोजेटिभ देखिएपछि उनिहरु निकट मदनकृष्ण श्रेष्ठको परिवारले पनि कोरोना टेस्ट गराएका थिए । तर उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको थियो । आचार्य दम्पतीमा संक्रमण देखिएको १ हप्ता भन्दा बढी भईसकेको छ । हाल कोरोनाका कुनैपनि लक्षण नदेखिए पनि उनीहरु होम आईसोलेसनमा नै रहेका छन् । उनले नेपालमा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्न अनुरोध गरेका छन् ।

३. देवीराम पराजुली (भोक लाग्यो)
– हास्य श्रृंखला जिरे खुर्सानीमा ‘भोक लाग्यो’ पात्रका रुपमा निकै चर्चा कमाएका देवीराम पराजुलीलाई पनि कोरोना संक्रमण भएको थियो । भदौको दोस्रो साता तिर कोरोना पोजेटिभ पुष्टि भएका उनले आफू संक्रमित भएको खबर भने भदौ २७ गते मात्र सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका थिए । आफ्नै अपार्टमेन्टमा सेल्फ आईसोलेसन बसेर उनले कोरोनालाई पराजित समेत गरिसकेका छन् । आफू पूर्णरुपमा निको भईसकेपछि उनले कोरोनाबाट चाँडो निको हुने घरेलु उपाय पनि सामाजिक संजालमा प्रस्तुत गरेका छन् । पराजुली विगत ७ महिनादेखी अमेरिकामा बस्दै आएका छन् । उनि अमेरिकामै कोरोना संक्रमित भएका हुन् ।
कोरोना परास्त गरेपछि उनले सम्पुर्णलाई आफ्नो स्वास्थ्यको ख्याल आफै गनुपर्ने बताएका छन् । अमेरिका जस्तो विकसित देशमा रहँदा समेत आफू संक्रमणबाट बच्न नसकेको भन्दै नेपालमा रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई सचेत रहन र सरकारका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

४. विजय लामा
– कलाकार विजय लामा व्यवसायिक रुपमा नेपालका वरिष्ठ पाईलट मात्र नभई कलाकार समेत हुन् । नेपाल सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश झिकाउने व्यवस्था गरेपछि उनी निरन्तर त्यसै काममा लागि परेका थिए । यसै क्रममा स्वस्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर रिपोर्ट अनुसार भदौ २९ गते उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मात्र नभई लामासँगै नेपाल वायुसेवा निगमको वाईडवडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको थियो । आफूमा संक्रमण पुष्टि भएपछि काठमाडौँको स्टार अस्पतालमा उपचार गराएका उनी भर्ना भएको १७ औँ दिनमा कोरोना जितेर घर फर्कन सफल भएका थिए । अस्पतालमा रहँदा उनी आफ्नो स्वास्थ्यको अपडेट आफ्नो युट्युब च्यानलमार्फत दिईरहन्थे भने कोरोना सम्बन्धि आफ्नो अनुभव सुनाएर जनचेतना पनि पैmलाइरहेका थिए । कोरोना सँगको लडाईँ जितेपछि उनी रुघाखोकी जस्तै हो भन्ने भ्रममा नरहन र यो केही होइन भन्दै अफवाह फैलाउनेको कुरामा नलाग्न सुझाउँछन् । सबैलाई एकै प्रकारको लक्षण नहुने भएकोले आफूलाई जचाएर चिकित्सकले भने बमोजिम मात्र उपचार गर्न पनि आग्रह गरेका छन् ।

५. अशोक धिताल
– चर्चित हास्यटेलिश्रृङ्खला ‘भद्रगोल’ मा ‘बाहुन डन’ पनि कोरोना संक्रमणबाट अछुतो हुन सकेनन् । उनले आफू संक्रमित भएको ४–५ दिनपछि मात्र सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्थाबारे अवगत गराएका थिए । आफूमा अचानक रुघा लाग्ने, गन्ध, स्वाद थाहा नपाउने जस्ता लक्षणहरु देखिएपछि पिसिआर टेस्ट गराएका उनको असोज १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । आफूलाई त्यस्तो डराउनु पर्ने लक्षण नदेखिएकोले अस्पताल नै नगई घरमै गुर्जो, बेसार पानी खाएर घरेलु विधिमार्फत उपचार गरिरहेको र आफूलाई दिनप्रतिदिन स्वास्थ्य महसुस पनि गरिरहेको उनी बताउँछन् । आफू संक्रमित भएपछि नेपाली समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै नराम्रो रहेछ भन्ने थाहा भएको उनी बताउँछन् । राजधानीमा समेत संक्रमितलाई घृणाको दृष्टिले हेरिन्छ भने गाउँघरको अवस्था के होला भनि चिन्ता व्यक्त गर्छन् । संक्रमितलाई आत्मबलको आवश्यकता हुने भएकोले उनीहरुलाई कोरोनासँग लड्न हौसला प्रदान गर्न अशोकको आग्रह छ । त्यस्तै कोरोनालाई ठूलो रुपमा लिएर आफूले आफूलाई कमजोर बनाउनु भन्दा पनि यसलाई सामान्य रुघाखोकीको रुपमा लिएर आफ्नो केयर गर्न उनी सुझाउँछन् ।

६. बाबु बलामी
– निर्देशक तथा कलाकार बाबु बलामी कोरोना संक्रमित भएका छन् । एक आफन्तलाई कोरोना पोजेटिभ पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा परेका उनमा असोज २४ गते संक्रमण देखिएको थियो । उनको हाल काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । तर, अहिले भने उनको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बुझिएको छ । उनको केही दिनमा डिस्चार्ज हुने उनी निकटस्रोतले जानकारी दिएका छन् ।

७. रजिना रिमाल
– गायिका रजिना रिमाल कोरोना संक्रमित हुने पहिलो संगितकर्मी हुन् । केहि समय अघि रजिना र उनका श्रीमान् विनोद श्रेष्ठले आफ्ना आफन्तहरु बोलाएर सानो पार्टीको आयोजना गरेका थिए । पार्टी आयोजना गरेको केहि समयपछि नै घरका सम्पूर्ण सदस्यमा कोरोनाका लक्षणहरु देखिएपछि रजिना, उनका श्रीमान्, उनका सासु र ससुराले कोभिड टेस्ट गराएका थिए । असोज १८ गते आएको पिसिआर रिपोर्टमा उनीहरुमा चारैजनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । तर रजिनाका डेढ वर्षका छोरालाई भने कुनै लक्षण नदेखिएको र सुरक्षाको लागि आफ्नो माईतिमा राखेको बताएकी छिन् । अहिले पनि उनी सहित उनको पुरै परिवार होम आईसोलेसनमै रहेका छन् । आफूहरुको सानो लापर्वाहीको कारण अहिले पुरै परिवारका साथै आफ्नो काखे छोराबाट समेत टाढा हुन परेकोले उनले सम्पूर्णलाई आफ्नै आफन्तहरुबाट पनि सचेत रहन आग्रह गरेकी छिन् । त्यस्तै सरकारले हालसम्म कोरोना संक्रमितहरुको लागि भरपर्दो कुनैपनि व्यवस्था नगरिसकेकाले कोरोनालाई सामान्य रुपमा नलिन समेत सुझाएकी छिन् ।

८. टंक बुढाथोकी
गत भदौ १५ गते गरिएको पिसिआर रिपोर्टमा गायक तथा संगीतकार टंक बुढाथोकी पनि कोरोना संक्रमित भएको पुष्टि भएको थियो । म्युजिक भिडियो छायांकनको क्रममा धेरै मानिसहरुको सम्पर्कमा रहनु पर्ने हुँदा त्यहि समय आफू संक्रमित भएको हुन सक्ने उनी बताउँछन् । तर हाल भने उनले कोरोनामाथि विजय प्राप्त गरिसकेका छन् । आफूलाई कोरोना संक्रमण भएपछि चिकित्सकको सल्लाहमा चुपचाप करिब १ महिनासम्म होम आइसोलेसनमै बसेर घरेलु उपचार पद्धति अपनाएका बुढाथोकीले निको भएपछि मात्र आफूले कोरोनालाई जितेको जानकारी सार्वजनिक गरेका थिए । अहिले उनी पुरानै जीवनशैलीमा फर्किसकेका छन् । उनी दीर्घरोगी बाहेक स्वस्थ्य व्यक्ति कोरोनाबाट डराउनु पर्ने आत्तिनु पर्ने नभएको बताउँछन् । घरेलु पद्दतिबाट मात्रै पनि कोरोना जित्न सकिने उनी सुझाव दिन्छन् ।

९. सन्जय श्रेष्ठ
गायक सञ्जय श्रेष्ठ पनि कोरोना संक्रमित कलाकार हुन् । आफू संक्रमित भएको जानकारी पाएपछि १६ दिनसम्म घरमै आइसोलेशन बसेर उनले कोरोनालाई जितेका थिए । सञ्जयको स्वाब परीक्षण रिपोर्ट असोज ६ गते आएको थियो । उनले पनि आफु संक्रमण मुक्त भएपछि मात्र आफू कोरोना संक्रमित भएको समाचार बाहिर ल्याएका थिए । तातो–तातो सुप, अन्य स्वस्थकर खानपिनका साथ कसरत र योगले कोरोना ठिक भएको उनको अनुभव छ ।

१०. लोचन रिजाल
गायक लोचन रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा स्वाब परीक्षण गराएका रिजालमा असोज २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । रिजालले आफू संक्रमित भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । उनले केही समयदेखि आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको बताएका थिए । आफूमा लक्षण देखिने बित्तिकै क्वारेन्टिनमा बसेका लोचन पोजेटिभ रिपोर्ट आएपछि भने होम आइसोलेसनमा बसिरहेका छन् । उनले छिटै कोरोनामुक्त भएर फर्किने विश्वाससमेत व्यक्त गरेका छन् ।

११. दिपक ढकाल
अभिनेता दीपक ढकाललाई गत भदौमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जमा ल्याब टेक्निसियनको रुपमा कार्यरतसमेत रहेका ढकालले आफूमा कोरोना देखिएको सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । होम आईसोलेसनमा बसेका दीपकले अहिले कोरोना जितिसकेका छन् । ‘सुब्बा साब’, ‘लेक साइड’, ‘रेनी’ लगायतका फिल्ममा अभिनय गरेका दीपक पछिल्लो समय ‘बग्ने खोला’ बोलको गीतमा देखिएका थिए ।

१२. प्रेमराजा महत
लोकगायक प्रेमराज महतमा पनि केही समय अगाडि कोरोना संक्रमण देखिएको थियो । महत र उनकी पत्नी कविता केसी महत दुवैमा संक्रमण पाइएको थियो । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनी उतै संक्रमित भएका थिए । अगस्ट ७ मा सामाजिक सन्जाल फेसबुकमा उनले आफू र पत्नी दुवैमा कोरोना संक्रमण भएको जानकारी दिएका थिए । घरमै आइसोलेसनमा बसेर कोरोना जितेका गायक महतले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

१३. प्रकाश शाह
कलाकार प्रकाश शाहलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई केही दिन अगाडि मात्र कोरोना संक्रमण भएको हो । शाहले आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन फेसबुकमार्फत आग्रह गरेका छन् । शाह पछिल्लो समय चलचित्र ‘साङ्लो’मा देखिएका थिए ।

प्रकाशित: ३ कात्तिक २०७७ १५:३७ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी