११ माघ २०७८ मंगलबार

दाजुभाई दिदीबहिनी नभएका ११ कलाकार (भिडियोसहित)

काठमाडौं ।
हरेक चाडपर्वको आ–आफ्नै विशेषताहरु हुन्छन् । केहि समय अघि मात्र विदा गरेको दशैँलाई मान्यजनहरुको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको भौतिक, आत्मिय दुरीलाई हटाउने पर्वको रुपमा लिईन्छ भने दोस्रो ठूलो चाड तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ ।

भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाईहरु जमघट हुने कोसिस गर्दछन् । तर एकातिर तिहारमा टीका लगाईदिन ज जसको दाजुभाइ दिदीबहिनी छन् उनीहरुको लागि यहि तिहार खुशीको पर्व बन्ने गर्दछ भने अर्कोतिर जसको दाजुभाई दिदीबहिनी छैनन् उनीहरुको लागि भने यहि तिहार दुखी हुनुको कारण बनिदिन्छ । यहि दुख भुलाउन मानिसहरु भाइटीकाको दिन रानीपोखरी जाने गर्दछन् भने कतिपय मानिसहरु आफ्ना नजिकको दाजुभाई दिदीबहिनीको हातबाट टीका लगाउने गर्दछन् । कतिपय आफ्नो मन मिल्ने अरु नै मानिसलाई दाजुभाई दिदीबहिनीको रुपमा मानेर टीका लगाउने गर्दछन् । नेपाली कला क्षेत्रमा पनि त्यस्ता धेरै कलाकारहरु छन् जो भाइटीकामा टिका लगाईदिने दाजुभाइ दिदीबहिनीबिहिन छन् । आज हामी तिनै कलाकारहरुको भिडियो रिपोर्ट प्रस्तुत गर्दैछौं ।

अनमोल केसी
पछिल्लो पुस्ताका निकै चर्चित र सफल अभिनेता हुन् अनमोल केसी । वुवा भुवन केसी र आमा सुस्मिता तामाङको एक्लो सन्तान भएकोले गर्दा पनि अनमोललाई तिहारमा टीका लगाईदिने कुनै दिदी या बहिनी छैनन् । तर पनि भाइटीकाको दिनमा अनमोलको निधार भने खाली हुँदैन । भुवन र सुस्मिताकी छोरी नभए पनि भुवन र उनकी जेठी श्रीमती विजया केसीबाट भने एक छोरी काजल छिन् र अनमोल हरेक वर्षको भाइटीकामा काजलकै हातबाट टीका लगाउँदै आईरहेका छन् । काजलका आफ्ना भाइ विवेक लामो समयबाट अमेरिकामै सेटल छन् । जसकारण उनी टीका लगाउन आउन सक्दैनन् । त्यसैले काजल पनि अनमोललाई नै टीका लगाउँदै आएकी छिन् । दुई आमाका सन्तान भएपनि अनमोल, काजल र विवेकबिच कुनै मनमुटाव छैन ।

सुहाना थापा
आफ्नो डेब्यु चलचित्रबाट नै हजारौँ नेपाली दर्शकहरुको मन जित्न सफल अभिनेत्री सुहाना थापाको पनि तिहारमा टीका लगाईदिने कुनै दाजुभाई छैनन् । अभिनेत्री झरना थापा र निर्देशक सुनिलकुमार थापाकी एक्लि सन्तान सुहानापछि उनीहरुले दोस्रो सन्तानलाई जन्म दिएनन् । अमेरिकामै हुर्के बढेकी भएपनि सुहाना हिन्दु धर्ममा विश्वास गर्छिन् भने श्रीकृष्ण भगवानकी भक्त हुन् । त्यसैले हिन्दु संस्कृती अनुसार भाइटीकामा टीका लगाईदिन आफ्नै दाजुभाई नभएपनि आफ्ना नजिकका दाइभाई पर्ने हरुलाई भने उनले टीका लगाईदिँदै आएकी छिन् । भाइटीका संगसंगै तिहार रंगीविरंगी फूलहरु र झिलीमिली बत्तिहरुको पनि पर्व भएकोले सुहानालाई तिहार निकै विशेष लाग्ने गर्दछ ।

पूजा शर्मा
‘प्रेम गीत’बाट चम्किएकी अभिनेत्री हुन् पूजा शर्मा पनि आमाबाबुकी एक्ली सन्तान हुन् । भीजे हुँदै अभिनयमा भित्रिएकी पूजा दाजुभाइ नभए पनि तिहार विशेष लाग्ने बताउँछिन् । आफ्ना दाजुभाई नभएपनि विगतका वर्षहरूमा कहिलेकाहीँ नजिकका दाजुभाइ पर्नेलाई टीका लगाउने गरेको र कहिले नलगाइ बस्ने गरेकी छिन् । तर तिहार काठमाडौँमा रमाइलोसँग मनाउने सोचमा रहेकी उनको यसपाली भाइटीका लगाउने कुनै योजना भने छैन । अरूले आफ्नो दाजुभाइसँग रमाइलो गरेर टीका लगाएको देख्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउने उनी तिहारको समयमा रानी पोखरीसमेत जाने गरेकी छन् ।

परमिता राणा
अभिनेत्री तथा मोडल परमिता आर एल राणा एकल आमाको स्याहार सुसारमा हुर्केकी हुन् । उनी सानी छँदै उनको बुबाको देहान्त भएको थियो । त्यसपछि उनकी आमाले अर्को विवाह गरिनन् जसकारण उनी पनि दाजुभाई दिदीबहिनी विहीन अभिनेत्री हुन् । निकै चन्चले स्वभावकी परमितालाई पनि तिहार निकै रमाईलो लाग्ने बताउँछिन् । उनी पनि आफूलाई मन लागेमा नजिकका दाजुभाई पर्नेहरुलाई टीका लगाउँदै आईरहेकी छिन् ।

स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का पनि आफ्ना बाबुआमाकी एक्लि सन्तान हुन् । उनका पनि भाइटीकामा टीका लगाईदिने कुनै दाजुभाई छैनन् । तर दाजुभाई नभए पनि आफूलाई कुनै दुःख भने नलागेको उनको भनाई छ । तिहारलाई निकै रमाईलो पर्वका रुपमा लिने उनी भाइटीकाको कारणले मात्र नभई अरु पनि धेरै कुराहरुले विशेष लाग्ने गरेको उनी बताउँछिन् । तथापी आफ्ना दाजुभाई नभएपनि आफन्त दाजुभाइहरुलाई भने उनले टीका लगाईदिने गर्छिन् ।

रजनी केसी
अभिनेत्री रजनी पनि परिवारकी एक्लो सन्तान हुन् । दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन् । तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीकी पारखी पनि हुन् । उनी दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन् । पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले बाहिर पनि केहीलाई दाजुभाइ बनाएकी छन् । दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली तिहारको समय जहिले पनि उनको मनमा चल्ने गरेको छ ।

आयुष्मान आशिरमान जोशी
अभिनेताद्धय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी दाजुभाइ हुन् । नेपाली चलचित्र क्षेत्रमा यि दुई भाइले कुनै हिट चलचित्र त दिन सकेका छैनन् र पनि उनीहरुलाई मन पराउनेहरु भने धेरै छन् । उनीहरुको परिवारमा पनि भाइटीकामा टीका लगाईदिने कुनै दिदीबहिनी छैनन् । तर नेपाली चाडपर्वहरुलाई निकै रमाईलोसँग मनाउन खप्पिस यि दुई भाइको आफ्नै दिदीबहिनी नभएपनि निधार भने खाली हुँदैन । उनीहरु हरेक वर्ष आफ्ना नजिकका दिदीबहिनीहरुको हातबाट टीका लगाई रमाईलोसँग तिहार मनाउने गर्दछन् ।

उपासना सिंह ठकुरी
चलचित्र क्याप्टेनबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी चलचित्र कबड्डी कबड्डी कबड्डीबाट निकै चर्चित भइन् । सुन्दर र सुशिल अभिनेत्रीको ट्याग पाएकी उपासना पनि दाजुभाइबिहिन हुन् । उनको परिवारमा उनीसहित ३ छोरीहरु छन् । तिन दिदीबहिनीबिच निकै राम्रो सम्बन्ध भएको कारण दाजुभाई नै चाहिन्छ भन्ने उनलाई लाग्दैन । तथापी अरु समयमा दाजुभाई नभएकोमा केही जस्तो नलागे पनि भाइटीकाको समयमा भने खल्लो लाग्ने गरेको उनी बताउँछिन् । तर उनीहरु पनि आफ्ना नजिकका दाजुभाइहरुसँग मिलेर रमाईलोसँग तिहार मनाउने गर्दछन् ।

शिल्पा पोखरेल
अभिनेत्री तथा निर्मात्री शिल्पा पोखरेल पनि दाजुभाइ नहुने अभिनेत्रीमा पर्छिन् । घरकी जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया । दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन । उनले निर्देशक विकाश रौनियारलाई दाइ मानेकी छिन् । भाइटीका पनि रौनियारलाई नै लगाउदै आईरहेकी छिन् । विशेष गरि तिहारको समयमा खेलिने देउसी भैलो धेरै रमाइलो लाग्ने बताउने उनी यसपालीको तिहार रमाइलो गर्दै मनाउने बताउँछिन् ।

आना शर्मा
अभिनेत्री आना शर्मा लामो समयबाट चलचित्र क्षेत्रमा देखिएकी छैनन् । पहिलो पटक चलचित्र जेरीमा अनमोलको अपोजिटमा देखिएकी उनी धेरैको मन मस्तिष्कमा बस्न सफल भएकी थिईन् । उनलाई पनि भाइटीकामा टीका लगाईदिने दाजुभाई छैनन् । परिवारकी कान्छी छोरी आनाका दुई दिदीहरु छन् । उनीहरुकी आमा रचना गुरुङले आफ्ना तिनवटै छोरीहरुलाई छोरा जसरी नै हुर्काएकीले उनीहरुले कहिल्यै दाजुभाईको कमि महसुस गरेनन् । त्यसैले हरेक वर्षको तिहार उनी आफ्ना दुई दिदीबहिनीहरुसँग नै मिलेर मनाउने गर्दछिन् ।

संचिता लुइटेल
संचिता लुइटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन् । घरमा जेठो सन्तानका रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन् । दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विशेष तरिकाले मनाउने गरेकी छन् । उनी हरेक वर्ष काग तिहारदेखि भाइटीकाको दिनसम्म निकै व्यस्त रहने गर्दछिन् । दाजुभाइ नभएपनि दिदीबहिनीबीच एकअर्काेलाई टीका लगाएर उनले भाइटीका मनाउने छिन् । त्यसो त उनले केहीलाई दाजुभाइ बनाएकी पनि छन् । तर ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन् ।

प्रकाशित: २५ कात्तिक २०७७ १८:३१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी