सिनेजगत प्रदेश ३

'के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हो त ?' : करिष्मा मानन्धर

15 Shares

काठमाडौं ।

नायिका करिष्मा मानन्धरले अहिलेको राजनीतिक अवस्था प्रति वितृष्णा पोख्दै नेताहरुले जनतालाई समस्या पर्दा केही गर्न नसकेको र संसद विघटन हुँदा भने सडक तताएको भन्दै आक्रोश पोखेकी छिन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले नेताहरुको व्यवहार प्रति असन्तुष्टि पोखेकी हुन् ।

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौं भनेर भनुँ ? भन्दै उनले प्रश्न पनि गरेकी छिन् ।

हिजो कोरोनासँगै लकडाउनमा भोकभोकै भएका जनताका लागि नेताहरुले केही गर्न नसकेको र अहिले सडकमा भिड बढाएर सबैलाई आजित बनाएको मानन्धरले बताएकी छिन् ।

उनले लेखेकी छिन् :

अहिलेको राजनीतिले मलाई मात्रै होइन, सबैलाई आजित बनाएको छ । शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषि कुनै पनि क्षेत्र सन्तोषजनक छैन ।

कोरोना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयो । अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ ।

वितेको १० महिनामा भोकभोकै पैदल घर हिँडेका नेपालीबारे समाचार पढ्यौँ । उद्योगी व्यापारीहरु तनावमा फसेको, विरामीहरु उपचार नपाएर मरेको, नेपाली कृषकको उत्पादनहरुले बजार नपाउने तर विदेशबाट सबैथोक सजिलै आयात भएर बजार बजार पुग्ने, उखु किसानले उखुको मूल्य नपाउने तर राजनीतिक दलहरु जुँगाको लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियो ।

सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनु पर्ने थियो तर हाम्रो देशमा कुर्सी र पार्टी पार्टी नेता नेता बीचको झगडा पहिलो प्राथमिकता बनेको थियो । त्यहि बीचमा संसद विघटन भयो । संसद विघटन हुने बितिक्कै सबै राजनीतिक दल सडकमा देखिए । कोरोना महामारी पनि बिलाएको हो कि ?

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौं भनेर भनुँ ? राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झुट बोलुँ ?

कोरोना महामारीबीच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आई दिएको भए के हुन्थ्यो ? कसले रोक्यो त्यतिखेर उनीहरुलाई ? यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ । संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।

राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता, कमजोरीलाई ढाकछोप गरेर बोल्न, आफ्नो नेता र दलको पक्षपोषण गर्न म कुनै राजनीतिक कार्यकर्ता होइन ।

नेपाल राज्यको स्वतन्त्र नागरिक हुँ । मलाई राजनीतिक दल र नेताको होइन, मेरो देश, मेरो राष्ट्रियता र मेरो सार्वभौमिकताको माया लाग्छ ।

प्रकाशित: ८ माघ २०७७ १७:१२ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी