अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग


सिरहा,

बजारमा अखाद्य वस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ । बुधवार स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मी लगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन् ।

बजारमा ३,४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन् । अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, मासु र होटल व्यापारीले पसल बन्द गरेर भागे ।

टोलीले व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेको छ । सोही अनुगमन टोलीलाई ओम शान्ति मेडिकोमा औषधि, एवन बेकरी एण्ड आइसक्रिम पार्लरमा खाद्य वस्तु, बहुराष्ट्रिय कम्पनीको पेयपदार्थ, मसला पाउडर र सहदेव होटलमा बियर म्याद सकिएको फेला परेका छन् । म्याद सकिएको वस्तुलाई स्थानीय प्रशासन, नगरपालिकाका प्रमुख, संचारकर्मीसहित रोहवरमा नष्ट गरिएको छ ।

यस्तै मासु पसलबाट फेला परेका कम तौलका ढक जफत गरिएका छन् । अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएका भेटिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल नारायण भण्डारीले बताए । त्यस्ता व्यापारीलाई कानुनी प्रक्रिया पुरा गर्न म्याद दिएको उनले बताए । बुधवार डेढ दर्जन व्यापारीको पसल अनुगमन गरिएको उनले जानकारी गराए ।
अन्नपूर्णबाट

Logo