बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा


काठमाडौं,

बालुवाटारको करिब १४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँग समेत बयान लिने तयारी गरेको छ ।

मालपोत, नापी, गुठी संस्थानका कर्मचारी लगायत ५० जना भन्दा धेरैसँग आयोगले सोधपुछ गरिसकेको छ । सूवर्णशमशेर राणाका परिवारका केही सदस्यमाथि समेत सिआइबीले सोधपुछ गरेको स्रोत बताउँछ ।

बयानका लागि बोलाइएका अन्य जग्गाधनी उपस्थित नभएपछि आयोगले बुधबार पत्रिकामार्फत सात दिनभित्र उपस्थित हुन ८६ जनाको नाममा सूचना जारी गरेको छ । सूचना जारी भएकाहरूमा बिचौलिया शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल, छोरी लक्ष्मी ढकाल, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, रामप्रसाद सुवेदीकी श्रीमती माधवी सुवेदी लगायत छन् ।

सूवर्णशमशेर राणाको सो जग्गा सरकारले जफत नभई अधिग्रहण नै गरेको निष्कर्ष निकालेर आयोग र प्रहरीले छानबिन अघि बढाएको छ । उनका परिवारले सो जग्गा जफत गरिएको दाबी गरी विज्ञप्ति निकालेका थिए । अधिग्रहण गरिएकामध्ये आठ रोपनी जग्गा सरकारले २० साउन ०२२ मा कनक शमशेर राणालाई फिर्ता गरेको थियो ।
नयाँ पत्रिकाबाट

Logo