नारीप्रधान भएर पनि रमाइलो दिने सिनेमा हो ‘बेहुली फ्रम मेघौली’

नारीप्रधान भएर पनि रमाइलो दिने सिनेमा हो ‘बेहुली फ्रम मेघौली’

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । ‘बेहुली फ्रम मेघौली’ यस वर्षको एउटा प्रतीक्षित सिनेमा हो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको वजनदार नामले नै यो सिनेमालाई एउटा प्रतीक्षित सिनेमा बनाएको हो ।

स्वस्तिमाका लागि यो सिनेमा निर्माण डेब्यू भएकाले पनि अझ विशेष छ । त्यसैले सिनेमाको प्रचारप्रसारमा सबैभन्दा बढी सक्रियता र उत्साह पनि उनलाई छ ।

स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान सिनेमा हो । यसको अर्थ परम्परागत रूपमा बुझिने रोधाधोनायुक्त नारीप्रधान सिनेमा भने होइन । घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधान विषय रोनाधोनायुक्त मात्र हुँदैन भन्ने विषयमा यो सिनेमा केन्द्रित छ ।

उनको हातमा स्क्रिप्ट दिँदा सिनेमाका निर्देशक तथा लेखकद्वय साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’को (यद्यपि त्यतिबेलासम्म यो नाम तय भइसकेको थिएन) स्क्रिप्ट दिँदा नारी पात्र केन्द्रित एउटा नारीप्रधान सिनेमा भएको बताएका थिए । सिनेमा प्रस्ताव गरिँदा स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई पनि माथि भनिएजस्तै रोनाधोनायुक्त सिनेमा होला भन्ने ठानेकी थिइन् ।

जब उनले स्क्रिप्ट पढिन् सिनेमाको स्क्रिप्ट नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको सिनेमा थियो । स्क्रिप्टमा सिनेमाकी मूल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नि बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छिन् । अवस्था उनका लागि समस्यायुक्त तर दर्शकका लागि यो परिदृश्यमा निर्माण हुने परिस्थितिहरू मनोरञ्जक छन् । त्यसैले स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो सिनेमा भनेर व्याख्या गरेकी हुन् ।

‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरूले यो नारीप्रधान सिनेमा भन्नुभएको थियो । नारीप्रधान सिनेमा भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भीर, दुःख देखाउने सिनेमा भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ। स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै सिनेमा होला भन्ने लागेको थियो’, स्वस्तिमाले भनेकी छिन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएनँ । त्यही सोचेर म स्क्रिप्ट पढ्न बस्या थिएँ । नारीप्रधान हुँदाहुँदै पनि यो व्यावसायिक र दर्शकले रमाइलो लिने सिनेमा हो ।

यसैगरी स्वस्तिमाको आग्रह छ – ‘बेहुली फ्रम मेघौली’लाई अन्य नारीप्रधान सिनेमा जस्तो मात्र नसोचियोस् ‘नारीप्रधान सिनेमा मात्र भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छन् । योचाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने सिनेमा हो, जहाँ एउटा खास विषयलाई लिएर रमाइलोसँग बनाएको सिनेमा हो’उनले आफ्नो सिनेमाका पारेमा स्पष्ट पार्दै भनिन्।

स्वस्तिमाका अनुसार सिनेमाले लगभग ३० वर्ष पुग्न लागेको केटी मान्छेलाई सामाजिक तहमा विवाहका लागि जस्तो दबाब हुन्छ त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर सिनेमामा पेस गरिएको छ ।

स्वस्तिमाको कुरामा यस सिनेमामा उनीसँग स्क्रिन सेयर गरिरहेका निश्चल बस्नेतको पनि समान धारणा छ । ‘यो परिवारसँग बसेर हेर्दा झन् महसुस गर्न सकिने सिनेमा हो । यसमा बिहे गरिसक्नुभएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने बिहे गर्न बाँकीहरूले योचाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरूले महसुस गर्नुहुनेछ।’ उनले भनेका छन् ।

सिनेमाको घोषणादेखि नै दर्शको पर्खाइमा रहेको यो सिनेमालाई लिएर नेपाली सिनेप्रेमी दर्शकमा बेग्लै प्रतीक्षा रहेको छ। निश्चल र स्वस्तिमाको ओझिलो नामको साथमा हालसम्म सार्वजनिक भएका सिनेमाका प्रचार सामाग्रीका कारण पनि यो सिनेमाले दर्शकलाई सिनेमाको व्यग्र बनाएको हो।

सिनेमाको गीतसंगीत तथा ट्रेलरले दर्शकको मन जितिरहेको छ। विशेषगरी ‘छड्के सलाम’ गीतले टिकटक तथा युट्युवमा धेरै नै राम्रो लोकप्रियता बटुलिरहेको छ। यस्तै एउटी कुमारी युवती प्रेमिल मनको भावना व्यक्त गरेको ‘उडायो मन’ बोलको गीतले युवतीहरू मन जितेको टिकटकमा बनेका भिडियोहरूको संख्या हेर्दा बुझ्न सकिन्छ । यस अर्थमा घटस्थापनामा रिलिज हुने सिनेमाले दर्शकलाई पूर्ण रूपमा मनोरयझ्न प्रधान गर्नेमा कुनै शंका छैन।

‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।

Logo