काठमाडौँ

‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ । अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ । "/>

नेकपा नेता कोही सरकारको बचाउमा, कोही विरोधमा

नेकपा नेता कोही सरकारको बचाउमा, कोही विरोधमा


काठमाडौँ

‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ । अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ । यसमा विश्वस्त हुनुस् ।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा ।

चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ । तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन । दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन । मेलमिलापमै जानुपर्छ ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा ।

०००

यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए । अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन् । दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे । गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन । त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन । मेलमिलापमै जानुपर्छ । कांग्रेस सभापति देउवाले भने जस्तै ।’

चुनाव अघि तत्कालीन एमाले र माओवादीले गौतमलाई नै संयुक्त चुनावी घोषणापत्र बनाउने जिम्मा दिएका थिए । पार्टी एकतापूर्व पार्टी एकता संयोजन समितिले सुशासन र विकासका प्राथमिकता सम्बन्धमा सुझाव दिन पनि नेता गौतमकै नेतृत्वमा कार्यदल बनाएको थियो । त्यही कार्यदलले चुनावी घोषणपत्र बनाएको थियो । विकास र सुशासनका खाका पनि तयार पारेको थियो ।

आफू नेतृत्वको कार्यदलको रिपोर्ट सरकारले ग्रहण गर्न नसकेको भन्दै शनिबार गौतमले असन्तुष्टि पोखेका हुन् । गौतम मात्र होइन, नेकपामा सरकारको कार्यशैली प्रति असन्तुष्टि चुलिँदो छ । केही समय अघि वरिष्ठ नेता माधव नेपालले संसदमै उभिएर सरकारको आलोचना गरे । त्यसयता जिम्मेवार नेताहरूबाटै सरकारप्रति असन्तुष्टि पोख्ने क्रम बढ्दो छ ।

सचिवालय भित्रै वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारको गतिमा सन्तुष्ट देखिँदैनन् । अध्यक्ष दाहाल भने सार्वजनिक रूपमा खुलेरै सरकारको पक्षमा बोलिरहेका छन् । शनिबार उनले भने, ‘अब सरकारले उडान नै भर्नेवाला छ । यसमा विश्वस्त हुनुस् ।’

दाहालले बजेट आएको थोरै समय भएको र यो अवधिमा सरकार मौलिक कानुन निर्माणमा जुट्नु परेको कारण जनतामा सरकारको काम देखिन नसकेको बताएका थिए । ‘अब देखिन्छ ढुक्क हुनुहोस्,’ दाहालले दोहो¥याउँदै भने, ‘यो राजनीतिक उपलब्धि कुनै साम्राज्यवादी र प्रतिक्रियावादीले दयामाया गरेर आएको होइन, यसमा १४ वर्ष वनवास र १४ वर्ष कारावासको भूमिका छ, दुई ठूला कम्युनिस्ट एकतासँगै मुलुक समृद्धिको दिशामा अघि बढेको छ।’

अन्नपूर्णबाट

Logo