प्युठान

घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन् । उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन । "/>

कक्षाकोठामा विद्यार्थीको रुवाबासी : एक साता विद्यालय बन्द

कक्षाकोठामा विद्यार्थीको रुवाबासी : एक साता विद्यालय बन्द


प्युठान

घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन् । उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन । टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन । सबै साथीसँगै प्रार्थना गर्छन् । पहिलो घण्टी पढ्छन् । दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन् । विद्यार्थीमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्ने जस्ता समस्या देखिन थाल्छ । जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ ।

दैनिक दुई÷तीन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् । शिक्षकलाई सम्झाउनै समस्या परेको छ । असार ५ गतेबाट कक्षा २ देखि सात सम्मका धेरैजसो छात्रालाई उक्त समस्या देखा परेको प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी गराए । ‘दुई हप्ता बढी भयो विद्यार्थी कक्षाकोठामा रुन थालेको’, गिरीले भने, ‘स्थानीय स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो । तर समस्या समाधान हुन सकेन ।’

३७ जना छात्रा र दश जना छात्रमा यस्तो समस्या देखिएको उनले जानकारी गराए । ‘तीन कक्षामा पढाउँदै थिएँ’, शिक्षिका पार्वता जिसीले अनुभव सुनाउदै भनिन्, ‘ पढाइरहेको बेला एक्कासी छात्रा विमला विक रुन थालिन् । उनी रोएको देखेपछि सबै कक्षाका विद्यार्थी रोइकराइ गरे । विद्यार्थीलाई निको हुने आशामा दुई हप्ता बढी समय बितिसक्यो । समस्या झनै वढ्न थालेको शिक्षकको भनाइ छ । ‘भूतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार पूजाआजा समेत गर्‍यौँ’, प्रधानाध्यापक गिरीले भने, ‘केही गरेपनि समस्या सल्झिएन । झनै बल्झिदै गयो ।’

विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरूलाई दिनहुँ विद्यालयमा बोलाउने गरिएको छ । अभिभावकले दैनिक दुई, तीन घण्टा छोराछोरीलाई विद्यालयमा गएर सम्झाउने गर्छन् । एक हप्ता देखि पठनपाठन प्रभावित भएको छ । बिहान साँढे दश बजे देखि झण्डै दुई बजेसम्म विद्यार्थीमा उक्त समस्या हुने गरेको छ । धेरैजसो बालबालिकाहरू ६ देखि १६ वर्ष उमेर समूहका छन् ।
घटनाको विषयमा बुझ्न बिहीबार प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे सहितको स्वास्थ्य टोली विद्यालयमा पुगेको छ । ‘विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखियो’, प्रजिअ घिमिरेले भने, ‘केही विद्यार्थीलाई विशेषज्ञ सेवा दिनु पर्ने देखिएको छ।’ विद्यालयले शुक्रबार देखि एक हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
अन्नपूर्णबाट

Logo