काठमाडौं । चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण माग गरिएको छ । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले अध्यक्ष पौडेलसँग लिखित स्पष्टिकरण मागेको हो । चौमासिक समीक्षा बैठकमा पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।
सञ्चारमन्त्री गोकुल बास्कोटाको उपस्थितिमा मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान, बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । तर विकास बोर्डकी अध्यक्ष पौडेल भने अनुपस्थित भईन् ।
बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका हुन् ।
पौडेलले हालै टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनले विदा स्वीकृत नगराईकन विदामा बसेकी छन् ।
मन्त्री बास्कोटाले बैठकमै विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
प्रकाशित: २० माघ २०७५ १८:२१ आइतबार