पोर्नोग्राफीको बिस्तारमा ‘क्याम–गर्ल्स’

पोर्नोग्राफीको बिस्तारमा ‘क्याम–गर्ल्स’


केन्द्रबिन्दु डेस्क । २८ साउन ।

विश्वव्यापी पोर्न इन्डस्ट्री (अश्लीलताको व्यापार) को क्षेत्र बिस्तार गर्न वेबक्यामले महत्वपूर्ण भूमिका खेलेको छ । रोमानिया एउटा त्यस्तो देश हो, जहाँ हजारौं महिला ‘क्याम–गर्ल्स’ बिजनेसमा सहभागी छन् । स्टुडियो र घरबाट समेत अश्लील हर्कत गर्न चाहनेहरूका लागि २४ घण्टा र सातै दिन महिलाहरू प्रत्यक्ष उपस्थित हुन्छन् ।

महिलाहरूका अश्लील हर्कत हेर्ने र उनीहरूसँग वेबक्याम सेक्स गर्ने ग्राहकहरू अधिकांश पश्चिमा विश्व र अमेरिकाका छन् । रोमानियाको राजधानी बुखारेस्टको केन्द्रमा रहेको एक अपार्टमेन्ट जाने बाटोमा युवतीहरू चुरोट खाँदै कुराकानीमा मस्त छन् । यो संझन लायक दृश्य हो । 

बिहानीको सूर्योदय बाहेक अन्य समयमा उनीहरू हेभी मेकअप, स्काई हाई हिल्स र आकर्षक कपडामा सजिएर बसेका हुन्छन् । अपार्टमेन्टभित्रका पहिलो र दोस्रो तल्ला स्टुडियो ट्वान्टीले भाडामा लिएको छ । चालीस कोठाहरू सजाएर निकै आकर्षक पारिएको छ । प्यासेज सफा र सेतो छ । भित्ताहरूमा आर्कषक महिलाका नग्न तस्बिर झुन्ड्याइएको छ ।

बन्द ढोका अर्थात् भित्री व्यवसाय । कोठाभित्र बसेकी महिलाले वेबक्याममार्फत संसारभरका ग्राहकहरूसँग प्रत्यक्ष रूपमा अश्लील हर्कत गरिरहेकी हुन्छिन् । तर यो सबै कानुनी हो । भर्चअुल सम्बन्धको यो विश्वमा क्यामेरा अगाडि बस्नेहरू मोडल हुन् । उनीहरूलाई हेर्नेहरू साइबरसेक्सका सदस्य अर्थात् ग्राहक हुन् ।

एकजना सुन्दर युवती लाना कोठा नम्बर ८ मा काम गर्छिन् । यहाँ एउटा खाट, तकिया र बिस्तरा छ । नजिकको दराजमा उनका केही कपडा छन् । ‘म प्रायः कपडा लगाउँछु,’ उनले भनिन् ।

यस कोठाको कर्नरमा ठुलो कम्प्युटर स्क्रिन छ । महँगो क्यामरा त्यसको पछाडि छ । व्यवसायिक फोटोग्राफरहरूले लाइट जडान गरेका छन् । कोठामा बसेकी लानालाई थुप्रै आँखाहरूले वेबक्याममार्फत एकसाथ हेरिरहेका हुन्छन् ।

तर उनले त्यतिबेलासम्म पैसा माग्दिनन् जतिबेलासम्म उनलाई वेबक्याममा हेर्नेहरूले प्राइभेट आउन भन्दैनन् । प्राइभेट वेबक्याम अर्थात् वान टु वानका लागि पैसा तिर्नुपर्ने हुन्छ ।

दैनिक ८ घण्टा काम गरेर उनले प्रति महिना झन्डै ४ हजार युरो कमाउँछिन् । आम रोमानियालीहरूको औसत आम्दानीभन्दा यो १० गुणाले बढी हो । उनलाई जागिर दिने संस्था स्टुडियो ट्वान्टीले पनि उनीबाट प्रतिमहिना ४ हजार युरो नै आम्दानी गर्छ ।

स्टुडियो ट्वान्टीले उत्पादन गरेका सामाग्रीहरूलाई लाइभ स्ट्रिम गर्ने लाइभ ज्यास्मिन अनलाइन क्यामले यसको ठ्याक्कै डबल अर्थात् ८ हजार युरो आम्दानी गर्छ । लाइभ ज्यास्मिन संसारकै सबैभन्दा ठुलो इन्टरनेट क्याम होस्ट हो । दैनिक ३ करोड ५० लाखदेखि ४ करोडसम्मले यो साइट हेर्छन् ।

हरेक पटक यस वेभसाइटमा २ हजारभन्दा बढी मोडल युवती अनलाइन हुन्छन् । यति बुझेपछि वेबक्याम उद्योगले सन् २०१६ मा २ देखि ३ बिलियन अमेरिकी डलर कसरी आम्दानी गर्यो‍‍ भन्ने बुझ्न मुस्किल नपर्ला ।

लानाले ग्य्राजुएसन गरेकी छिन् । उनी यसअघि एक रियल स्टेट कम्पनीमा काम गर्थिन् । सन् २००८ मा रोमानियामा आर्थिक संकट बढेपछि उनको काम फेरियो । त्यही वर्ष उनी पहिलोपटक वेबक्याम अगाडि बसेर भिडियो च्याटमा लागिन् । ‘म रुममा एक्लै थिएँ । त्यतिबेला मलाई यस्तो लागेको थियो मानौं मेरा सामुन्ने हजारौं मानिस छन् र उनीहरूले के सोध्दैछन् भन्ने मलाई थाहा थिएन । त्यो निकै गाह्रो थियो । तर बिस्तारै मैले बुझ्न थाँले, कुन ग्राहक संभावित पैसा तिर्ने ग्राहक हो र कसले पैसा तिर्दैन, खाली समय मात्रै बर्बाद गरिदिन्छ ,’ उनले भनिन् ।

त्यसो भए प्राइभेट वेभक्याम वान टु वानमा के हुन्छ त ?

‘यो खासमा कुराकानी हो । कहिलेकाँही मैले नाटक गर्नुपर्ने हुन्छ । त्यसको छोटो अंश नग्नता र हस्तमैथुन हो,’ उनले भनिन् । कहिलेकाहीँ ग्राहकहरू उनलाई त्यस्तो काम गर्नका लागि कर गर्न खोज्छन् जुन काम गर्न उनी चाहन्नन् ‘महिलालाई कसरी नेतृत्व गर्ने भन्ने कुरा तपार्इंमा भर पर्छ,’ उनी भन्छिन् ।

उनका लागि महत्वपूर्ण कुरा चाहिँ एउटा ग्राहकलाई अनलाइनमा कसरी धेरैभन्दा धेरै मिनेटसम्म राख्न सकिन्छ भन्ने हो । ‘यदि तपाईं १० मिनेटसम्म क्युट र सेक्सी देखिनुहुन्छ भने त्यसका लागि तपाईसँग केही कुरा गर्ने क्षमता हुन्छ । नत्र ग्राहक बस्दैनन्,’ स्टुडियो २० की पिआर म्यानेजर आन्द्रा चिर्नोगियानु भन्छिन् ।

स्टुडियो ट्वान्टीले केही ट्रेनर, साइकोलोजिस्ट र इङलिस टिचर समेत राखेको छ । धेरैजसो ग्राहक उत्तर अमेरिकी र युरोपेली भएका कारण उनीहरूसँग कुराकानी गर्नका लागि मोडलहरूले अंग्रेजी सिक्छन् ।

तर अंग्रेजी शिक्षिका आन्द्रिया भाषाभन्दा धेरै कुरा उनीहरूलाई बुझाउनुपर्ने बताउँछिन् । ‘म उनीहरूलाई यौन इच्छाका बारेमा पढाउँछु । यौन इच्छा के हो किन मानिसहरूलाई हुन्छ । मनोविज्ञानसँग सम्बन्धित यस्ता थुप्रै कुरा पढाउनुपर्छ किनकी महिलाहरु सेक्सी, स्मार्ट र सुन्दर हुन आवश्यक छ,’ उनले भनिन्, ‘यो आममानिसले सोचेजस्तो सेक्स बिजनेस मात्रै होइन । मोडलहरूले सदस्यसँग कुरा गर्दा उनीहरू सामान्य अनलाइन सम्बन्धमा छन् भनेजस्तो गरी कुरा गर्नुपर्छ । धेरै विषयवस्तुमा कुरा हुन्छन् जसले गर्दा दुबै पक्षलाई आनन्द आउँछ ।’

स्टुडियो ट्वान्टी विश्वकै ठुलो सेक्स वेबक्याम फ्रेन्चाइज हो । रोमानियामा यसका नौवटा शाखा छन् । त्यसमध्ये एक शाखामा ‘क्याम ब्वायज’ छन् । यो तेस्रो लिङ्गीहरूका लागि दिइएको सेवा हो । कोलम्बियाको क्याली सहर र हंगेरीको बुढापेस्ट र अमेरिकाको लस एन्जेलसमा पनि यसका शाखा छन् ।

सबै मोडलले स्टुडियोमै काम गर्छन् भन्ने होइन । दुईवटा विश्वविद्यायलको डिग्री लिइसकेकी स्यान्डी बेल आफ्नो घरबाट दैनिक वेबक्याममा आउँछिन् । उनले दैनिक १ सय युरो कमाउँछिन् । उनी इन्टेरियर डिजाइनर हुन् । उनले आफैं वेब होस्टिङ कम्पनीसँग सिधा डिल गर्छिन् । त्यसैले ग्राहकबाट आउने पैसाको धेरै प्रतिशत उनलाई आउँछ ।
‘उनीहरू धेरै राम्रा छन् । धेरै सदस्यहरू प्रेमका कुरा गर्छन् । म उनीहरूसँग इमानदार भएर कुरा गर्छु । उनीहरूलाई थाहा छ मेरो ब्वायफ्रेन्ड छ र म उनीहरूसँग वास्तविक जीवनमा सेक्स गर्न गइरहेको छैन,’ स्यान्डीले भनिन् ।
स्यान्डीका ब्वायफ्रेन्ड उनीसँगै बुखारेस्टस्थित उनको महँगो फ्ल्याटमा बस्छन् । उनलाई आफ्नी प्रेमिकाले के गर्छिन् भन्ने राम्रोसँग थाहा छ । तर उनको परिवारलाई थाहा छैन ।

वेबक्याम उद्योगमा परिवारसँग आफ्नो पेसा लुकाउनु सामान्य हो । स्टुडियो सञ्चालक समेतले आफ्नो परिवार र साथीभाइसँग आफ्नो पेसा लुकाएका हुन्छन् । यही कुरालाई ध्यानमा राखेर बिबिसीले पनि उनीहरूसँग कुरा गर्दा कसैको वेभक्याम नाम मात्रै हालेको छ भने कसैको नाम वास्तविक हाले पनि थर परिवर्तन गरेर हालेको छ ।

‘सदस्यहरूले मलाई के नै गर्न सक्छन् र ? यदि उनीहरूले हद पार गरे र मसँग नराम्रो व्यवहार गरे भने म माउस क्लिक गर्छु र उनीहरूलाई त्यहीँ रोकिदिन्छु । त्यसपछि वेबसाइटको एडमिनसँग कुरा गर्छु र उनीहरूको आइपी एड्रेस बन्द गराइदिन्छु जसका कारण नाम फेरेर पनि त्यो व्यक्ति फेरि आउन पाउँदैन । मेरो मतलब उनीहरू हजारौं माइल टाढा छन् । उनीहरूले मलाई छुने होइन । एक्लै अनलाइन जाने र एक्लै अनलाइनमा कुरा गर्नेसम्म हो । वेश्यावृत्तिसँग यसको कुनै सरोकार छैन,’ स्यान्डीले भनिन् ।

के स्यान्डी बेल पीडित भएकी छिन् ?

उनी भन्छिन्, ‘अहिलेसम्म भएको छैन ।’ तर महिला अधिकारवादी इराना इलिसी यसलाई गम्भीर प्रश्नका रूपमा लिन्छिन् । ‘के हामी त्यस्ता महिलाको विषयमा कुरा गरिरहेका छौं जो जर्बजस्ती यस्तो गर्न बाध्य छन् ? वा उनीहरूका बारेमा जसले यस्तो पेसा रोजेका छन् ? र फेरि पनि उनीहरूले त्यस्तो गर्नसक्छन् किनकी उनीहरूलाई मानिसिक रूपमा त्यस्तो बनाइएको छ वा उनीहरूको आर्थिक अवस्था कमजोर छ । सबै कुराको संयोजनका कारण यस्तो भएको हो,’ इलिसीले भनिन् ।

इलिसीका अनुसार, रोमानियाका थुप्रै टिनएजर्सहरू गर्भवती हुन्छन् । त्यसमध्ये ३० प्रतिशतले उच्च शिक्षा पूरा गरेपछि पनि जागिर पाएका हुँदैनन् । वेबक्याम उद्योगले त्यस्ता युवतीहरूलाई आफ्नो व्यापारमा प्रयोग गर्न सक्दो प्रयास गर्छन् ।

‘विश्वविद्यालयमा समेत विज्ञापन गरिएको छ । विद्यार्थीहरूले फेसबुक म्यासेजमा यस्तो अफर पाउँछन् । स्टुडियोहरू धेरै व्यवसायिक र चलाख छन्,’ इलिसीले भनिन्, ‘अन्य जागिर सुरु गर्दा जस्तै यहाँ पनि भाषा, स्वतन्त्रता र सिकाइको विकासमा जोड दिइन्छ जसका कारण एकपटक इन्ट्री गरेका युवतीहरूले आफ्ना साथीभाइलाई समेत यस्तै काम गर्न उक्साउँछन्,’ इलिसीले भनिन् ।

३१ वर्षकी लानाका लागि यो जागिरले धेरै गरेको छ । उनले यही जागिरको मद्दतले एक्लै आफ्नी छोरीलाई हुर्काउने काम गरेकी छिन् । उनी २ वर्षभित्र यो काम छाड्ने योजनामा छिन् । त्यसपछि देशमा लगानी भित्र्याउने केही काम गर्नेबारे सोचेकी छिन् ।

तर लानाले जस्तो सबैले सोचेका छैनन् । २८ वर्षकी ओअना यस्तो उद्योगबाट भागेर आएकी हुन् । १६ वर्षको उमेरमै उनी एक केटासँग प्रेममा परेकी थिइन् । उसले भिडियो च्याट गर्नका लागि प्रस्ताव गर्यो‍‍‍ । उनी राजी भइन् । बिस्तारै कुरा अघि बढ्यो । ‘उनी मसँग कोठामा थिए । त्यसपछि हामीले पोर्नोग्राफी बनायौं,’ उनले भनिन् ।

रोमानियामा महिला र पुरुष एउटै वेबक्याममा बस्न मिल्दैन । तर कानुनलाई लत्याएर ओअना आफ्ना प्रेमीसँग बसिन् । बिस्तारै उनी वेश्यावृत्तिका लागि जर्मनी गइन् । त्यतिबेलासम्म जर्मनीमै बसिन् जतिबेलासम्म बुखारेस्ट फर्किएर नयाँ जीवन सुरु गर्ने हिम्मत आएन ।

उनी अहिले यस्ता यौनकार्य बन्द गर्नका लागि सक्रिय छिन् । युवतीहरूलाई आफ्ना अनुभव सुनाउँछिन् र भिडियो च्याटका खतराबारे सजग गराउँछिन् । ‘यस्ता थुप्रै महिला छन् जसले क्यामेरा अगाडि बस्ने बित्तिकै पैसा आउँछ भन्ने सोच्छन् । तर उनीहरू दिमाग परिवर्तन हुनसक्छन् । अर्को कदम भनेको वेश्यावृत्ति हो । अहिले म त्यस्तै देख्छु,’ लाना सहमत छैनन् ।

‘यो आफ्नो दिमाग बेच्ने कुरा हो । शरीर होइन,’ उनले भनिन्, ‘म यसलाई एउटा प्रस्तुतिका रूपमा लिन्छु । एउटा शोका रूपमा लिन्छु । तर यो जागिर सबैका लागि होइन । धेरैजसो युवतीले केही दिन वा केही हप्तामै यो जागिर छाड्छन् किनकी उनीहरूलाई आफ्नो शरीर बेचेजस्तो लाग्छ । तर मसँग मेरो सीमा छ । इमानदार भएर भन्नुपर्दा म कहिल्यै दुःखी भएको छैन ।’

स्टुडियो ट्वान्टी पिआर म्यानेजर आन्द्रा चिर्नोगियानु पनि यो काम खतरापूर्ण छ भन्ने मान्दिनन् । मानसिक रूपमा यो काम खराब छ भन्ने उनलाई लाग्दैन । ‘दिमाग त त्यस्ता कामले बिगार्छ जहाँ १२ घण्टा अफिसमा काम गर्नुपर्छ र न्युनतम तलब पाइन्छ,’ उनले भनिन् ।

तर वास्तविकता के हो भने मोडलहरू आफैँ आफ्नो पेसा लुकाउन बाध्य छन् । खुलेर भन्न सक्दैनन् । यदि लाना र स्यान्डी बेलले आफ्नो योग्यता प्रयोग गरेर राम्रो काम पाउने हो भने के उनीहरू न्युयोर्क, फ्रयाङ्कफ्रर्ट र लण्डनका ग्राहकका लागि नाङ्गिन तयार हुन्थे ? (एजेन्सी)

Logo