सिनेजगत वाग्मती

चलचित्र पत्रकारसंघद्वारा आयोजित 'फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला' सुरु

15 Shares

नेपाल चलचित्र पत्रकारसंघद्वारा आयोजित ३ दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु भएको छ । कार्यशाला काठमाडौंको चावहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा औपचारिक उद्घाटन समारोहसहित बिहिबारदेखि सुरु भएको हो ।

विशेष गरेर चलचित्र पत्रकारिता र त्यससँग जोडिएको फोटो तथा भिडियो पत्रकारितालाई थप मर्यादित, प्रभावकारी, पत्रकारहरूको कार्यशैलीमा आधुनिक र सकारात्मक परिवर्तनको उद्देश्यका साथ कार्यशालाको आयोजना गरिएको उद्घाटन समारोहमा बोल्दै चलचित्र पत्रकारसंघका अध्यक्ष दिनेश सिटौलाले बताए ।

समारोहमा नेपाल चलचत्रि विकास बोर्डका अध्यक्ष दयाराम दाहालले संघले आयोजना गरेको ३ दिने कार्यशालाको सफलताका लागि शुभकामना दिएका थिए । उनले नेपाली चलचित्र पत्रकारहरूको स्थान अन्य पत्रकारहरूभन्दा माथि र विशिष्ट रहनु पर्ने भएपनि त्यो हुन नसकिरहेको अवस्था रहेको भन्दै अब, त्यस विषयमा संघ र पत्रकारहरू स्वयंले पनि समीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको सुझाव समेत दिए ।

‘समाजको विम्बको रूपमा र समाज परिवर्तनको आधारका निम्ति चलचित्र तयार गरिने र सो चलचित्रमाथि रहेर एउटा चलचित्र पत्रकार अथवा एउटा चलचित्र समिक्षकले चलचित्र निर्माणको धार नै परिवर्तन गर्न सक्ने क्षमता राख्दछ,’ अध्यक्ष दाहालले पछि भने, ‘त्यसैले चलचित्र पत्रकारले समाजसँगसँगै चलचित्र निर्माणको धार परिवर्तनका लागि पेशागत दक्षता, पेशागत मर्यादा र अनुशासनमा पनि ध्यान दिन आवश्यक छ ।’  

यस्तै उद्घाटन समारोहमा बोल्दै चलचित्र निर्देशक तथा कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले कार्यशाला आयोजकलाई धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरे । उनले प्रविधिमाथिको सिकाई कहिलै खेर नजाने र जीवन पर्यन्त पेशागत दक्षतामा सहयोगी हुने भन्दै सबै प्रशिक्षार्थीलाई अवसरको सदुपयोग गर्न सुझाए ।

कार्यशालामा चलचित्र पत्रकारिता गरिरहेका तथा अन्य चलचित्र पत्रकारिताप्रति इच्छुक व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा चलचित्र पत्रकारसंघका उपाध्यक्ष कुवेर डंगोलले जानकारी दिए । दक्ष तथा अनुभवि प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने उक्त कार्यशाला  शनिबार सकिनेछ ।  

प्रकाशित: ६ फाल्गुन २०७७ १३:३८ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी