३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार उपाध्यायको अर्को कीर्तिमान

३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार उपाध्यायको अर्को कीर्तिमान


कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको कीर्तिमानमा अर्को ईंटा थपिएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सहित गीत सङ्गीत क्षेत्रका फरक–फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा.उपाध्यायले शुक्रबार एकै दिनमा सिङ्गो गीति एल्बम तयार गरेर अर्को कीर्तिमान राखेका हुन्।

गीतकार उपाध्यायको एकल शब्द रचना रहेको गीति एल्बम ‘धड्कन’ शुक्रबार एकै दिनमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ्सहित तयार गरी साँझ ७ बजे बिमोचन गरियो ।

गीतकार डा. डीआर उपाध्याय, सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन विक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल तथा युथ क्रिएशनका सञ्चालक रमेश थापाले उक्त एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए।

अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन विकद्वारा रेकर्ड गरिएको उक्त एल्बमका चारैवटा गीतको मिक्सिङ माष्टरिङ गोविन्द सोनीले गरेका थिए।

यस एल्बममा ‘दुई मुटु धड्कन एउटै’, ‘अनन्त संसारमा’, ‘जन्मौंजन्म नछुट्टिने’ र ‘आएको थाहै नदिई’ गरि ४ वटा गीत समावेश गरिएको छ। गीतहरुमा सागर अधिकारी ‘शरद’, प्रताप दास र राधिका भण्डारीले स्वर दिएका छन् । यस एल्बममा संजय श्रीपाल, राजु कार्की र साहस शाक्यको सङ्गीत संयोजन छ ।

Logo