नाम लेखाउने सपनाले दिलाएको ‘पल’को सफलता कथा

नाम लेखाउने सपनाले दिलाएको ‘पल’को सफलता कथा


हरेक अभिनेत्री र मोडलसँग जोडी मिल्ने चर्चित अभिनेता को होलान्? अचेल सबैको उत्तर आउन सक्छ–पल शाह।

कोरोना कहरले थुप्रै कलाकार फुर्सदिला भए। तर, पललाई भने म्युजिक भिडियोले भ्याइनभ्याइ बनायो। 

गुणस्तर (क्वालिटी) र संख्यात्मक (क्वान्टिटी) दुवै हिसाबले म्युजिक भिडियोमा उनले एकछत्र राज गरिरहे। उनी आफ्नो कामबाट पछिल्लो समय चर्चाको शिखरमा छन्। 

म्युजिक भिडियोबाट अभिनय ‘करिअर’ थालेका उनी पछि चलचित्र क्षेत्रमा लागेका हुन्। शायद त्यही भएर होला, उनी अभिनेताभन्दा पनि बढी मोडल भनेर चिनिन्छन्।

आकर्षक व्यक्तित्व, सुन्दरता र कुशल अभिनयका त्रिवेणी उनले नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै निकै लोकप्रियता कमाएका छन्। अथक मेहनतले नै उनी अहिलेको स्थानमा छन्। 

परिवारको चाहना ‘आर्मी’, अन्ततः सफल कलाकार 

२०४६ साल फागुन १० गते बुधबार दाङ जिल्लाको रामपुरमा जन्मिएका पलको वास्तविक नाम पूर्णविक्रम शाह हो। उनी मातापिताका पहिलो सन्तानका रूपमा जन्मिएका हुन्। उनकी एक बहिनी (रोशनी) छिन्।
 
सानैदेखि चञ्चले स्वभावका पलले अरनिको बोर्डिङ स्कुलमा कक्षा २ सम्म र त्यसपछि विलियम सेक्सपियर बोर्डिङ स्कुलमा कक्षा ५ सम्म अध्ययन गरे। १५ वर्षअघि गंगा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे।

मोडल र अभिनेता बन्छु भन्ने पलको सपना थिएन। उनका बाबु  स्थानीय राजनीतिमा सक्रिय थिए भने आमा चाहिँ किराना पसल अनि घरायसी काममा।

अभिभावक एक्लो छोरालाई आर्मीको लेफ्टिनेन्ट बनाउन चाहन्थे। तर, पललाई त्यसतर्फ खासै रुचि थिएन। सानैदेखि उनको भित्री चाहना चाहिँ कलाकारिता क्षेत्रमै अगाडि बढ्छु भन्ने थियो। 

सुरुमा उनलाई भिडियो एडिटिङमा रुचि थियो, त्यसो हुँदा टेलिभिजनका स्क्रीनमा आफ्नो नाम आउँछ भन्ने लाग्थ्यो। सानैदेखि पृथक यात्रा तय गरिसकेका पलले आर्मीमा जागिर खाओस् भन्ने बाबुआमाको चाहनालाई भने कहिल्यै ध्यान दिएनन्। 

यसले गर्दा परिवारमा खटपटसमेत भएको उनी बताउँछन्। ‘परिवारले दिएको सल्लाह–सुझाव मैले मानिनँ। लामो समयसम्म म र बुबाबीच बोलचालसमेत बन्द भयो,’ उनी सम्झिन्छन्।

भिडियो एडिटिङमा रुचि

भिडियो एडिटिङमा पल आकर्षित हुनुको आफ्नै कहानी छ। उनी सानो छँदा घरमा टेलिभिजन थिएन। छिमेकीको घरमा टेलिफिल्म हेर्न जान्थे।

टेलिफिल्म सकिएपछि स्क्रिनमा कलाकार तथा प्राविधिकको नाम आउँथ्यो। एक दिन पलले गाउँकै एकजना दाइको नाम भिडियो एडिटर भनेर आएको देखे। 

ती दाइको नाम भिडियो एडिटरका रूपमा आउँदा गाउँभरि उनको वाहवाही थियो। त्यही कारणले गर्दा पलको बालमस्तिष्कमा छाप पर्यो–‘अहो! चर्चित हुन त भिडियो एडिटर पो बन्नुपर्ने रहेछ।’

अनि सुरु भयो काठमाडौं यात्रा

पलले एसएलसी उत्तीर्ण गरिसकेका थिए। उच्च शिक्षालाई अगाडि बढाउनु पहिलो प्राथमिकता छँदैथियो। उनी जस्तोसुकै परिस्थितिसँग जुधेर भए पनि भिडियो एडिटर बन्न चाहन्थे। 

उनलाई लाग्यो–दाङमै बसेर त यो लक्ष्य पूरा गर्न सकिन्नँ। काठमाडौं गएर भिडियो एडिटिङको काम सिक्ने र सँगै ‘प्लस टु’ पढ्ने लक्ष्य बनाए उनले।

उनका बाबुको सोच चाहिँ गाउँबाटै ‘प्लस टु’ सिध्याएपछि छोरालाई आर्मीको लेफ्टिनेन्ट बनाउँछु भन्ने थियो। तर, उनी यो कुरामा मञ्जुर थिएनन्।

‘परिवारले काठमाडौं जान अनुमति नदिएपछि ठूलो संघर्ष गर्नुपर्याे, यतिसम्मकि मैले घुर्काएर खाना खानै छाडिदिएँ। आखिरमा उहाँहरु मेरो कुरा मान्न तयार हुनुभयो,’ उनले सुनाए। यसरी उनको काठमाडौं यात्रा अघि बढ्यो।  

‘आफूले काम सुरु गरिसकेकाले घरमा अबदेखि खर्च पठाउनुपर्दैन भनिसकेको थिएँ। तर दुर्भाग्य काम थालेको चार महिनामै तलब नदिइकन कम्पनी मालिक फरार भए।’

कठिन ती दिनहरू

पल जुन सपना लिएर काठमाडौं छिरेका थिए, त्यसलाई पूरा गर्न कहाँ सजिलो थियो र! उनको संघर्षको कथा उल्लेख गरी साध्य छैनन्। सुरुका दिनमा घरभाडा तिर्न र अन्य दैनिक गुजारा गर्न हम्मे थियो।

यतिसम्मकि भाडा तिर्न नसकेर घरबेटीले कोठाबाटै निकालिदिएका थिए । त्यस्तै पुतलीसडक, रत्नपार्क, अनामनगर, बागबजारका धेरै पसलमा खाजा–चिया खाएको उधारो तिर्न नसकेपछि कतिचोटि उनी बाटो छलेर हिँड्न बाध्य भएका थिए। 

भाग्यको साथ अनि मेहनतको फल। उनी अहिले त्यही सडकमा कार हुइँक्याउँछन्। काठमाडौं आएपछि सानिमाको छोरीसँग बस्न थालेका उनी बिहान कलेज जान्थे। दिउँसो दाजु (सानिमाको छोरो) नितेन चन्दको अफिसमा पुग्थे। 

त्यसबेला नितेन म्युजिक भिडियो एडिट गर्थे। नितेनले नै उनलाई भिडियो एडिटिङको काम सिकाइदिए। 

‘प्लस टु’ पढ्दै भिडियो एडिटिङ सिकेका पलले एक वर्षपछि एउटा कम्पनीमा एडिटरको काम पाए। तर, दुर्भाग्य भनौं, काम थालेको चार महिनामै तलब नदिइकन कम्पनी मालिक फरार भए।
‘घरमा आफूले काम सुरु गरिसकेकाले अबदेखि खर्च पठाउनुपर्दैन भनिसकेको थिएँ, त्यो समय कटाउन असाध्यै गाह्रो भो,’उनी भन्छन्।
 
केही समयपछि उनले नेपाल टेलिभिजनमा भिडियो एडिटरको जागिर पाए। ‘टेलिफिल्ममा मेरो नाम देख्न थालेपछि बुबा–आमा पनि खुसी हुनुभयो,’ उनी स्मरण गर्छन्।

भिडियो एडिटरका रूपमा काम गर्न उनी भारतको दिल्लीसम्म पुगे। त्यसबेला उनका दाजु नितेन, जसले उनलाई एडिटिङ सिकाएका थिए, उनी दिल्लीस्थित टिसिरिजमा भिएफएक्स एडिटर थिए।

दिल्लीमा भोगेका दुर्दिन

नितेनले नै आउन भनेपछि दिल्ली पुगेका उनको त्यहाँको बसाइ सुखद रहेन। डेढ वर्षसम्म रातदिन नभनी काम गरे पनि पैसा नपाएपछि उनी रुँदै नेपाल फर्किए। त्यस बेला उनले फ्ल्याट लिएर आफ्नी आमा र बहिनीलाई काठमाडौं ल्याइसकेका थिए।

भाडा तिर्न नसकेपछि उनलाई घरबेटीले ‘फ्ल्याट’ खाली गरिदिन उर्दी जारी गरे। उनले आमा र बहिनीलाई ढाँटेर फ्ल्याट सारेका थिए।

त्यसपछि उनले काठमाडौंमै फाट्टफुट्ट म्युजिक भिडियो एडिटिङ गरेको पारिश्रमिकले उनले जीवन गुजारा गर्न थाले। उनले यति चरम आर्थिक संकट व्यहोर्नुपर्यो कि दिउँसो खाजा खानसमेत पैसा भएन। ‘कहिले साथीसँग मागेर त कहिले उधारोमा खाजा खाने गर्थेँ, उपहार किन्ने पैसा नभएकाले साथीको जन्मदिनमा पनि जाँदैनथेँ,’ उनी दुःखका दिन सम्झिन्छन्। 

उज्याला दिन सुरु 

एक वर्षको संघर्षपछि पललाई म्युजिक भिडियोको अफर आयो। त्यसपछि उनको जीवनमा उज्याला दिन सुरु भए। 

पहिलो म्युजिक भिडियो ‘तिम्रो यादमा रुन्छु अचेल’मा अभिनय गरेपछि पाएको सफलतालाई उनको दोस्रो म्युजिक भिडियो ‘को होला त्यो’ले थप उचाइमा पु¥यायो। त्यसपछि ‘हनिबनी’ले त झन् उनलाई दर्शक–स्रोतामाझ चर्चित बनायो।

एकपछि अर्को भिडियोमा चर्चित बनेका पल नेपाली म्युजिक भिडियोमा एकाएक उदाए। म्युजिक भिडियोमा अभिनयका लागि उनको खोजी हुन थाल्यो।

आफूले पाएका सबैजसो भिडियोमा शतप्रतिशत अभिनय गर्दै आएको उनको भनाइ छ। 

हुन त पलले अहिलेसम्म औपचारिक अभिनय सिकेका छैनन्। यद्यपि आफ्नो अभिनय अब्बल हुनुको मुख्य कारण भने अनुभव नै रहेको उनको बुझाइ छ। 

‘भिडियो एडिट गर्दा धेरै कलाकारको अभिनयमा कमीकमजोरी भेटाउँथेँ। त्यही अनुभवबाट सिकेर आफ्नो अभिनयमा पनि त्यस्ता कमीकमजोरी नदेखियोस् भनी सक्दो मेहनत गर्थे,’ उनी भन्छन्। आखिर, जीवनमा कहिल्यै अभिनयको सोच नराखेका पल यही क्षेत्रबाट नाम र दाम कमाउन सफल भए।

अहिलेसम्म पलले कैयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। केही वर्षदेखि नेपाली म्युजिक भिडियोमा उनको क्रेज बढिरहेको छ। उनका हरेकजसो भिडियो ट्रेन्डिङमा पर्नुले यो तथ्य बुझ्न सकिन्छ।
 
म्युजिक भिडियोसँगै पलको फिल्मी–यात्रा

म्युजिक भिडियोमा पाएको सफलतासँगै उनले  फिल्मी–यात्रा पनि तय गरे। उनले ‘नाइ नभन्नु ल’को सेक्वयलमा बनेको ‘नाइ नभन्नु ल–४’बाट फिल्ममा अभिनय सुरु गरेका थिए। यो फिल्म बक्स अफिसमा निकै सफल रह्यो। यही चलचित्रबाट उनले ‘बेस्ट डेब्यु एक्टर’ अवार्डसमेत पाए। 

त्यसपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दै गयो । पलले अहिलेसम्म ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘वीरविक्रम–२’ लगायत चलचित्रमा अभिनय गरिसकेका छन्।
 उनको ‘म यस्तो गीत गाउँछु–२’ रिलिजको तयारीमा छ।

अघोषित प्रेम–सम्बन्ध र गसिपका पात्र

बेलाबेलामा पलको प्रेम सम्बन्धको विषय चर्चामा आउने गर्छ। हुन त उनले अहिलेसम्म आफ्नो प्रेमिका भनी कुनै केटीलाई औपचारिक रूपमा चिनाएका छैनन्।  केही मोडल र नायिकाहरुसँग उनीे अफेयरमा बसिसकेको गसिप मिडियामा चल्दै आएका छन्।

उनको पहिलो चलचित्र ‘नाइ नभन्नु ल–४’ मा पलकी कोस्टार अभिनेत्री आँचल शर्मासँग प्रेम–सम्बन्ध भएको कुरा मिडियामा निकै वर्ष चल्यो। पल र आँचललाई ‘आँप’ जोडीका रूपमा दर्शकले राम्ररी रुचाए।

अन्य चलचित्रहरू ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’ का साथै थुप्रै म्युजिक भिडियोमा पल र आँचललाई एकसाथ देखेपछि धेरैले दुवैलाई बिहे गर्नसमेत सुझाएका थिए। यति हुँदा पनि पल र आँचलले सधैँ आफूहरू असल साथी मात्र भएको स्पष्टीकरण दिने गर्थे। पछि आँचलले प्रेमी उदीप श्रेष्ठसँग विवाह गरिन्।

त्यसपछि पलको नाम अभिनेत्री पूजा शर्मासँग जोडिन थाल्यो। ‘म यस्तो गीत गाउँछु’ फिल्ममा यो जोडीको केमेस्ट्रीलाई दर्शकले मन पराए। उनीहरूले दुवैलाई रियल लाइफमा पनि सँगै देख्न चाहे। 

उनीहरुको जोडीलाई ‘पपु’ नाम दिइयो। तर, पल र पुजालाई जोडेर बनेका गसिप भने धेरै टिकेन। अभिनेता आकाश श्रेष्ठसँग पूजाको नाम जोडिन थालेपछि दर्शक पल र पुजा साथी मात्र रहेछन् भनी चित्त बुझाउन बाध्य भए। 

पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ। म्युजिक भिडियोमा अचेल यो जोडीलाई निकै रुचाइएको छ।

पल र गरिमा अघोषित प्रेम सम्बन्धमा भएका गसिप पनि चलि रहेको छ। तर, अहिलेसम्म यसबारे उनीहरुले केही बोलेका छैनन्। नेफ्टा अवार्ड समारोहमा उनीहरूको ‘कपल डान्स’ हेरेर धेरैले मनोरञ्जन लिए। त्यसबाट पनि दर्शकहरूको अनुमान छ कि पल र गरिमाबीच साँच्चिकै अफेयर चलिरहेको छ ! 

Logo