‘दोहोरी च्याम्पियन’ विवादः धेरै राम्रो गर्छुभन्दा बिग्रिएको हो–बद्री पंगेनी

‘दोहोरी च्याम्पियन’ विवादः धेरै राम्रो गर्छुभन्दा बिग्रिएको हो–बद्री पंगेनी


नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ले यतिबेला सामाजिक सञ्जालमा आलोचना खेपिरहेको छ। विशेष गरेर प्रतिस्पर्धीहरूमाथि निर्णायकको प्रतिक्रियाले दर्शक नै रुष्ट बन्दा च्याम्पियनले नै आलोचना भोगिरहेको छ।

यद्यपी, गायक बद्री पंगेनीले भने यसलाई केही सहजरूपमै ब्रिफिङ गरिदिएका छन्। बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा पंगेनीले सुरुका केही एपिसोडमा कमजोरी भएको स्वीकार गर्दै दर्शकहरुले दिएको गालीलाई आर्शिवादको रुपमा लिइने बताए।

निर्णायक चन्द्र शर्माले प्रतियोगी कल्पना दाहाललाई गरेको कमेन्ट सामाजिक सञ्जालमा भाइरल र विवादित बन्यो। कारण थियो, कल्पना दाहाल स्वयंमा दोहोरीका क्षेत्रमा चर्चित अनुहार थियो।

कार्यक्रममा चन्द्रले दाहाललाई लिएर ‘तपाईं त्यो हामीले पहिला–पहिला अरु कुनै टीभीतिर देखेको कल्पना बहिनी हो र? तपाईं अरु–अरु दोहोरी एक दुईचोटी कता–कता भाइरल साइरल भा’को बहिनी हो? भनि हलुंगो शैलीमा प्रश्न सोधेका थिए। 

कल्पना दाहाललाई मात्र नभएर निर्णायकहरू अन्य प्रतिस्पर्धीमाथि पनि केही रुखो शैलीमा प्रस्तुत भएका थिए। निर्णायकहरु रमेश बिजी र प्रजापति पराजुलीले दिएका अभिव्यक्तिहरु समेत विवादित बनेका थिए।  दोहोरी प्रतियोगितीहरुको पहिरन र हेयर स्टाइलमासमते प्रतिक्रिया जनाउँदा सामाजिक संजालमा विरोधका स्वरहरू बढेका थिए।

यससम्बन्धमा पंगेनीले भने निर्णायकहरुले दर्शकको गालीलाई आशिर्वादको रुपमा लिएको र गल्ती सुधार गर्दै अघि बढ्ने बताएका छन्। 

उनले कार्यक्रम सम्पादनमा भएका त्रुटिका कारण पनि दर्शकमा भ्रम परेको प्रतिक्रिया दिए। ‘लामो छायांकन गरेको कार्यक्रम सम्पादन गर्दा सबै कुरा अटाएनन्। त्यसैले दर्शकलाई अनौठो लागेको हो,’ गायक पंगेनीले भने,‘चन्द्रजीले कल्पनालाई पहिलेबाट नै चिनेको भएपनि नचिनेको जसरी देखिएको मात्र हो। अझ भनौं धेरै राम्रो गर्छु भन्दा बिग्रिएको हो।’

प्राप्त प्रतिक्रियाहरूलाई शिरोपर गर्दै दोहोरी च्याम्पियनका अबका श्रृंखलाहरूलाई अझ राम्रो बनाउने कोसिस गर्ने सञ्चालक पंगेनीको भनाइ छ।

Logo