को-को हुन् कोरोना संक्रमित १० सेलिब्रिटी? (भिडियोसहित)

को-को हुन् कोरोना संक्रमित १० सेलिब्रिटी? (भिडियोसहित)


कोरोना संक्रमणको दोस्रो तरंगले हाल एसियाली मुलुक बढी प्रभावित भएका छन्। जसबाट छिमेकी राष्ट्र भारत सबैभन्दा बढी प्रभावित भएको छ।

कोरोना संक्रमणको पहिलो लहरमा अमेरिका र युरोपेली मुलुक बढी प्रभावित भएका थिए । कोरोना महामारीको दोस्रो संक्रमण नेपालमा पनि दैनिक तीब्ररुपले  बढिरहेको छ। 

पछिल्लो समय विश्वका शक्तिशाली व्यक्तिहरुसमेत कोरोना संक्रमणको चपेटामा परेका छन् । महामारीका रुपमा फैलिरहेको यस भाइरसबाट हलिउड, बलिउड र कलिउडका सेलिब्रिटी पनि अछुतो रहन सकेका छैनन्।

हाल नेपालमा पनि थुप्रै सेलिब्रेटी कोरोना संक्रमित भएका छन्। कतिपयले भाइरसलाई परास्त गरिसकेका छन् भने कति जना भाइरससँग लडिरहेका छन्। आजको यस रिपोर्टमा हामी तिनै संक्रमित सेलिब्रेटीहरुका बारेमा चर्चा गर्दैछौंः 

१. मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ जन्मदिनकै दिन कोरोना भाइरसबाट संक्रमित  भएका छन्। श्रेष्ठसहित उनका परिवारका पाँचजनामा वैशाख ६ गते संक्रमण पुष्टि भएको थियो। कमजोर महसुस भएपछि श्रेष्ठलाई बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

संक्रमणमुक्त भएपछि अस्पतालबाट गत शुक्रबारमात्रै डिस्चार्ज भएर घर फर्किएका श्रेष्ठको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई सोमबार पुनः मेडिसिटी अस्पताल भर्ना गरिएको छ। 
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पोजेटिभ नै आएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिएका छन्। श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम भएर कमजोरीपना देखिएको र सुरक्षा सतर्कता हुन्छ भनेर उनलाई पुनः अस्पताल भर्ना गरिएको आचार्यले बताएका छन् ।
 
गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भएपछि उनले भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका थिए । कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका थिए ।

उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेनछ। आफ्नो शरीर फलामजस्तो लाग्थ्यो। पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो तर सबै हावा रहेछ । त्यसैले यो समयमा कसैले कसैलाई इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन। उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताएका थिए। उनले जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेको बताएका थिए। 

श्रेष्ठका अन्य परिवारका सदस्यहरु भने होम आइसोलेसनमा बसेका छन् । आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको उनले बताए छन् । आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाई छ। उनले भनेका छन्, ‘यो समयमा सबैले प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ। सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ उनले कोरोनालाई हेलचेक्रयाइ नगर्न पनि आग्रह गरेका छन्।  

२. केकी अधिकारी 
वैशाख ७ गते अभिनेत्री केकी अधिकारी पनि कोरोना संक्रमित भएकी थिइन् । लक्षण देखिएपछि परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनले होम क्वारेन्टिनमै बसेर कोरोनालाई जितेकी छिन् । 

उनी चलचित्र घिन्ताङ निर्माणको क्रममा संक्रमित भएकी थिइन्। उनलाई कोरोना देखिएपछि छायांकन भैरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ । रोकिएका छायांकन कहिलेदेखि सुचारु हुन्छ भन्ने कुरा टुंगो छैन । साथै, उनी निर्मात्री रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एक साताका लागि पोस्टपोन्ड भएको थियो । 

तर, दुई दिनमै केकी भाइरसबाट मुक्त भएकी छिन्। पुनः परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएपनि आफूलाई केही समयका लागि आइसोलेट गरेको उनले बताएकी छिन् । उनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

३. बर्षा राउत
अभिनेत्री बर्षा राउत पनि कोरोना संक्रमित भएकी छिन् । बर्षाले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको बताएकी छिन् । 

कोरोनाको केही लक्षणहरु देखिएपछि वर्षाले कोरोना परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको उल्लेख गरेकी छिन् । बर्षाले लेखेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’
घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफू ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन्। बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।

४.प्रकाश सपूत 
यसैबीच गायक प्रकाश सपूत पनि कोरोना संक्रमित भएका छन् । वैशाख १७ गते काठमाडौं मेडिकल कलेजमा नमुना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई शरीर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र एन्जाईटि फिल भएपछि पिसिआर टेस्ट गरेको थियो । उनले आफू संक्रमित भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका थिए। सपूत अहिले होम आइसोलेशनमा बसिरहेका छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।  

उनले कोरोना भाइरसलाई सामान्य नठान्नसमेत आग्रह गरेका छन्। उनका अनुसार, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने बताएका छन् । त्यसैले उनले सतर्कता अपनाउ र सुरक्षित बस्न आग्रह गरेका छन्।

५.सरिता लामिछाने
यसैबीच, कलाकार सरिता लामिछाने पनि कोरोना संक्रमित भएकी छिन् । उनले सामाजिक संजालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । उनले कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी छिन् । हाल उनी होम आइसोलेसनमा बसिरहेकी छिन्। 

६.कोमल ओली 
लोक गायिक तथा राष्ट्रिय सभा सदस्य कोमल ओली पनि कोरोनाबाट अछुतो रहन सकिनन् । उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । आफू लगायत सपरिवार संक्रमित भएको बताएकी छिन् । हाल उनी होम आईसोलेसनमा बसिरहेकी छिन् । 

वर्तमान समयमा मानव समाजमाथि आईपरेको यो कठिन समयमा आफू जनताको प्रतिनिधि भएको कारण आमा बुवा दिदीबहिनी दाजुभाई प्रति अत्यन्तै संबेदनशील भएको पनि उनले बताएकी छिन्। 

उनले सरकारका विभिन्न निकायसँग जिल्लालाई पर्ने आवश्यकताका बारेमा बोलिरहेको, भनिरहेको र संयोजन गरिरहेको पनि सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । उनले लेखेकी छिन् ‘तर समय यस्तो छ यो महामारी विपत्तिको चरित्र नै कसैलाई पनि भेट्न नहुने छ कसैको घरमा जान नहुने छ । त्यसैकारण मन भारी बनाएर हजुरहरुको सामु आउन सकेकी छैन। त्यही पनि म उत्तिकै संवेदनशील छु । म आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छु , गरिरहेकी छु ।’ उनले आफ्ना जिल्लाबासीहरुलाई सुखमा मात्र नभई दुखमा पनि साथ दिने प्रतिबद्धता जनाइकी छिन् । 

७. दीपकप्रसाद आचार्य (काकु)
कोरोनाको दोस्रो लहरसँगै कलाकार तथा निर्देशक दीपकप्रसाद आचार्यमा पनि संक्रमण पुष्टि भएको छ । आचार्यले पनि आफू संक्रमित भएको जानकारी सामाजिक संजालबाटै गराएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । 

गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। 

हाल उनी होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा रहेको पनि बताएका छन् । उनले आफ्नो मनोबाल र आशा उच्च रहेको र चाडै नै कोभिडसँगको लडाइमा विजयी हुने बिश्वास व्यक्त गरेका छन् । उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् ।

८. ऋषि लामिछाने 
निर्देशक ऋषि लामिछानेमा पनि संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । यसअघि उनकी श्रीमती सरिता लामिछाने संक्रमित भएकी थिइन् । ऋषि लामिछानेले सामाजिक संजालमार्फत आफू संंक्रमित भएको उल्लेख गरेका छन् ।

उनले जीवनको अत्यन्त कठिन र पीडादायिक समय भएको उल्लेख गरेका छन् । उनले पत्नी सरितापछि आफू र छोरीलाई संक्रमण पुष्टि भएको जनाएको छ । 

९. कृष्ण मल्ल 
यसैबीच लोकप्रिय नेपाली अभिनेता कृष्ण मल्ल पनि कोरोना संक्रमित भएका छन् । हाल उनी होम आइसोलेसनमा छन्। बादल, हिरो, नाता जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेका अभिनेता कृष्णलाई हाल भने अभिनय क्षेत्रमा देख्न पाइएको छैन । 

१०.निल डेभिड कट्वाल
चर्चित हेयर स्टाईलिस्ट तथा युवा व्यवसायी निल डेभिड कट्वाल कोरोना संक्रमित भएका छन् । उनले पनि आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी पनि हाल होम आइसोलेसनमा छन् ।  

यस्तै फिल्म निर्माता एवं उद्यमी नरेन्द्र महर्जन पनि संक्रमित भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा भर्ना गरिएको छ । उनी चर्चित नेपाली फिल्म ‘लुट’का निर्मातासमेत हुन् । चलचित्र विकास बोर्डका पूर्वसदस्यसमेत रहेका महर्जन चलचित्र व्यवसायी हुन् । 

त्यस्तै पहिलो लहरको रुपमा फैलिएको कोरोना संक्रमणमा पनि धेरै जना सेलिब्रेटीहरु संक्रमित भएका थिए । जसमा अभिनेत्री रिचा शर्मा, हास्यकलाकार मनोज गजुरेल, हास्यकलाकार हरिबंश आचार्य, हास्यकलाकार सुबास कार्की (बेलासे), हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) कलाकार तथा पाइलट बिजय लामा, गायिका रजिना रिमाल, गायक टंक बुढाथोकी, हास्यकलाकार देवीप्रसाद पराजुली (भोक लाग्यो) संक्रमित भएका थिए । 
 

Logo