लकडाउनका बेला घर बस्दा हेर्नै पर्ने ११ नेपाली फिल्म (भिडियोसहित)

लकडाउनका बेला घर बस्दा हेर्नै पर्ने ११ नेपाली फिल्म (भिडियोसहित)


कोरोना महामारीको दोस्रो तरंगबाट जोगिन अहिले विभिन्न मुलुकले लकडाउन वा निषेधाज्ञा जारी गरेका छन्। कोरोना नयाँ भरियन्टका कारण संक्रमण तीव्र बनेपछि नेपालमा पनि काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा दुई साताअघि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना भाइरस चेन तोडी फैलावट रोक्न निषेधाज्ञा जारी भएपछि अधिकांश मानिस घरभित्रै बस्ने गरेका छन्। महामारीका बेला घरभित्रै बस्दा सुरक्षित हुन सकिने विज्ञहरुले बताउँदै आएका छन्। 

अहिले कार्यालय, स्कुल कलेज सबै बन्द भएकाले दुई सातादेखि अधिकांश मानिस घरमै बस्दै आएका छन्। त्यसैले, अहिले सबैलाई फुर्सदै फुर्सद मिलेको छ। खासगरी विद्यार्थी तथा अन्य व्यवसायका व्यक्तिले पनि इन्टरनेटमै बढी समय बिताइरहेका छन्। 

यस्तो बेला समय कटाउन धेरै व्यक्तिले युट्युबमा राम्रा चलचित्र खोजिरहेका हुन्छन्। त्यसैले हामीले यो रिपोर्टमा निषेधाज्ञाका बेलामा घरमै बसेर हेर्न सकिने राम्रा १० नेपाली चलचित्रलाई समावेश गरेका छौं : 

   
१.छक्का पञ्जा-३  
नेपाली चलचित्र क्षेत्रमा एक क्षत्र राज गर्ने नेपाली कथानक चलचित्र हो छक्का पञ्जा ३। हलमा रिलिज भएको २ बर्षभन्दा बढी समयपछि चलचित्र ‘छक्का पन्जा ३’ युटुबमा रिलिज भएको छ। हाइलाइट्स नेपालले यो चलचित्र युटुबमा रिलिज गरेको हो ।

हलमा निकै प्रशंसा पाएको यस चलचित्रलाई युटुबमा पनि दर्शकले निकै प्रशंसा गरेका छन् । चलचित्रले नेपालको सरकारी विद्यालयको शैक्षिक गतिविधि उठान गरेको छ। साथै चलचित्रमा राखिएको कमेडीलाई पनि दर्शकले उत्कृष्ट भनेका छन् ।

नेपालको १ नम्बर ट्रेन्डिङमा परेको यस चलचित्रले दर्शकको उल्लेख्य साथ पाएको थियो । चलचित्रले हलमा बम्पर व्यापार गरेको थियो । अहिलेसम्म रिलिज भएका नेपाली चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा ३’ सँग छ ।

त्यस्तै, छक्का पन्जा ३ ले दशौं नेफ्टा फिल्म अवार्डमा आफ्नो वर्चस्वसमेत कायम गरेको थियो । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकारलगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको थियो ।  

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यस चलचित्रमा दीपिका प्रसाईं, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

२. पशुपति प्रसाद
दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘पशुपति प्रसाद’ व्यावसायिक र सफल चलचित्र हो । सन् २०१६ मा बनेको यो चलचित्र समीक्षक र दर्शक दुवैले मनपराएको चलचित्र हो । चलचित्रमा निर्देशक दीपेन्द्र के खनालले प्रशंसनीय काम गरेका छन् । उनले यस चलचित्रमा स–साना कुरामा ध्यान दिएर सामान्य कथालाई उत्कृष्ट प्रस्तुति दिएका छन् । पछिल्लो समय नेपाली दर्शकले मौलिक कथावस्तु भएका नेपाली चलचित्र रुचाउने गरेका छन् । त्यसैले अर्गानिक चलचित्र हेर्न खोजिरहेकाहरुका लागि ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र रहेको छ । 

२ घण्टा १५ मिनेट लामो यस चलचित्र एउटा युवाको संघर्षमा केन्द्रित रहेको छ । भूकम्पका कारण बाबुआमाको निधन भएपछि काठमाडौं छिरेको पशुपतिप्रसादको वरिपरि कथा घुम्छ ।

गीत, एक्सन बिना नै दुई घन्टा ११ मिनेट निर्देशकले दर्शकलाई बाँधेर राख्ने खुबी देखाएका छन् । हाम्रै परिवेशका कथालाई निर्देशकले मन छुने किसिमले पस्केका छन् । यस चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् भने बिपिन कार्की, बर्षा शिवाकोटीको पनि भुमिका रहेको छ । यस चलचित्रले राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ।

३. जात्रा 
निर्देशक प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको चलचित्र जात्रा अहिलेको तनावरहित अवस्थामा माइण्ड फ्रेस गर्ने चलचित्र बन्न सक्छ । आकस्मिक रूपमा ठूलो धनराशी भेटिएपछि पात्रहरूले पैसा पचाउन गरेको संघर्ष नै यस चलचित्रको कथा हो । यसमा पैसाको अभावमा बाँचिरहेका निम्न–मध्यमवर्गीय पात्रले नसोचेको पैसा पाउँदा उनीहरूको मनमा उब्जने फरक–फरक मनोदशाको चित्रण पाइन्छ । 

यस चलचित्रमा स्वाभाविक अभिनय, रमाइलो प्रस्तुति, रसिलो–चोटिलो संवादले दर्शकलाई तान्छ । काठमाडौंको असन आसपासको न्ह्योखाबहाल, इन्द्रचोक वरपरका परिवेश देखाइएको छ ।

विपीन कार्कीको जीवन्त अभिनय फिल्मको सशक्त पक्ष हो । यसबाहेक रवीन्द्र झा, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरेलगायत कलाकारको मुख्य अभिनय रहेको छ । 

४. साइली 
सफल निर्देशक तथा लेखक रामबाबु गुरुङद्धारा निर्देशित नेपाली कथानक चलचित्र साइली दुई वर्षअघि हलमा प्रदर्शन भएको थियो । रिलिज भएको एक वर्षपछि ओएकआर डिजिटले चलचित्र साईली युट्युबमा रिलिज गरेको छ। 

चलचित्रमा गाँउघरको परिदृश्य देखाइएको छ । गाउँघरमा अझै पनि मुखिया वा साहुबाट ऋण लिने प्रचलन छ । सोही बिषयमा रहेर साईली पात्र जो एक गाउँले मुखियाकी छोरी हुन्छिन् । जसले आफ्नो बुबाले ऋण दिएको घरको छोरासँग परिवारको अस्वीकारपछि भागेर विवाह गर्छिन्। 

त्यसपछि उनी माइतीघरबाट एक्ली हुन्छिन्। यता श्रीमानको घरको ऋण तिर्नकै लागी भएपनि साइलीले विदेश जाने निर्णय गर्छिन् । जुन पीडा हामी नेपाली समाजले भोग्दै आएका छौं । यसरी बर्षेनी हजारौं नेपाली विदेशी रहेका छन् । 

चलचित्र साइलीमा दयाहाङ राई, गौरब पहारी, मेनुका प्रधानकोे मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट दशौं नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले  प्राप्त गरेकी थिइन् ।

५. टलकजंग भर्सेस टुल्के
निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ सन् २०१४ मा बनेको चलचित्र हो । विश्वप्रसिद्ध चिनियाँ लेखक लु शुनको ‘आह क्यूको साँचो कथा’ लाई आधार बनाएर नेपालीमा अनुप बरालको निर्देशनमा टलकजंग भर्सेस टुल्के नाटक मञ्चन भएको थियो। त्यही नाटकलाई पछि निश्चल बस्नेतले निर्देशन गरेका हुन् । 

यो चलचित्र सहरिया जीवनसँग गाउँले जीवनको तुलना गरिएको छ । जसमा कथालाई वर्गसंघर्ष र माओवादी आन्दोलनको सेरोफेरोमा बुनिएको छ । शोषण, जालझेल, प्रतिशोध र विद्रोहका तहहरु पत्रपत्रमा खुल्ने यो फिल्म आत्मसम्मान चाहने युवाको कथा हो । 

टलकजंग अर्थात टुल्केको भूमिका खगेन्द्र लामिछानेले निर्वाह गरेको यो चलचित्रमा रवीन्द्रसिंह बानियाँ, ऋचा शर्मा र दयाहाङ राईको मुख्य अभिनय छ ।

यो चलचित्रले सन् २०१६ मा भएको ओस्कार अवार्डमा प्रवेश पनि पाएको थियो। साथै यस चलचित्रले सन् २०१५ को राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको थियो । 

६. आमा
दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘आमा’ पनि नेपालीले हेर्नैपर्ने चलचित्र हो । चलचित्र ‘आमा’ युट्युबमा रिलिज भइसकेको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट आमा चलचित्र युट्युबमा रिलिज भएको छ ।

पितृसत्तात्मक हाम्रो नेपाली समाजको चित्रण यस चलचित्रमा गरिएको छ । यस चलचित्रको अर्को रमाइलो पाटो अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल मुन्डन पारेकी थिइन् । 

गत वर्षको फागुन ९ गते हलमा रिलिज भएको यस चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो । 

हलमा पुनः रिलिजको केही समयपछि युट्युबमा पनि रिलिज भएको हो । डीएस डिजिटलको प्रस्तुती रहेको चलचित्र ‘आमा’मा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो ।

७. लुट
निश्चल बस्नेत निर्देशित चलचित्र लुट सन् २०१२ मा बनेको चलचित्र हो । यस चलचित्रको सिक्वेलपनि बनिसकेको छ । नेपाली चलचित्र इतिहासमा लुटको फरक महत्व रहेको छ । २ घण्टा लामो यो चलचित्र ‘क्राइम एक्सन’ मा आधारित छ । 

लुट नेपाली चलचित्र क्षेत्रको एकदमै सफल र सबैभन्दा धेरै कमाई गरेको चलचित्र पनि हो । सङ्कटकाल लाग्ने अवस्थामा रहेको चलचित्र उद्योगलाई व्यावसायिक धारमा उभ्याउन सफल ‘लुट’ माधव वाग्लेले निर्माण गरेका हुन् । लुटलाई नेपाली चलचित्रको धार परिवर्तन गर्ने सूत्रधारका रूपमा पनि लिइन्छ । 

यो चलचित्रमा बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा परेर बैङ्क लुट्ने मास्टर प्लान पूरा गर्ने प्रयास र उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा बोकेको छ । कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको यस चलचित्रमा काठमाडौँका गल्लीदेखि भट्टीसम्मका दृश्य समेटिएको छ । 

दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायत कलाकारको अभिनय रहेको लुटले युवापुस्ताको नयाँ सोचको प्रतिनिधित्व गरेको छ ।

८. कबड्डी कबड्डी
रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र कबड्डी कबड्डी सन् २०१३ मा बनेको कबड्डीको दोस्रो श्रृंखला हो । सन् २०१५ मा बनेको यो चलचित्र २ घण्टा १५ मिनेट लामो छ । हुनत यस चलचित्रको तेस्रो श्रृंखला पनि बनिसकेको छ तर तेस्रो श्रृंखला युट्युबमा भने रिलिज हुन बाँकी छ । 

यो चलचित्र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनशैली र गुरुङ्ग संस्कृतिमा आधारित छ । गुरुङ्ग संस्कृति मामा चेली र फुपू चेलाको बिच चल्ने बिहेवारी गर्ने परम्परा छ तर कतिपय युवा युवतीहरुको त्यसमा बिमति रहँदै आएको छ । त्यसै विषयवस्तुलाई चलचित्रमा उतारिएको छ । यससँगै चलचित्रमा हिमाली क्षेत्रको सुन्दरता एवं सँस्कृतिलाई पनि देखाएको छ । नेपालमा दर्शक श्रोता एवं समिक्षकहरुको निकै सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रको इतिहासमा नै सबैभन्दा धेरै कमाई गरेर रेकर्ड राखेको थियो । 

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ्ग, बिजय बराल, बुद्धि तामाङ्ग, माओत्से गुरुङ, उपेन्द्र सुब्बाको मुख्य भूमिका रहेको छ । कबड्डी कबड्डी रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका छन् ।

९. झोला
२०७० सालमा रिलिज भएको सय वर्ष पहिलेको नेपाली समाजमा रहेको सती प्रथाको विषय उठान गरेको चलचित्र हो ‘झोला’ । यादव भट्टराईले निर्देशन गरेको यस चलचित्र देश विदेशका विभिन्न फिल्म फेस्टिबलमा पुरस्कृतसमेत भएको थियो । यो चलचित्र नेपालबाट अस्कर अवार्डका लागि पनि पठाइएको थियो ।

चलचित्रकी अभिनेत्री गरिमा पन्तले यही चलचित्रबाट ‘सार्क फिल्म फेस्टिबल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । चलचित्र कृष्ण धरावासीको कथामा आधारित भएर निर्माण भएको छ ।

कृष्ण धराबासीद्वारा लिखित पुस्तकमा आधारित चलचित्र झोलामा बुढो मान्छेको पुरानो झोला देखाएर सुरु हुन्छ । त्यही झोलामा भएको किताबमा यो कथा हुन्छ । यो चलचित्रमा सति प्रथाको बारेमा देखाइएको छ । वि सं १९२० ताका यो प्रथा अस्तित्वमा थियो । चलचित्रमामा गरिमा पन्तसँगै देशभक्त खनाल,दीपक क्षेत्री,सुजल नेपाल,लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । 

१०. वडा नं ६
कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सन् २०१६ मा निर्माण गरेको चलचित्र वडा नं ६ ले नेपाली समाजको केही पुरानो अवस्थाको कथा बोकेको छ । उज्जवल घिमिरेले निर्देशन गरेको यस चलचित्रमा माओवादी जनयुद्धको समयमा साधारण मानिसहरु कसरी प्रभावित भए भन्ने चलचित्रले देखाउन खोजेको छ । 

यसमा जातीय विभेद, द्वन्द्व लगायतका सामाजिक परिस्थितिको उठान गरिएको छ । हलमा राम्रो ब्यापारसहित दर्शकको माया र प्रशंसा पाएको यस चलचित्रलाई युट्युबमा पनि १ करोड २८ लाखभन्दा बढी पटक हेरिएको छ । 

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, दिपक राज गिरी, सिताराम कट्टेलको अभिनय रहेको छ ।

११. साँघुरो
जोयस पाण्डेद्वारा निर्देशित चलचित्र साँघुरो नेपाली चलचित्र क्षेत्रमा अलिक फराकिलो धारमा बनेको छ ।  विनोद पौडेलको लेखन रहेको यो चलचित्र यौन मनोविज्ञानमा आधारित एक सुकुम्बासी बस्तीको गरिब दम्पत्तीको कथा देखाउन खोजिएको छ।

यस चलचित्रमा सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र भइरहेको संघर्ष,सुख,  दुःख जिन्दगी कटाइरहेका आमा र छोराबीचको कथामा छोराले बुहारी ल्याएपछि आमा र छोराको सम्बन्ध फितलो हुदै गएको देखाइएको छ। चलचित्रमा दयाहाङ राई, दिया मास्के, शुशांक मैनाली र अरुणा कार्कीको अभिनय रहेको छ।

Logo