यी आठ बलिउड सेलिब्रेटी, जो ३५ वर्ष कटेपछि आमा बने (भिडियोसहित)

यी आठ बलिउड सेलिब्रेटी, जो ३५ वर्ष कटेपछि आमा बने (भिडियोसहित)


प्राकृतिक नियमका सवालमा आमा बन्नु प्रत्येक महिलाका लागि खुसीको कुरा हो। प्रकृतिले नारी जातिलाई मात्र आमा बन्ने सौभाग्य प्रदान गरेको हुनाले पनि आमा बन्नु विशेष कुरा हो। 

महिलालाई गर्भधारणको अवस्थादेखि बच्चा जन्माउने र हुर्काउनेसम्ममा निक्कै नै लामो प्रक्रिया हुन्छ। साधारणतया महिलालाई आमा बन्नका लागि २० देखि ३५ वर्षको उमेर उपयुक्त मानिन्छ। त्यसैले यो उमेरलाई प्रजननयोग्य उमेर पनि भनिन्छ। उमेर बढी भएपछि गर्भ नरहने समस्या पनि उत्तिकै हुन्छ। तसर्थ ३५ वर्षपछि बच्चा जन्माउँदा समस्या हुनसक्ने विभिन्न अध्ययनले देखाएको छ। तर बलिउडका केही सेलिब्रेटीहरु छन् जसले ३५ वर्ष उमेर नाघेर मात्र सन्तान जन्माएका छन्। को को हुन् त ती सेलिब्रेटीहरु? 

१. श्रेया घोषाल 
बलिउडकी निकै लोकप्रिय गायिका श्रेया घोषाल हालसालै आमा बनेकी छिन् । उनले ३७ वर्षको उमेरमा छोरालाई जन्म दिएकी छिन् । गायिका श्रेयाले ५ फेब्रुअरी २०१५ मा प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन् । उनी विवाह गरेको ६ वर्षपछि आमा बनेकी हुन् । तर बलिउडमा यो कुनै नौलो कुरा भने होइन श्रेया घोषाल भन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरुले ३५ वर्ष उमेर नाघेपछि आमा बनेका छन् । 

२. ऐश्वर्या राई 
सन् १९९४ को मिस वल्र्ड बिजेता तथा बलिउडको सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राईले ३४ वर्षको उमेरमा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । विवाहको ४ वर्षपछि ऐश्वर्याले छोरी आराध्यालाई जन्म दिएकी थिइन् । ऐश्वर्याले ३८ वर्षको उमेरमा मातृत्वको आनन्द लिएकी थिइन् । छोरी जन्मेपछि उनले केही समयको लागि बलिउड क्षेत्रबाट पनि विश्राम लिएकी थिइन् । तर, छोरी हुर्किएपछि ऐश्वर्या अहिले चलचित्रमा फर्किसकेकी छिन् । 

३. माधुरी दीक्षित 
बलिउडकी सुन्दर अभिनेत्री तथा डान्सर माधुरी दीक्षित पनि ३७ वर्षको उमेरमा पहिलो पटक आमा बनेकी थिइन् । यस्तै उनले ३९ वर्षको उमेरमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन् । 

सन् १९६७ मे १५ मा मुम्बईमा जन्मिएकी अभिनेत्री माधुरीले बलिउड क्षेत्रको धेरै प्रेम प्रस्तावका साथै धेरै सम्बन्धहरु अस्वीकार गर्दै सन् १९९९ मा डाक्टर श्रीराम नेनेसँग विवाह गरेकी थिइन् । थुप्रै हिट चलचित्रमा अभिनय गरिसकेकी माधुरी चाँडै नै नेटफ्लिक्सको फिल्म फाइन्डिङ अनामिकामा देखा पर्दैछिन् ।

४. रानी मुखर्जी 
लोकप्रिय बलिउड अभिनेत्री रानी मुखर्जी पनि ३८ वर्षको उमेरमा आमा बनेकी थिइन् । रानीले ३८ वर्षको उमेरमा छोरीलाई जन्म दिएकी थिइन् । उनले आफ्नी छोरीको नाम अदिरा राखेकी छिन् । रानीले सन् २०१४ मा आदित्य चोपडासँग विवाह गरेकी थिइन् । सन् १९७८ मार्च २१ मा जन्मिएकी रानी अहिले ४३ वर्षकी भइन् । 

थुप्रै बलिउड सुपरहिट चलचित्रहरुमा अभिनय गरिसकेकी रानी आफ्नो छोरीलाई भने मिडियाको नजरबाट टाढा राख्छिन् । 

५. करीना कपूर 
बलिउडकी निकै बोल्ड अभिनेत्रीको रुपमा परिचित करीना कपूर सन् २०१२ मा अभिनेता सैफ अली खानसँग विवाह बन्धनमा बाधिएकी थिइन् । विवाह भएको चार वर्षपछि अभिनेत्रीले पहिलो छोरा तैमूरलाई जन्म दिएकी थिइन् । तैमूरलाई जन्म दिदा करीना ३६ वर्षकी थिइन् । 

सन् १९८० सेप्टेम्बर २१ मा जन्मिएकी ४० वर्षीया करीना पहिलो सन्तानलाई जन्म दिएको चार वर्षपछि यहि वर्ष दोस्रो पटक आमा बनेकी छिन् । करिनाले दोस्रो सन्तानको रुपमा पनि छोरालाई जन्म दिएकी छिन् । 

६. शिल्पा शेट्टी 
बलिउड उद्योगमा फिट अभिनेत्रीको रुपमा परिचित शिल्पा शेट्टीले सन् २००९ मा व्यवसायी राज कुंद्रासँग विवाह गरेकी थिइन् । विबाहको लामो समयपछि शिल्पा ३८ वर्षको उमेरमा पहिलो पटक आमा बनेकी थिइन् । उनले पहिलो सन्तानको रुपमा छोरा भियानलाई जन्म दिएकी थिइन् । त्यसपछि शिल्पा ४४ वर्षको उमेरमा पुनः दोस्रो पटक आमा बनेकि थिइन् । उनले दोस्रो सन्तानको रुपमा छोरी शमीशालाई जन्म दिइन् । हाल, शिल्पा ४५ वर्षकी भइन् । 

७. नेहा धुपिया
सन् २०१८ मा अभिनेत्री नेहा धुपियाले अंगद बेदीसँग विवाह गरेकी थिइन् । विवाह गरेको केही महिनापछि नै अभिनेत्री नेहाले छोरीलाई जन्म दिइन् । छोरीलाई जन्म दिदा उनी ३७ वर्षकी थिइन् । सन् १९८० अगस्त २७ मा जन्मिएकी ४१ वर्षीय नेहाले आफ्नी छोरीको नाम मेहर धुपिया राखेकी छिन् । 

८. फराह खान 
बलिउडकी लोकप्रिय कोरियोग्राफर तथा निर्देशक फराह खान आईबीएफ प्रविधि प्रयोग गरेर ४३ वर्षको उमेरमा आमा बनेकी थिइन् । 

फराहले एकैचोटी तीन जना सन्तानलाई जन्म दिएकी थिइन् । उनले आफ्ना सन्तानको तस्बिर र भिडियोहरु सोसल मिडियामा सार्वजनिक गरिरहेकी हुन्छिन् । फराहले सन् २००४ मा आफूभन्दा ९ वर्षीय कान्छा शिरीश कुंदरसँग विवाह गरेकी थिइन्। हाल, उनी ५६ वर्षकी भइन् । 

Logo