‘म केही गर्छु’ लघुफिल्म प्रतियोगिता, प्रथमलाई २ लाख ५० हजार पुरस्कार

‘म केही गर्छु’ लघुफिल्म प्रतियोगिता, प्रथमलाई २ लाख ५० हजार पुरस्कार


राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघुफिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। 

विशेष गरेर कोरोनाको प्रभावसँगै भएको निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा आयोजक संस्थाको रहेको छ। 

यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

कोभिड–१९ को विश्वब्यापी महामारीको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्वयंसेवी भूमिका प्रभाबकारीरुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उद्देश्यप्रति संगठन क्रियाशील रहेको बताएका छन्। 

घोषित प्रतियोगितामा सहभागि फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्ने पनि आयोजकले जनाएको छ। 

प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्ने  र सहभागीले असार २५ सम्ममा उक्त स्क्रिप्ट [email protected] मा पठाइसक्नु पर्ने पनि आयोजकले जनाएको छ। 

Logo