युट्युबमा रमाइरहेका चर्चित नेपाली अभिनेत्रीहरू (भिडियोसहित)

युट्युबमा रमाइरहेका चर्चित नेपाली अभिनेत्रीहरू (भिडियोसहित)


सोसल मिडिया आफूलाई ‘इङ्गेज’ गराउने माध्यम मात्र होइन, कमाइको बाटोसमेत बनेको छ। ‘मनिटाइजेसन’ भएका युट्युब, फेसबुक, इन्स्टाग्राम आदिबाट अहिले मनग्गे कमाइ हुन थालेको छ।

यसैबीच, पछिल्लो समय नेपाली अभिनेत्री आफैं युट्युब च्यानल सञ्चालन गरेर कमाइ गर्न थालेका छन्। हुन त विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विगत १७ महिनादेखि नेपाली सिनेजगत धरासायी बन्न पुगेको छ। 

त्यही भएर अधिकांश नेपाली कलाकार अहिले आफ्नै युट्युब च्यानल सञ्चालन गरेर आफ्ना गतिविधि ‘अपडेट’ गर्नमै व्यस्त छन्। अचेल आफ्नै युट्युब च्यानल भएका कतिपय कलाकारले अरु मिडियालाई अन्तर्वार्ता दिनसमेत आनाकानी गरेको चर्चा सुनिन्छ। 

केही अभिनेत्री त अन्तर्वार्ता लागि मिडिया आउँदा भाग्छन् रे!

नभागून् पनि किन? आफ्नै च्यानलमा लाखौं भ्युज कमाइरहेका छन् उनीहरू। तसर्थ, आदरणीय दर्शकवृन्द, आज हामी आफ्नै युटुब च्यानलमा रमाइरहेका केही नेपाली अभिनेत्रीहरूका बारेमा चर्चा गर्न गइरहेका छौंः 

१. प्रियंका कार्की 
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रियता कमाएकी अभिनेत्री हुन् प्रियंका कार्की । गत वर्ष अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी उनी अहिले गर्भवती भएकी छिन्।

नेपालमा गत वर्ष कोरोना भाइरस महामारी सुरु हुनुभन्दा केही महिनाअगाडि मात्रै आफ्नो नामको युट्युब च्यानल सञ्चालनमा ल्याएकी  प्रियंकाले दुई वर्षको अवधिमै युट्युबबाट निकै लोकप्रियता कमाइरहेकी छिन्। उनले दुई वर्षको अवधिमा आफ्नो च्यानलमा २ लाख ९४ हजारभन्दा बढी ‘सब्सक्राइबर’ बनाइसकेकी छिन्। 

प्रियंकाले हालसम्म आफ्नो च्यानलमा ७२ वटा भिडियो सार्वजनिक गरेसकेकी छिन्। उनले सार्वजनिक गर्ने भिडियो कन्टेन्ट दर्शकहरूले निकै रुचाइरहेका छन्। प्रियंकाले गर्भवती भएपछि सार्वजनिक गरेको एउटा भिडियो १६ लाखभन्दा बढी पटक हेरिएको छ। 

यस्तै, उनले गत वर्षको लकडाउनदेखि विभिन्न प्रकारका खानेकुरा बनाउने तरिका (रेसिपी) ‘चप चप डायरी’ कार्यक्रम समेत सञ्चालनमा ल्याएकी छिन्। जसमा उनले विभिन्न क्षेत्रका सेलिबे्रटीहरुलाई आफ्नै निवासमा बोलाएर विभिन्न खालका खानेकुरा बनाएर खुवाउने गरेकी छिन्। प्रियंकालाई भिडियो बनाउनमा आफ्नो श्रीमान् आयुष्मानले साथ दिने गरेको देख्न सकिन्छ। 

प्रियंकाले पक्का पञ्जा, नाइ नभन्नु ल, हाउ फन्नी, कलिउड, चङ्गा चेट, प्रेम दिवसजस्ता दर्जनौं चलचित्र साथै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। 

२. ऋचा शर्मा 
हाल सञ्चालनमा रहेको नेपाली रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ की निर्णायक रहेकी अभिनेत्री ऋचा शर्मा अहिले आफ्नै युट्युब च्यानलमा रमाइरहेको देख्न सकिन्छ। नेपाली सिने जगतमा अब्बल अभिनय गर्ने अभिनेत्रीका रूपमा परिचित ऋचाले पनि दुई वर्ष अगाडि नै आफ्नो च्यानल सञ्चालनमा ल्याएकी थिइन्। 

ऋचा २०७६ साल मंसिरमा लबिम मलका म्यानेजर दिपेक्षविक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी थिइन्। ऋचाले विवाह भएको करिब एक वर्षपछि विवाहको भिडियो आफ्नो च्यानलमा सार्वजनिक गरिन्। तिनै भिडियोले ऋचाको च्यालनलाई दर्शकमाझ पुर्याउन सहयोग गर्याे। ७ महिनाअगाडि सार्वजनिक भएको ऋचाको उक्त भिडियो ११ लाखभन्दा धेरै पटक हेरिएको छ। 

ऋचाले हालसम्म आफ्नो च्यानलमा ४२ वटा भिडियो सार्वजनिक गरिसकेकी छिन्। आमा बन्न लागेकी ऋचाले हाल आफ्नी सासु आमासँग मिलेर विभिन्न प्रकारका खानेकुरा बनाएको भिडियो धेरै सार्वजनिक गरिरहेकी छिन्। यस्तै ऋचाले आफ्नो घर वरिपरिको दृश्य देखाएको भिडियो पनि दर्शकले निकै रुचाएका छन्। उनले आफ्नो विभिन्न गतिविधि युट्युबबाट सार्वजनिक गरिरहेकी छिन्। 

ऋचाले टलकजंग टुल्के, सुनकेसरी, भिसा गर्ल, मेरो लभ स्टोरी, फस्ट लभ, लुट २ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्।  

३. वर्षा राउत
पछिल्लो समय नेपाली दर्शकले निकै रुचाएकी अभिनेत्री वर्षा राउतले व्यवसायी तथा नायक संजोक कोइरालासँग २०७६ साल फागुनमा लगनगाँठो कसिन्। उनीहरुले ७ वर्ष लामो आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। विवाह बन्धनमा बाधिएपछि यी जाडीले पनि आफ्नो युटुयुब च्यानल सञ्चालनमा ल्याए। गत वर्ष ‘सन्शा’ नामको च्यानल सञ्चालनमा ल्याएका यो जोडीको च्यानल  दुई लाख ११ हजार बढी सब्सक्राइब भइसकेको छ। यो च्यानलमा ३१ वटा भिडियो सार्वजनिक गरिसकिएको छ। 

वर्षा र संजोक भिडियोमा प्रायः सँगै देखिने गरेका छन्। यी दुईले प्राय भ्लग भिडियो सार्वजनिक गरेका छन्। निकै रुचाइएको उनीहरुको  एउटा भिडियो २१ लाखभन्दा धेरै पटक हेरिएको छ। यस्तै, उनीहरुको १ मिलियनभन्दा धेरै हेरिएका भिडियोहरू थुप्रैछन्। 

४. रिमा विश्वकर्मा 
नेपाली सिने जगतकी प्रतिभाशाली अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले पछिल्लो समय नेपाली जनमानसमा छुट्टै छवि बनाएकी छिन्। चलचित्रबाट भन्दा पनि उनले नेपाली रियालिटी शोको होस्टबाट धेरै चर्चा कमाएकी छिन्। रिमाले चर्चित रियालिटी शो नेपाल आइडल तथा कमेडी च्याम्पियन सिजन १ र सिजन २ मा पनि होस्ट गरिरहेकी छिन्।

नेपाली दर्शकलाई मिठो बोलीले लोभ्याउने रिमाले त्यही मौका पारेर एक वर्ष अघि आफ्नै नामको युट्यूब च्यानल बनाएकी थिइन्। ६९ हजार सब्सक्राइब भएको उनको च्यानलमा ५२ वटा भिडियो अपलोड गरेकी छिन्। उनले आफ्नो च्यानलमा आफ्नो विभिन्न गतिविधिलाई भ्लग बनाएर पोस्ट गर्ने गरेकी छिन्। रिमाले दर्जनौं म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरेकी छिन्। 

५. करिश्मा मानन्धर 
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री करिश्मा मानन्धरलाई नचिन्ने सायदै कमै होलान्। करिश्मा नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन्। करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । पछिल्लो समय अभिनयबाट टाढा रहेकी उनी हाल भने आफ्नै युट्युब च्यानलमा रमाइरहेकी छिन्।

एक वर्षअघि आफ्नै नामको च्यानल सञ्चालनमा ल्याएकी उनले आफ्नो विभिन्न गतिविधि सार्वजनिक गर्ने गरेकी छिन्। ५४ हजार बढी सब्सक्राइब रहेको उनको च्यानलमा ८३ वटा भिडियो अपलोड गरिएको छ।
 
करिश्माले १४ वर्षको उमेरमै २०४२ सालमा चलचित्र सन्तानबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक विनोद मानन्धरसँग विवाह गरिन्। विवाहपश्चात् उनी चर्चाको शिखरमा पुगिन्। यसैकारण उनी करिश्मा केसीभन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । 

उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत प्राप्त गरेकी उनले दुई वर्षअघि मात्र एसईई उत्तीर्ण गरेकी थिइन्।

६. विपना थापा 
अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री विपना थापा पनि अहिले आफ्नै युट्युब च्यानलमा रमाइरहेकी छिन्। भारतीय व्यवसायीसँग विवाह बन्धनमा बाधिएकी विपना हाल अभिनय क्षेत्रबाट टाढै रहेकी छिन्। भारतमै बस्दै आएकी विपनाले ४ महिना अघिमात्र आफ्नो नामको युट्युब च्यानल सञ्चालनमा ल्याएकी थिइन्। छोटो समयमै ८८ हजार भन्दाबढी सब्सक्राइबर कमाएकी उनले ३७ वटा भिडियो अपलोड गरेकी छिन्। 

उनी आफ्नो च्यानलमा विभिन्न खानेकुरा बनाउने तरिका, परिवारसँगको रमाइलो घुमघामलाई भ्लग बनाएर अपलोड गर्ने गर्छिन् । 

विपनाले माइली, मितिनी, ममता, आफ्नो मान्छे, कहीँ मिलन कहीँ बिछोड, गाउँले, लगनगाँठोजस्ता दर्जनौं चर्चित चलचित्रमा अभिनय गरेकी छिन्। 

यस्तै, पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, निरुता सिंह लगायतका अरु अभिनेत्री पनि आफ्नै च्यानललाई लोकप्रिय बनाउन लागिपरेका छन्।

Logo