बलिउडका तीन खानलाई नफापेको वर्ष

बलिउडका तीन खानलाई नफापेको वर्ष


बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खानलाई ठूला कलाकारका रूपमा लिइन्छ। सन् २०१८ भने यी तीनै खानका लागि सुखद रहेन। उनीहरूले अभिनय गरेको फिल्मले समीक्षकको मन त जितेन, फिल्मले बक्स अफिसमा पनि कमाल देखाउन सकेन।

सो वर्ष सलमान अभिनित ‘रेस ३’ रिलिज भयो। अघिल्लो दुई सिरिज हिट भएकाले यो पटक सलमानको आगमनसँगै फिल्मले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको थियो। यद्यपि त्यसो भएन नै, ब्रान्डको साख पनि जोगाउन सकेन। इदको अवसरमा रिलिज भएको यो फिल्मले सलमानको लिस्टमा फ्लप फिल्म थप्नेबाहेक अरु काम गर्न सकेन।

यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ दीपावलीमा रिलिज भयो। फिल्म रिलिज अगाडि निकै चर्चा थियो, तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेन। फिल्मले फस्ट डे कलेक्सनमा रेकर्ड बनाए पनि आमिरले पछिल्लो समय पाइरहेको सफलतालाई भने जोगाउन सकेन। अर्थात् फिल्म फ्लप भयो। आमिर खानले माफी नै मागे। फिल्मलाई ‘धूम ३’ निर्देशक विजयकृष्ण आचार्यले निर्देशन गरेका थिए। 

शाहरुख खानले पनि आफूलाई सफल बनाउन सकेनन्। रांझानासँगै तनु वेड्स मनु सिरिज निर्देशन गरेका आनन्द एल राय निर्देशित फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भयो। तर, फिल्मको कलेक्सनलाई हेर्ने हो भने शाहरुखको खातामा अर्को फ्लप फिल्म थपियो।

फिल्मलाई न त समीक्षकले रुचाए, न त दर्शकले नै। केही वर्षयता निरन्तर असफल भइरहेका शाहरुखको निरन्तरतामा ब्रेक लागेन। सन् २०१८ मा तीनै खानले ठूलै हल्लाखल्लाका साथ फिल्म ल्याए पनि दर्शकले रुचाएको देखिएन। यसकारण पनि सन् २०१८ लाई खानलाई नफापेको वर्ष भन्न सकिन्छ। 

आगामी वर्ष सन् २०२२ मा चार वर्षपछि तीन खान एकसाथ तीन फिल्म लिएर आउँदैछन्। सलमानको टाइगर सिरिज, शाहरुखको स्पाइ थ्रिलर पठान र आमिरको लालसिंह चड्डा रिलिज हुँदैछ।न्युज कारखानाबाट

Skip This
Logo