सिनेमा घरमा आगलागीः २ करोड बराबरको क्षति, सञ्चालक घाइते

सिनेमा घरमा आगलागीः २ करोड बराबरको क्षति, सञ्चालक घाइते


सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो। हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो। त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए। आगो भित्रीरुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो।

हल सञ्चालक पर्शुराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुँवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए। उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए। उनी सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।न्युज कारखानाबाट

Logo