फिल्मनगरीकै शान भनिने व्यक्तित्वले मेराे पैसा खाइदिए: ओमप्रकाश अग्रवाल

फिल्मनगरीकै शान भनिने व्यक्तित्वले मेराे पैसा खाइदिए: ओमप्रकाश अग्रवाल


विश्वको फिल्मनगरीमा ओटीटीको दबदबा बढ्दो छ । हलमा छुटेका फिल्म मात्र होइन, ओटीटीमै रिलिज हुने फिल्मको संख्या पनि बढ्दो छ ।

पछिल्लो समय त ओटीटीले नै फिल्म पनि बनाइरहेको छ । यद्यपि नेपालमा भने युट्युबकै वर्चस्व छ । ओटीटी नभएका होइनन्, तर त्यहाँ स्तरीय कन्टेन्ट नहुँदा दर्शकको आकर्षण कम छ । तर, युट्युबमै फिल्म किनेर दर्शकसम्म पुर्‍याउनेलाई पनि सहज भने छैन । 

२०५७ सालदेखि फिल्मनगरीमा विभिन्न क्षेत्रमा रहेर काम गर्दै आइरहेका ओएसआर डिजिटलका म्यानेजिङ डिरेक्टर ओमप्रकाश अग्रवालले नेपाली फिल्मका निर्माता तथा निर्देशकहरूले गम्भीरता नदेखाउने गरेको गुनासो गरेका छन् । पछिल्लो समय नेपाली फिल्मका लागि राम्रो माध्यम मानिने ओएसआर डिजिटलमार्फत बजारमा पुगेको पेस्की उठ्नै मुस्किल परिरहेको उनीहरूको भनाइ छ । 

'फिल्मको डिजिटल राइट्स खरिद गरिएको हुन्छ र त्यसका लागि पेस्की पनि दिने गरेका छौँ तर त्यो फिल्म नबन्दा निर्माण कम्पनी सम्पर्कमा आउन छोड्ने गरेका छन्' ओमले भने । उनले फिल्म बन्ने घोषणा भएपछि दिएको पेस्की, गीतसङ्गीतका लागि दिएको पेस्की, निर्माता निर्देशकहरूलाई दिएको सापटी नउठ्ने समस्याले आजित भएको बताए । 

'मैले सहयोगी भावना राखेर फिल्मकर्मीलाई लचिलो भएर पेस्की दिने र केही व्यक्तिगत रूपमै नगद सहयोग गर्ने गरेको छु तर त्यसपछि फिल्मकर्मी सम्पर्कमै आउँदैनन्,' ओमले गुनासो गरे । फिल्म बनाउने भनेर सम्झौता गरिएका फिल्मकर्मीले समेत फिल्म नबनाउँदा समस्या परेको उनको भोगाइ छ ।

'मैले २०६३ सालमा मेरो भागको सम्पत्ति एक करोड ५६ लाख बेचेर यस क्षेत्रमा लगानी गरेको हुँ तर त्यसको प्रतिफल धोका मात्र पाउने गरेको छु,' ओमले भोगाइ सुनाए । आफूसँग प्रमाण हुँदा कारबाही किन गर्दैनन् त ? उनी भन्छन्, 'छलकपट गर्नेमा फिल्मनगरीकै शान भनिने व्यक्तित्व पनि छन् ।'

'हाम्रो क्षेत्रलाई असर गर्छ भनेर पनि मैले कानुनी कारबाही गरिरहेको छैन,' ओमले भने । यद्यपि उनी अब कानुनी उपाय अपनाउने तयारीमा छन् । 'मैले केही व्यक्तिको नाम सामाजिक सञ्जालमै तोकेर पनि सार्वजनिक गरेको छु । अब, एक पटक वार्निङ दिएर अगाडि बढ्छु,' ओमले न्युज कारखानासँग भने ।

उनले फिल्मकर्मीले इमानदारिता नदेखाउँदा काम गर्नै समस्या परेको गुनासो गरे । 'मलाई पैसा मात्र कमाऊ भन्ने नै छैन, तर यहाँ त काम गर्नै समस्या भइसक्यो,' उनले सुनाए । उनले फिल्म क्षेत्रमा प्रोफेस्नालिज्म निकै कम रहेकाले यस्तो समस्या आउने गरेको बताए । 

'यहाँ आफ्नो दायित्वलाई बहन नगर्दा हामी जस्तो बिजनेस गरेर यसै क्षेत्रमा मुनाफा लगाऊ भन्नेलाई काम गर्ने वातावरण नै छैन,' ओमले गुनासो गरे । केही समययता अधिकांश ठूला व्यानरसँग सहकार्य गरिरहेका ओमले कानुनी बाटोमार्फत नै अब अगाडि बढ्ने योजना सुनाए । न्युज कारखाना 

Logo