नेपाली चलचित्रमा तिहार

नेपाली चलचित्रमा तिहार


दीपावली  हाम्रो घर आँगनमा आइसकेको छ । हर्षोल्लासका साथ मनाइने यस पर्वलाई झिलिमिली तथा बत्तीको पर्वको रूपमा पनि लिइन्छ । उज्यालो पर्व दीपावलीको प्रसंगलाई फिल्ममा उल्लासकै रूपमा प्रस्तुत गरिन्छ । यद्यपि केहीमा दिदीबहिनीको गुनासो वा तिहारकै बेला आइपर्ने संकटलाई पनि समेटिएको छ । दिदीभाई, भाइटिका, दिदी, प्यारी बहिनी, मामाघर, निखिल दाइ , लक्ष्मीपूजा लगायतका फिल्महरूको शीर्षकबाटै दाजु बहिनी वा दिदी भाइ बीचको सम्बन्धसँगै महत्व बुझ्न सकिन्छ । दाजु बहिनी वा दिदी भाईबीचको सम्बन्धले नेपाली फिल्ममा ठूलै महत्व राख्दै आएको पाइन्छ ।

तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म अन्यायुमा लक्ष्मीपूजाको प्रसंगलाई समेटिएको छ । फिल्मका कलाकारहरू विश्व बस्नेत र मीरा माधुरीद्धारा लक्ष्मीपूजा गरेर बत्ती बालेर गीत गाउने र नृत्य गर्ने दृश्य देखाइएको छ । अधरमा आज उनकै छ बोलको गीत तिहारमा निकै रुचाइने गरिन्छ । यो फिल्मको गीतमा तिहारलाई राम्रोसँग चित्रण गरिएको छ । तिहारमा धेरै सुनिने गीत तिहारै आयो लै झिलिमिली मा अभिनेत्री गौरी मल्लको नृत्य देख्न सकिन्छ । शम्भु प्रधान निर्देशित फिल्म स्वर्गमा समावेश यो गीत पर्दामा देखिएको तिहारको एउटा स्मरणीय दृश्यको रूपमा लिन सकिन्छ । फिल्ममा गौरी मल्लले अर्जुन श्रेष्ठको दिदीको भूमिका निर्वाह गरेकी छिन् ।

कृष्टि मैनालीको दोहोरो भूमिका रहेको फिल्म लक्ष्मीपूजा पनि तिहारसँग जोडिएको महत्वपूर्ण फिल्म हो । यसमा लक्ष्मीपूजाकै दिन जन्मिएकी दुई दिदी बहिनीका रूपमा अभिनेत्री मैनालीले दोहोरो भूमिकालाई निर्वाह गरेकी छिन् । निर्देशक तुलसी घिमिरेकै सफल फिल्म चिनोमा तिहारको प्रसंगलाई मार्मिक रूपमा चित्रण गरिएको छ । यसै फिल्म मार्फत रातेकाइँलाको उपनाम पाएका सुनिल थापाले अभिनेता शिव श्रेष्ठको परिवारमा हमला गर्ने दृश्य राखिएको छ । उक्त दृश्यमा शिवका पिता बनेका केशव भट्टराईको हत्या हुन्छ । त्यहाँबाट ज्यान जोगाउन भाग्दा उक्त परिवारका सदस्यहरु छुट्टिन पुग्छन् । 

फिल्म विजय पराजयको निधारमा लर्काएर सप्तरंगी टिको गीत तिहारमा बज्ने गीतमध्ये एक हो । यस गीतको भिडियोमा भाईटिकाको विधि र महत्वबारे समेत वर्णन गरिएको छ । फिल्ममा बहिनी बनेकी रुपा राना र उनका दाईहरु भुवन केसी र कृष्ण मल्ल बनेका छन् । प्रहरी अधिकृत बनेका कृष्ण र अपराधी बनेका भुवन भाईटिकाको दिन बहिनीको हातबाट टिका थाप्न आउने प्रसङ्गलाई फिल्ममा प्रस्तुत गरिएको छ । यस्तै प्रसंग अमर रसाइली निर्देशित फिल्म धर्म समेटिएको छ । अपराधी सरोज खनाल र प्रहरी निरीक्षक दिदीको रूपमा कृष्टि मैनालीले अभिनय गरेको फिल्ममा दुवैले टिका लगाउने प्रसँगले भावुक पनि बनाउछ । 

यस्तै , कृष्ण चापागाई निर्देशित फिल्म निखिल दाईमा रेखा थापा अभिनेता निखिल उप्रेतीको बहिनीको भूमिकामा प्रस्तुत भएकी छिन् । यसमा बहिनी रेखामाथि संकट आइपर्दा दाजु निखिलले उद्धार गरेको कथा भन्छ । यसमा रेखाले निखिललाई भाइटिका लगाइदिएको दृश्यले दर्शकलाई भावुक बनाउँछ । नेपाली फिल्म दिदीमा मिथिला शर्माले शिर्ष भूमिका निर्वाह गरेकी छिन् । अभिनेत्री शर्माले दिदी आफ्ना भाइ बहिनीहरूको पालन पोषणमा जिन्दगी नै समर्पण गरेकी ममतामय दिदीको भूमिका निर्वाह गरेकी छिन् । 

Logo