अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का अवसरमा फोटो प्रदर्शनी

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का अवसरमा फोटो प्रदर्शनी


काठमाडौँमा आयोजना हुन गइरहेको १९ औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्वसन्ध्यामा काठमाडाैंमा जलवायु परिवर्तन सम्बन्धि तस्विर तथा चित्रकला प्रदर्शनी गरिएको छ। 

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको उक्त प्रदर्शनीको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले शुभारम्भ गरे। प्रदर्शनीको शुभारम्भ गर्दै कार्यकारी प्रमुख रेग्मीले किम्फ २०२१ को सन्दर्भमा आयोजना गरिएको प्रदर्शनीले जलवायु परिवर्तनले पारेको असरका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै यो अवसरमा आयोजना हुने फिल्म महोत्सवले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए। ‘नेपालको पहिचान हिमालसँग जोडिएको छ। यससँग सम्बन्धित चलचित्र प्रदर्शनीले नेपालको हिमाल र समग्र विश्व परिवेशका बारेमा हिमालका बारेमा,जलवायुपरिवर्तनका बारेमा सकारात्मक सन्देश फैलाउन सघाउ पुग्नेछ।’ उनले भने। 

प्रदर्शनीले स्थानीय र विश्वव्यापी रूपमा अनुभव भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूलाई कम गर्न के गर्न सक्छौं भन्ने विषयमा सोच्न उत्प्रेरित गर्ने किम्फका फेस्टिवल डाइरेक्टर रमियता लिम्बुले जानकारी दिए। किम्फले आफ्नो महोत्सव उपशीर्षक ‘जलवायु कर्म’ का माध्यमबाट मानिस र वातावरणसँग सम्बन्धित विभिन्न तस्विर प्रदर्शनीमा राखेको छ। यस्तै किम्फ फेस्टिवल अन्तर्गत चलचित्र विकास बोर्डको सभाकक्षमा दर्शकहरूको प्रत्यक्ष उपस्थिति र अनलाइनमा गरी  डकुमेन्ट्री, फिक्शन, प्रयोगात्मक, शर्ट फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रहरू देखाइने उनले जानकारी दिए। 

मङ्सीर २३ गतेदेखि २७ गतेसम्म, ( २०२१ डिसेम्बर ९ देखि १३)सम्म आयोजना हुने किम्फको उद्घाटन समारोहमा लद्दाखका पर्यावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण रहने तथा अमेरिकी फिल्ममेकर काइल रुडिकद्वारा निर्देशित फिल्म “ड्रीम माउन्टेन“ को प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्। 

यस वर्ष किम्फ र युरोपेली संघ संद्वारा नेपाली फिल्म निर्माताहरूका लागि ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ शीर्षक छोटा फिल्महरूको प्रतियोगिता प्रस्तुत गरिने भएको छ। किम्फ २०२१ को निर्णायक मण्डलमा स्विट्जरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्विट्जरल्याण्डकी पत्रकार तथा चलचित्र निर्माता क्यारोलिन फिङ्क र नेपाली थिएटर कलाकार तथा निर्देशक अनुप बराल रहेका छन्। 

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट तीन वटा चलचित्र (छानिएका ४० वटा चलचित्र मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्शन चलचित्र (छानिएका १३ वटा चलचित्र मध्येबाट) को निर्णय गर्ने बताइको छ। 

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल पर्वतारोहण संघले रू २ लाख, हिमालय इन्टरनेशनल माउन्टेन फिल्म अफ चाइनाले १ लाख ५० हजार र फ्रेडी–उर्सुला वोहल्वेन्डले १ लाख, राशीको पुरस्कार प्रदान गर्नेछन्। यस्तै किम्फमा नेपाल पानोरमा उत्कृष्ट वृत्तचित्रका लागि नेपाल चलचित्र विकास बोर्डले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मका लागि मिला प्रोडक्सनले रु १ लाख र इसिमोडले उत्कृष्ट माउन्टेन फिल्म अवार्डका लागि एक हजार अमेरिकी डलरको पुरस्कार प्रायोजित गरिएको किम्फले जानकारी दिएको छ। 

Logo