सूर्यवंशी सुपरहिट, तर त्यसपछिका बलिउड फिल्मकाे व्यापार किन ओरालाे ?

सूर्यवंशी सुपरहिट, तर त्यसपछिका बलिउड फिल्मकाे व्यापार किन ओरालाे ?


कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रुपमा २ सय ५० करोड बढी व्यापार गर्‍याे तर यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडसम्मको आँकडालाई छुन पाएनन्। एकपछि अर्को गर्दै लगातार ५ फिल्म फ्लप भए। जसमा अभिनेता सलमान खानको फिल्म ‘अन्तिम’ पनि परेको छ।

फिल्म फ्लप हुनुको प्रमुख कारण थिएटरमा कम दर्शक आउनु र ओमिक्रोन भाइरसको डर पनि हो। बलिउडमा अहिले ओटीटी, हलिउड र दक्षिण भारतीय फिल्म प्रदर्शनको चाप बढ्दो छ। यस्तो अवस्थामा निर्माताले साना फिल्मको विषयगत रणनीति बद्ल्न सकेनन्।

थिएटरले पनि सबै फिल्मको टिकटको मूल्य कम गरेनन्। यही अवस्था रहने हो भने बलिउडमा अझैं संकटको बादल छाइरहने व्यापार विश्लेषकको बुझाई छ।

फिल्म ‘सूर्यवंशी’को आक्रामक व्यापारले बलिउडको बक्सअफिसलाई पुनः जीवित बनायो। तर त्यसपछि आएका सलमान खान, सैफ अली खान र जोन अब्राहमजस्ता स्टारको फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’ जस्तो आक्रामक व्यापार गर्न सकेन। अर्थात् ‘सूर्यवंशी’बाहेकका फिल्मले केवल औषत व्यापार मात्र गरे। बलिउडमा ‘क्लासको होइन, मासको फिल्म चल्छ’ भन्ने भनाई छ । तर यसपटक ‘मास’लाई अपिल गरेर रिलिज गरिएको फिल्महरु नराम्रो पछारिएका छन्।

फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जौहर आम दर्शक स्मार्ट बनेको स्वीकार्छन्। ‘सूर्यवंशी’पछि रिलिज भएका फिल्महरु पहिलो दुई, तीन दिनसम्म राम्रो चले पनि त्यसपछिको व्यापार खस्किएको छ। अहिलेका दर्शकहरु स्मार्ट प्रविधिमा फिल्म हेर्न चाहेकाले पनि रिलिज फिल्मले आफूलाई त्यस अनुकुल ढाल्न नसेको जौहरको बुझाई छ।

जौहरले मध्यम बजेटको फिल्म असफल हुनु उद्योगका लागि ठूलो खतरा साबित भएको बताए । उनका अनुसार यही फिल्मले उद्योगको पाङ्ग्रा घुमाउछन्। एक वर्षमा ठूला बजेटका फिल्म बढीभन्दा बढी १० या १२ को संख्यामा आउन सक्छन्। तर मध्यम बजेटको फिल्मको संख्या वार्षिक रुपमा ३० देखि ३५ को हाराहारीमा रहन्छ। अधिकांश थिएटरको आर्थिक पूर्ती गर्ने काम यिनै कम बजेटका फिल्मले गरेका हुन्छन्। 

ठूला फिल्म तीनदेखि चार हजार स्क्रिनमा रिलिज हुन्छन् र बढीमा दुई सातासम्म थिएटर कब्जा गर्न सक्लान्। साना फिल्म कम संख्यामा स्क्रिनमा आउँछन् र कैयौं सातासम्म थिएटरको व्यापारलाई जीवित राख्छन्। व्यापार विश्लेषकहरु विषयबस्तु र वितरण रणनीति, यी दुवै हिसाबले यी फिल्मलाई वेवास्ता गर्नु गलत रहेको बताउँछन्।

गिरिशका अनुसार मध्यम बजेटको फिल्मको संकटलाई कम गर्ने एकमात्र उपाय भनेको टिकट दरमा कटौती नै हो। टिकट दर कटौतीमा मल्टीप्लेक्स चेन लचक हुनुपर्ने उनको भनाई छ । किनकी यिनीहरु फिल्म थिएटर बिजनेसको मेरुदण्ड हुन्। गिरिश अहिलेको तुलनामा टिकटको मूल्य अझ बढ्यो भने मानिसहरु थिएटर आउनुको साटो ओटीटी प्लेटफर्ममा फिल्म रिलिज पर्खिने दाबी गर्छन्। ‘मानिसहरुको मनोरञ्जनको शैली फेरिएको छ, यो कुरालाई उद्योगले भुल्नु हुँदैन’, गिरीश भन्छन् ।

फिल्म फाइनेन्स कन्सल्टेण्ट सञ्जय भण्डारी ओटीटीले विषयबस्तु र कलाकारको दुई मोर्चा खोलेको बताउँछन्। उनका अनुसार आम दर्शकले डबिङ या सब टाइटलका माध्यमबाट तमिल र तेलुगु मात्र नभई दक्षिण कोरियाको राम्रा कथाबस्तु हेरिसकेका छन्। उद्योगले सानो सहर या बी र सी ग्रेड लक्षित दर्शकको बद्लिएको फिल्मी स्वादलाई नजर अन्दाज गर्न नसकेको सञ्जयको दाबी छ।

सञ्जयका अनुसार अहिलेका दर्शक कास्ट सेन्सिटिभ छन्। एक फिल्म हेर्ने खर्चलाई उनीहरुले ओटीटीको एक वर्षको ग्राहक बन्न खर्च गर्छन्। परिवार र साथीभाईमाझ अलग–अलग ओटीटीको पासवर्ड दिन सकिन्छ । किनकी उनीहरुलाई थिएटरमा रिलिज भएको फिल्म पाँच सातामा ओटीटीमा आउछ भन्ने थाहा हुन्छ ।

बलिउडमा स्पोर्ट्स ड्रामा ‘८३’, दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘पृथ्वीराज’ जस्ता फिल्म रिलिजको पाइपलाइनमा छन् । यी फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने बुझाई छ। बलिउडको बक्सअफिसको सही मूल्यांकन यसै महिना ‘जर्सी’ र आगामी महिना ‘शाबास मीठु’, ‘बधाई दो’ र ‘अट्याक’ जस्ता मध्यम बजेटको फिल्मले गर्ने दाबी गरिएको छ।एजेन्सी

Logo