गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा

गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा


एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्किएका छन्।

डा. रिजाल ह्यारीकि प्यारी ( Haary Ki प्यारी) नामक रोमान्टिक कमेडी फिल्ममार्फत पुनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमबार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैछन्। 

लण्डनको दन्त चिकित्सा क्षेत्रमा साँढे दुई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्म भने ह्यारीकि प्यारी उनको डेब्यु फिल्म हो।

निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ। उनका अनुसार युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको थियो भने खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ। पर्वत पुगेर पनि र्यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको छ। डा. कपिलले फिल्म पूरै पारिवारका साथ बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण हुने प्रष्ट्याए।  

सुटिङ शुरु गर्नु अघि जितु नेपाल र विजय बरालले मुहुर्त सट दिएका थिए। फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिने छन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारले यसमा अभिनय गर्दैछन्।

फिल्म डा. भोला रिजालको बिआर प्राेडक्सनको व्यानरमा निर्माण भइरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहनेछ। फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यु निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।

Logo