हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण


ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एकान्त स्थानमा सवारी पार्किङ गर्दा बढी चोरी हुने तथा हराउने गरेको बताउँदै पार्किङ गर्दा विशेष ख्याल राख्न चालकलाई आग्रह गरे। “मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना सङ्कलन भइरहेको छ, मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिमाथि महाशाखाले विशेष टोली खटाएको छ”, उनले भने।

महाशाखा प्रमुख जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउँदै पार्किङ गर्दा सवारी चालक विशेष चनाखो र सजग हुनुपर्ने बताए। उपत्यकाबाट हराएका मोटरसाइकल मध्ये सबैभन्दा धेरै पल्सर बाइक हराउने गरेको महाशाखाले जनाएको छ। महाशाखाले मोटरसाइकल हराउने वित्तिकै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरेर टिपाउन वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा अनलाइनमार्फत निवेदन दिनसमेत आग्रह गरेको छ। 

Logo