बाँके,१६,मंशिर
श्रीमानसँग पाँच रुपैयाँ मागेर सहकारीमा बचत गर्न सुरु गरेका राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाख देखि डेढलाख रुपैयाँ कमाउन थालेका छन् । "/>

पाँच रुपैयाँ बचत गर्न नसक्ने महिलाले कमाउन थाले वार्षिक डेढ लाख

पाँच रुपैयाँ बचत गर्न नसक्ने महिलाले कमाउन थाले वार्षिक डेढ लाख


बाँके,१६,मंशिर
श्रीमानसँग पाँच रुपैयाँ मागेर सहकारीमा बचत गर्न सुरु गरेका राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाख देखि डेढलाख रुपैयाँ कमाउन थालेका छन् । व्यवसायिकरुपमा बाख्रा पालन गर्न थालेपछि उक्त वडाका महिलालाई घर व्यवहार, बचत र पकेट खर्चका लागि परिवारका मुलीसँग हात थाप्नु पर्ने बाध्यता हटेको छ । ६ वर्ष अघि स्थानीय १ सय १२ जना महिला संगठित भएर सहकारी संस्था स्थापना गरेपछि यहाँका गृहिणी महिलाको आर्थिक उपार्जनमा सुधार आएको हो । आफैंले स्थापना गरेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३० हजार ऋण लिएर चार वटा बाख्रा खरिद गरि व्यवसाय संचालन गरेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्न थालेको राप्ती–सोनारी गाउँपालिका–७, लालपुरकी कौशीला बुढा क्षेत्रीले बताइन् ।

उनले एक वर्षको अवधिमा १५–२० हजार रुपैयाँका दरले १० वटा खसी विक्री गरेको बताइन् । उनले बाख्रा पालन व्यवसाय सुरु गरेपछि घर खर्च र मासिक बचत र आफूलाई चाहिने श्रृंगारका सामान किनमेल गर्नका लागि श्रीमानसँग रकम माग्नु नपरेको बताइन् । राप्ती–सोनारी गाउँपालिका–७, शान्तिपुरकी विमला शाही पनि घर खर्च र मासिक बचतका लागि आफैंले आम्दानी गर्न सक्ने भएकी छन् । तेल, नुन किन्नका लागि पतिसँग पैसा माग्नु पर्ने दिन गएको उनले बताइन् । उनले आफ्नो लागि आफैं कमाउन सक्ने भएपछि घर व्यवहार चलाउन सजिलो भएको बताइन् । ‘एक पत्ता टिका किन्न समेत श्रीमानको मुख ताक्नु पर्ने बाध्यता थियो, बाख्रा विक्री गरेर आम्दानी गर्न थालेपछि लत्ताकपडा समेत किन्न कसैको मुख ताक्नु पर्दैन,’ शाहीले भनिन् । बाख्रा विक्री गरेर वार्षिक एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाइन् । उनले बरु अहिले पकेट खर्चका लागि पुरुषहरुले महिलासँग रकम माग्न थालेको बताइन् ।
नयाँपत्रिकाबाट

Logo