साझाका महाप्रबन्धकविरुद्ध अख्तियारमा उजुरी

साझाका महाप्रबन्धकविरुद्ध अख्तियारमा उजुरी


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ साउन ।

साझा प्रकाशनका कर्मचारीले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि आवश्यक छानविन गरी कारवाही गर्न माग गर्दैै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।

भ्रष्टाचारको आरोप लाग्दै आएका महाप्रबन्धक शर्माले अख्तियारीको दुरुपयोग गरेको दर्जन बढी प्रमाण सहित साझा प्रकाशनका ३१ जना कर्मचारी अख्तियारमा उजुृरी गर्न पुगेका हुन् । साझा प्रकाशन कर्मचारी संघका अध्यक्ष हरिभद्र घिमिरेको नेतृत्वमा बुधबार टंगालस्थित आयोग परिसर पुगेका कर्मचारीले तत्काल साझा प्रकाशनका काजगात नियन्त्रणमा लिई अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई कारवाही गर्न माग गरे ।

अर्थमन्त्रालयको दायित्व बढाउन नपाइने निर्देशन विपरीत ८८ कर्मचारी नियुक्त गरेको, अर्कैको नाममा सम्झौता गरी ‘सबैको नेपाली’ पुस्तक आफ्नो प्रेस समिसममा लगि मुद्रण गरेको तथा संस्थामा १ लाख १५ हजार मात्रै ल्याई आर्थिक अपचलन गरेको, ती पुस्तक अक्सफोर्ड र गणेश इन्टरनेसनलबाट बिक्री–वितरण हुँदै आएको तथा समिसम मुद्रणालयलाई बेचेको देखाई अल्पाइन अफसेट प्रेस बनाइएको, संस्थाबाट पुरानो वेभ मेसिन अपारदर्शी प्रक्रियाबाट साझा प्रकाशनमा ल्याइएको प्रमाण कर्मचारीले अख्तियारमा पेस गरेका छन् ।

सबैको नेपाली पुस्तक प्रकाशन र वितरणमा प्रक्रिया मिचेर आर्थिक अपचलन गरेको, सरकारबाट ल्याएको ३० करोड ऋण नतिरी जथाभावी खर्च गरिएको, साझा प्रकाशनकै छापाखानाबाट मुद्रण गरिएको पुस्तकको छपाइ खर्च बापत दुई करोड रुपैयाँ परोक्ष संलग्न रहेको संस्था अल्पाइन प्रेसलाई भुक्तानी दिइएको लगायत दाबी गर्दै सबैको प्रक्रिया र निर्णयका प्रमाण कर्मचारीले अख्तियारलाई बुझाएका छन् ।

कर्मचारीले अक्सफोर्ड पब्लिकेसन र समिसम प्रकाशनका संचालक समेत शर्मा रहेको भन्दै समान प्रकृतिको संस्थाका सञ्चालकलाई साझा प्रकाशनमा पदाधिकारी बन्न नियमावलीको नियम ३८ को ४ बमोजिम विपरीत भएको दाबी समेत गरेका छन् । केही दिन अघि संस्करण र मूल्य भिन्न भएका सबैको नेपाली पुस्तक बाहिर छापेर साझामा लैजाँदै गर्दा कर्मचारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

साझा प्रकाशनमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ भने व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सम्पूर्ण काजगात पेस गर्न निर्देशन दिएको छ ।

 

Logo