सम्बन्ध विच्छेद गरेका बलिउडका यी आठ दम्पति(भिडियोसहित)

सम्बन्ध विच्छेद गरेका बलिउडका यी आठ दम्पति(भिडियोसहित)


विवाह त्यस्तो सम्बन्ध हो, जसले दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्ने गर्छ । सामाजिक, धार्मिक तथा कानूनीरुपले गरेको विवाह मान्य हुने गर्छ । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया पनि हो । तर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा भने सफल हुन सक्दैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद, आशंका, अविश्वास र चरम महत्वकांक्षाले गर्दा दम्पतिहरु सम्बन्ध विच्छेदसम्म पुग्ने गर्छ । यस्तै बलिउड क्षेत्रमा पनि नाम चलेका धेरै कलाकारहरुले डेढ दशक भन्दा बढी समय वैवाहिक जीवनसँगै बिताएर पनि अलग भएका छन्: को को हुन् ती कलाकारहरु ?

१. सैफ अली खान–अमृता सिंह 
पटौदी परिवारका नवाबजादे बलिउड अभिनेता सैफ अली खानले सन् १९९१ मा त्यस समयकी लोकप्रिय अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । छोटो समयको चीनजानमै विवाह बन्धनमा बाँधिएका यी दम्पतिको सम्बन्ध धेरै वर्ष टिक्न सकेन । विवाह बन्धनमा बाँधिएको १३ वर्षपछि सन् २००४ मा यो दम्पतिले अलग हुने निर्णय गरेका थिए । सैफ र अमृताका दुई सन्तानहरु पनि छन् । छोरी सारा अली खान र छोरा इब्राहिम खान हुन् । 

अमृतासँग अलग भएको ८ वर्षपछि सन् २०१२ मा सैफ अली खानले अभिनेत्री करिना कपूरसँग दोस्रो विवाह गरेका छन् । अमृतासँग छुट्टिनुको कारणबारे सैफले एउटा अन्तर्वार्तामा भनेका थिए, कसैलाई पनि आफ्नो परिवारको बारेमा अपमानजनक कुरा सुन्न मन पर्दैन, त्यसैले म उनीसँग छुट्टिए । 

२. मलाइका अरोडा–अरबाज खान 
मलाइका अरोडाले १२ डिसेम्बर सन् १९९८ मा अभिनेता अरबाजसँग विवाह गरेकी थिइन् । यो दम्पति विवाह हुनु पूर्व पनि ५ वर्ष लामो प्रेम सम्बन्धमा बसेका थिए । लामो समयसँगै दम्पति बनेर बिताएका यो जोडीले विवाह भएको १९ वर्षपछि भने सम्बन्धलाई निरन्तरता दिन सकेनन् । तसर्थ यो जोडीले सन् २०१७ मा एक अर्काबाट अलग हुने निर्णय गरे र सम्बन्ध बिच्छेद मार्फत आफ्नो बैवाहिक सम्बन्धलाई पूर्णबिराम लगाए । उनीहरुको यस निर्णयले सबै जना आश्चर्यचकित भएका थिए । मलाइका र अरबाजको १८ वर्षे एक छोरा पनि छ । जसको नाम अर्हान खान हो । अरबाज चर्चित बलिउड अभिनेता सलमान खानका भाई हुन् । हाल, अरबाज एक मोडलसँग प्रेम सम्बन्धमा छन् । मलाइका भने अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन् । 

३. ऋतिक रोशन–सुसान खान
एक समय बलिउड उद्योगमा ऋतिक रोशन र सुसान खानको जोडी सबैभन्दा राम्रो जोडीको रुपमा जमेकोे थियो । यो दम्पती एक अर्काबाट अलग हुनु सबै दर्शकको लागि ठूलो चोट थियो । सन् २००० मा विवाह बन्धनमा बाँधिएको यो दम्पतिले विवाहको १४ वर्षपछि सन् २०१४ मा आपसी सहमतिबाटै सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका थिए ।

केही सञ्चारमाध्यमहरुले उनीहरुको सम्बन्ध विच्छेदका कारण अर्जुन रामपालसँग सुसानको बढ्दो करीवता भएको उल्लेख गरेका छन् । तर सम्बन्ध बिच्छेदपछि पनि यो दम्पतीले सँगै समय बिताएको देखिन्छ । ऋतिक र सुसानका २ छोराहरु छन् । त्यसैले दुबै बच्चाहरुको खातिरसँगै हुन्छन् । २०२० को लकडाउनमा पनि उनीहरुसँगै देखिएका थिए । 

४. आमिर खान–रीना दत्ता 
बलिउडका मिस्टर परफेक्शनिस्ट भनिने आमिर खानले सन् १९८६ मा रीना दत्तासँग लगनगाँठो कसेका थिए । तर दुईको वैवाहिक जीवन १६ वर्षमै टुङ्गिन पुग्यो । सन् २००२ मा आमिर खानले पत्नी रीनासँग सम्बन्धविच्छेद गरेका थिए । उनीहरुको जुनिद र ईरा नाम गरेका दुई बच्चाहरु पनि छन् । 

पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेपछि आमिरले आफ्नो फिल्म लगानका सहायक निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका छन् । किरण र आमिरको एक छोरा पनि छ । छोरोको नाम आजाद राखिएको छ । 

५. अर्जुन रामपाल–मेहर जेसिया 
बलिउड अभिनेता अर्जुन रामपालले सन् १९९८ मा पूर्व मिस इण्डिया तथा सुपर मोडल मेहर जेसियासँग विवाह गरेका थिए । अर्जुन रामपाल र मेहर जेसियाका दुई छोरीहरु छन् । 

विवाहको २० वर्षपछि यो दम्पतीले सन् २०१८ मा एक अर्कासँग छुट्टिने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ मा दम्पतिको बान्द्रा फेमिली अदालतबाट सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद हुनु अधि नै अर्जुन रामपालले उनकी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स आमा बन्न लागेको घोषणा गरेका थिए । सम्बन्धविच्छेदको केही समयपछि नै उनको छोरा जन्मिएको थियो । 

६. करिश्मा कपूर–संजय कपूर 
करिश्मा कपूर जो एक समय बलिउडकी सबैभन्दा लोकप्रिय अभिनेत्री हुन् । करिश्माले सन् २००३ मा व्यवसायी संजय कपूरसँग विवाह गरेकी थिइन् । दम्पतिको समिरा र किआनराज नाम गरिएका दुई सन्तान छन् ।  

तर विवाहको केही वर्षपछि नै यो दम्पतिको सम्बन्धमा फाटो आउन थालेको थियो । सोही अनुरुप सन्  २०१४ मा दम्पतिले आपसी सहमतिबाटै सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । अन्ततः त्यसको दुई वर्षपछि दम्पतिको सम्बन्ध विच्छेद भयो । यद्यपी संजयसँग विवाह गर्नु भन्दा अघि पनि करिश्माले अभिनेता अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरेकी थिइन् तर, उनीहरुको इन्गेजमेन्ट विवाहमा परिणत नभई टुटेको थियो । 

७. फरहान अख्तर–अधुना
बलिउड अभिनेता तथा चलचित्र निर्माता फरहान अख्तर सन् २००० मा मोडल अधुनासँग विवाह बन्धनमा बाँधिएका थिए । तर विवाहको १६ वर्षपछि दम्पतिले छुट्टिएर बस्ने निर्णय गरेका थिए र सन् २०१७ मा दम्पतिले सम्बन्ध विच्छेद गरे । हाल, फरहान अख्तर मोडल शिबानी दाडेकरसँग प्रेम सम्बन्धमा छन् । भारतीय सञ्चारमाध्यमले फरहान र पे्रमिका शिवानीसँग छिट्टै विवाह गर्ने समेत जनाएका छन् । 

८. हिमेश रेशमिया–कोमल 
लोकप्रिय गायक तथा संगीतकार हिमेश रेशमियाले विवाह भएको २२ वर्षपछि पत्नी कोमलसँग सम्बन्ध विच्छेद गरेका थिए । हिमेश र कोमलले सन् १९९५ मा विवाह गरेका थिए तर विवाह भएको २१ वर्ष पुग्दा दम्पतिले सन् २०१६ मा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए । मुद्दा दर्ता भएको ठिक एक वर्षपछि सन् २०१७ मा बान्द्राको फेमिली अदालतबाट दम्पतिको सम्बन्ध विच्छेद भएको थियो। पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भएपछि हिमेशले सोनिया कपूरसँग दोस्रो विवाह गरेका छन्। 

Logo