रत्ननगर महोत्सव पुस २५ गतेदेखि

रत्ननगर महोत्सव पुस २५ गतेदेखि


चितवन ।

भ्रमण वर्षको सङ्घारमा पूर्वीचितवनमा रत्ननगर महोत्सव, ०७६ हुने भएको छ । रत्ननगरको टिकौलीमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरले महोत्सवको आयोजना गरेको हो । महोत्सव मूल आयोजक समितिले विहिबार सौराहामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक राजाराम रेग्मीले महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन ५०० स्टल रहने जानकारी दिनुभयो ।

महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिँचाइ प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिन लागिएको जनाइएको छ ।

जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोक सांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने भएको छ । मेलामा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड हाराहारीको कारोवार हुने अपेक्षा गरिएको महोत्सवको आर्थिक समितिका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।

महोत्सव सभ्य र भव्य बनाउन मूल समिति, स्टेयरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो । विगतमा जस्तै महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा ‘फुड फेष्टिबल’ र ‘चिकेन एण्ड एग फुड फेष्टिबल’को आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जेसिज महाधिवेशन पुस ९ देखि

रत्ननगर जेसिजको आतिथ्यतामा आगामी पुस ९ गतेदेखि १२ गतेसम्म रत्ननगरमा राष्ट्रिय महाधिवेशन हुने भएको छ । भ्रमण वर्ष सन २०२० को सङ्घारमा पर्यटकीय क्षेत्रमा महाधिवेशन हुन लागेको हो । देशभरबाट तीन हजारको उपस्थिति रहने महाधिवेशनमा ७७ जिल्लाका १५१ वटा जेसिजको शाखाबाट प्रतिनिधि आउँदैछन् ।

महाधिवेशन तयारी समितिका महासचिव निरज श्रेष्ठका अनुसार राष्ट्रिय अध्यक्ष एक, कार्यकारिणी उपाध्यक्ष चार, १२ उपाध्यक्षसहित कार्यसमिति चयन गर्नेछ । अध्यक्षका लागि चितवनका अरुणेश्वर खनालसहित चार, कार्यकारिणी उपाध्यक्षमा १२ र उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनका लागि रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

Logo