काभ्रेका किसानको समस्या समाधानका लागि किसान आयोगको अभियान

काभ्रेका किसानको समस्या समाधानका लागि किसान आयोगको अभियान


काभ्रे

किसानको वास्तविक समस्या बुझ्न राष्ट्रिय किसान आयोगले स्थलगत अनुगमन अभियान थालेको छ ।

अभियान अन्तर्गत आयोगका विज्ञ सदस्य उदयचन्द्र ठाकुर, मीना तामाङ लगायतको एक टोलीले शुक्रबार काभ्रेका विभिन्न स्थानका किसानसँग छलफल गरी समस्या सङ्कलन गरेको छ । टोलीले बनेपा नगरपालिकाको नाला, पनौती नपाको पनौती र पाँचखाल नपाको श्रीरामपाटीका किसानसँग उनीहरुको खेतबारीमै स्थलगत रुपमा कृषि उपज अनुगमन गरी समस्या सङ्कलन गरेको हो ।

आयोगका विज्ञ सदस्य ठाकुरले आजबाटै काभ्रे र चितवनका किसानको समस्या बुझ्न अभियानको थालनी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको समस्या बुझ्न स्थलगत अभियान नै शुरुआत गरेका छौँ, अब जहाँ किसान समस्यामा पर्छन् आयोग टोली पुगिहाल्छ ।”

आयोगका अर्का सदस्य तामाङले अभियानमा पाइएको किसानका समस्याको प्रतिवेदन कृषि मन्त्रालयमा जानकारी गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल देखिएको समस्या अनुगमन अभियानसँगै आयोगको अनुगमन टोली देशैभर किसानको समस्या बुझ्न खटेका छन् ।”

आयोगको छलफल कार्यक्रममा बनेपा नपा–४ नालाका किसान पुरुषोत्तम सापकोटाले काभ्रेको तरकारीमा विषादी छ भनेर गलत प्रचार गरी विचौलियाले सस्तोमा खरीद गर्ने गर्दा किसानको उत्पादन लागत पनि लिन नसकेको बताउनुभयो । पनौतीका किसान सीताराम भट्टराईले व्यावसायिक किसानलाई मात्रै अनुदान दिई उत्पादन लागत कम हुने प्रविधि ल्याउन अनुरोध गर्नुभयो ।

पाँचखालका किसान कल्याण रायमाझीले इँट्टा उद्योगका कारण तरकारी बाली बिग्रिएकाले आफ्ना तरकारी बिक्री हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचखालको प्रदूषित तरकारी बजारको मूल्यभन्दा आधामा बेच्न पनि निकै कठिन छ, यहाँका किसानको तरकारीले बजार मूल्य पाउन इँट्टा उद्योग हटाउनुको विकल्प छैन ।”
रासस

Logo