प्राधिकरणमा कुलमानको नियुक्तिका लागि चौतर्फी दबाब, कसले के भने ?

प्राधिकरणमा कुलमानको नियुक्तिका लागि चौतर्फी दबाब, कसले के भने ?


काठमाडौं ।

विगत ४ वर्षदेखि चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा थप चुलिएको छ ।

राम्रो कामका साथ सधैं चर्चामा रहेका कुलमान घिसिङ फेरि एकपटक चर्चामा छन् । २०७३ को भदौमा चार वर्षका लागि कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका घिसिङको कुशल व्यवस्थापनले देशमा दैनिक १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएको छ । उनले सामान्य रुपमा गरेको व्यवस्थापनले नेपालीलाई कालो रातबाट उज्यालोमा परिणत गरिदिएको भने यथार्थ हो । अहिले लोडसेडिङ भन्ने शब्द नै पुरानो बन्न पुगेको छ । यसरी कुलमान घिसिङले पाएको विद्युत प्राधिकरणको आफ्नो कार्यकाललाई पूर्णरुपमा सदुपयोग गरेका छन् र काम गरे अनुरुपको वाहवाही पनि पाएका छन् ।

कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरको रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई पहिलो पटक २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेका हुन् । त्यसअघि उनी चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा जिम्मेवारीबिहीन बनाएर तानिएका थिए । सोही मौकामा उनलाई मन्त्री शर्माले प्राधिकरणमा ल्याएका हुन् ।

आफ्नो कार्यकालमा सपना खोसिएका, आशा हराएका, अध्याँरोमा बस्न विवश नेपाली जनतालाई उज्यालोको किरण छर्दै उनीहरुको मनमनमा बस्न तथा सफल प्रशासक बन्न सफल भएका घिसिङले नियुक्त भएपछि विद्युत् चोरी नियन्त्रण, सेवामा सुधार, बक्यौता असुलीमा कडाई, प्राविधिकमा चुहावट कम, सबस्टेसनको स्तरोन्नतीका लागि अभियान नै चलाए । उनको यो अभियानले अर्बौं घाटामा रहेको प्राधिकरण अहिले सबैभन्दा बढि नाफामा रहेको छ । लामो समय लोडसेडिङको समस्यासँग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

यसरी घाटालाई नाफामा परिणत गर्दै २४ घण्टा उज्यालो दिएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङको निरन्तरताका लागि सामाजिक सञ्जालमार्फत अभियान सुरु भएको छ । उनको कार्य अवधि यहि भदौ २९ गते सकिदै छ । तर मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नगएको विषयमा कुलमानलाई निरन्तरताको निर्णय भयो भनेर सामाजिक सञ्चालमा व्यापाक चर्चा भयो । अर्थात मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनः चार वर्षको लागि नियुक्त भएको हल्ला फैलियो । हल्ला पनि यसरी फैलियो कि सामाजिक सञ्जालमा एकैछिनमै कलाकारदेखि सरकारी निकायका ठूला कर्मचारी लगायत सबैले बधाई दिनेको ओइरो नै लाग्यो । त्यतिमात्रै नभएर कतिपय अनलाइन मिडियाले समेत पुनः कुलमानले प्राधिकरणमा नियुक्ति पाएको समाचार प्रकाशन गरेका थिए । यता उर्जा मन्त्रालयले घिसिङको म्याद भदौ २९ गतेसम्म भएकाले मंगलबारको बैठकमा प्रस्ताव नै पेश नभएको कुराको हल्ला फैलिएको विभागीय मन्त्रीले स्पष्ट पारे ।

हुन त पछिल्लो एक हप्तादेखि सामाजिक सञ्जालदेखि विद्युत प्राधिकरणमा कुलमान घिसिङ नै चाहिन्छ भन्दै म्युजिक भिडियो समेत बनिसकेका छन् भने कतिले सामाजिक सञ्जाल फेसबुकमा ‘तिमी छौ र त उज्यालो छ’ लेखिएको उनको तस्बिर प्रोफाइल पिक्चर बनाउन थालेका छन् कतिको ट्वीटरमा ब्रिंगब्याक कुलमान भन्ने ह्यासट्याग चलेको छ ।

यसैबिच मंगलबार कुलमान घिसिङको फेक ट्वीटर अकाउन्टमा पोस्ट आयो
“आजको मन्त्रीपरिषद बैठकले आगामी कार्यकालको लागि तपाईंको आफ्नै कुलमान घिसिङ लाइ पुनः नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक मा नियुक्त गरेको छ । अबको कार्यकाल बिद्युत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ । #thank_you_Nepal_government -कुलमान घिसिङ -@kulman_ghising7_ August 25, 2020Æ

यसरी आएको पोस्टलाई सबैले आधिकारीक माने यहाँसम्म की कुलमानको कमालले कलाकारहरुलाई पनि लठ्ठै बनाएको रहेछ । हास्य कलाकार हरिवंश आचार्यदेखि नायिका केकी अधिकारीसम्म कुलमानको निरन्तरताको पक्षमा देखिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा हरिवंशले लेखेका छन्, “यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ उज्यालो ल्याउनेलाई सम्मान गराैं । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्छ ।” अहिले अधिकांश ख्यातिप्राप्त कलाकारहरु नै कुलमानका लागि एकजुट भएर लागिरहेका छन् ।

त्यस्तै, नायिका करिश्मा मानन्धरको पनि कुलमानलाई दोहोर्याउनु पर्नेमा जोड छ । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।”

कुलमानलाई नै दोहोर्याउनु पर्ने पक्षमा देखिएकी नायिका केकीले “निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तीब्र अनि गतिशील । यी तमाम ऊर्जा तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।” भनेर लेखेकी छिन् ।

त्यस्तै, हाँस्य कलाकार जितु नेपालले पनि मेरो पनि चाहना र सम्मान आदरणिय सर कुलमान घिसिङ नै भनेर आफ्नो अभिव्यक्ति पस्केका छन् ।

गायक शिव परियारले सामाजिक सञ्जालमा लेखेका छन् “म ब्यक्तिगत रुपमा कुलमान घिसिङ्ग ज्यु फेरि पुनः एक पटक विधुत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोड्दार माग गर्दछु ! देशलाई, अहिले मात्र हैन सधैंभरि उज्यालो चाहिएको छ ! अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ! आशा छ उज्यालो प्रेमि हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ !”

यसैगरी सबैभन्दा पहिला नियुक्ति भएको समाचार फैलाएका कलाकार दिपकराज गिरीले लेखेका थिए “आज बसेको मन्त्रीपरिषद बैठकले कुलमान घिसिङलाई नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!! सरकारसँग यस्तै आसयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन!”

गायिका सुनिता दुलालले पनि “कुलमानको साथमा म पनि ‘एक लिडरको काम समाधान खोज्नु हो, न कि कमजोरी ।’, यो भनाईलाई चरितार्थ पार्न सफल कुलमान घिसिङ सरप्रति नेपाली जनताले अत्यन्तै उच्च सम्मान देखाएका छन् । सरकारले अब जनभावनालाई कदर गर्दै उहाँलाई पुनः नियुक्त गरोस् । शुभकामना !!!” भनेर आफ्नो भावना व्यक्त गरेकी छन् ।

त्यस्तै, सङ्गीत कर्मिसंघका अध्यक्ष तथा गायक राजेन्द्रकुमार कार्कीले पनि कुलमानलाई नियुक्ति भएको भन्दै सरकारलाई धन्यवाद दिंदै, “कथित सामाजिक अभियन्ता आफैंले आफैंलाई हुँ भन्नेहरुले भोलि बिहान फेसबुकका भित्ताहरुमा हाम्रो दबाबलाई थेग्न नसकेर सरकारले पूनः कुलमानलाई नै प्रमुख बनायो भनेर धेर त होइन दुई इन्च जति उफ्रने होलान बिचराहरु । जे होस राम्रै काम भएको छ । प्रमुख ज्यूलाई पून सफल कार्यकालको हार्दिक शुभकामना !” भनेर लेखेका छन् ।

त्यस्तै, वर्षा राउत लगायत धेरै कलाकारहरुले उज्यालो नेपाल बनाउनेको सम्मान गर्नु पर्नेमा आफ्नो मत राखेर सामाजिक सञ्जालको भित्ता भरेका छन् ।

यता, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि विद्युत् प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिन माग गरेका छन् । कुलमानकै कारण नेपालमा उद्योगहरुको अवस्थामा सुधार आएको भन्दै अध्यक्ष कटुवालले आगामी कार्यकाल पनि उनकै नेतृत्वमा प्राधिकरण चल्नु पर्ने बताएका हुन् ।

यसरी अहिले चर्चाको शिखरमा रहेका कुलमानका लागि अन्य केही व्यवसायी तथा सामाजिक अभियान्ता तथा सर्वसाधारणले समेत यो अभियानमा सक्रिय भई आफ्नो मत व्यक्त गरेका हुन् । अभियानमा लाग्ने अधिकांशले प्राधिकरणमा बाँकी रहेका काम पूरा गर्न पनि कुलमान नै चाहिनेमा जोड दिएका छन् ।

हुन त अभियान चल्नु भन्दा अघि पनि प्रायः धेरैले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिनुपर्नेमा आवाज उठाइरहेकै हुन् । तर अहिले उनको कार्यकाल सकिन १९ दिन मात्रै बाँकि रहेकाले सरकारलाई दबाब दिनको लागि यो अभियान चलाएको आँकलन गरिएको छ ।

बधाई दिनेमा सर्वसाधारण लगायत चलेका कलाकारहरू अधिक रहेका छन् । कलाकार नै अभियानमा लाग्नु अनि साँचो यथार्थ नबुझि एउटाले लेखेको भरमा त्यसैको पछि लागेकाले धेरैजना चिप्लिन पुगेका हुन् ।

मंगलबार बिहान उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले आफ्ना सम्धी प्रा. डा. उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको भन्दै बिहानैदेखि सरकारविरुद्ध सामाजिक सञ्जालमा आक्रोश थियो । सोही आक्रोशका बीचमा कुलमानको नियुक्तिको विषयले प्रबेश गर्याे । यसरी सामाजिक सञ्जालमा सम्धी नियुक्तिको समाचारलाई छायाँमा पार्नका लागि कुलमान पुनः नियुक्तीको गलत समाचार फैलाइएको पनि चर्चा चलेको छ ।

नक्कली आईडी बनाएर प्रचार गरिएको घिसिङको भनाइ

घिसिङले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाममा फेक अकाउण्ट खोलेर गलत प्रचार गरिएको बताएका छन् । मंगलबार साँझ घिसिङको नाममा फेक ट्वीटर अकाउण्टबाट गरिएको ट्वीटका कारण उनको पुनः नियुक्तिको समाचार भाइरल बन्न पुगेको थियो । घिसिङले ट्वीट गर्दै आफ्नो फेक अकाउण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले आफूले पोस्ट गरेको बाहेक अन्य कुनै आधिकारिक अकाउण्ट नभएको उल्लेख गरेका हुन् ।

Logo