उपत्यकामा आम-हड्तालको प्रभाव, अहिलेसम्म कहाँ के भयो ?

उपत्यकामा आम-हड्तालको प्रभाव, अहिलेसम्म कहाँ के भयो ?


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ ।

विहिबार विहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः बनेका छन् । छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रदर्शन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सडकमा आएका थिए । देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर आमहड्ताल गराउन ललितपुरको पुल्चोक पुगेका थिए । गाडीबाट ओर्लिएर दाहाल पुल्चोकको बीचसडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेल तर्फ लागेका थिए । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहालले सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए । चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौं बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, कलंकी, बेदुराम भुसाल, बल्खु, देव गुरुङ, सातदोबाटो, लीलामणि पोखरेल, कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन, चावहिल, शक्ति बस्नेत, महारागञ्ज, भीम रावल, गोंगबु, रघुजी पन्त, बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा, रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

Logo