१२ असोज २०७९ बुधबार
1
1
1
1

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन गरिँदै

1
1
1
1

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु गरेको १६ दिन लामो महालक्ष्मी व्रत आज विधिपूर्वक समापनको तयारी गरेका छन् ।

धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीअर्थात् आजकसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ । यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ ।

सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिई आज बेलुकी यो व्रत समापनको गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । विशेष गरेर नारीले गर्ने यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख, दारिद्रय नाश हुने र सुख, शान्ति एवं ऐश्वर्य मिल्ने धार्मिक विश्वास छ । भगवान् शङ्करले यो व्रतविधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिए ।

यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधाञ्य, सुख वैभव प्राप्त गर्नाका साथै शत्रुसमेत नाश हुने उनले बताए।
 
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेषरुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ । यी समयमा महालक्ष्मीको विधिपूर्वक पूजा आराधना गरेमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने भएकाले वैदिक सनातन धर्मावलम्बीले घर घरमा उपासना गर्ने गरेका छन् ।
 

संस्कृति/सम्पदा

प्रकाशित: १ असोज २०७९ ०९:११ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी