वर्षा र सहकादलका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि

वर्षा र सहकादलका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि


वर्षा र सहकादलका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदैछ। 

ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमबार रथयात्रा शुरु हुन लागेको हो। दिउँसो साढे ४ बजे पुल्चोकबाट रथ तान्न शुरु गरिने गुठी संस्थान ललितपुरले जनाएको छ। पहिलो दिन रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइँदैछ । सोमबार नै ललितपुरकै टंगालबाट मीननाथको समेत रथ तानी पुल्चोकसम्म पुर्‍याइँदै छ। दुवै रथलाई एकैसाथ तान्ने प्रचलन छ । रथलाई पाटनका विभित्र स्थानमा परिक्रमा गराइन्छ। पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ। 

मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ। हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ। रातो मच्छिन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ। यो नेपालकै सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । 

Logo