नेपालमै पहिलो पटक ‘श्री अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ’ सुरु

नेपालमै पहिलो पटक ‘श्री अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ’ सुरु


स्वामी श्रीप्रखर जी महाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ भएको छ ।

अक्षय तृतीयाको दिन उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूूको प्रमुख आतिथ्यमा उक्त महायज्ञ शुभारम्भ भएको हो । गत फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरतास्वरूप श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा बैशाख १० गतेबाट पुनः शुभारम्भ गरिएको बताइएको छ ।समारोहमा उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पनि विशेष आतिथ्यता रहेको थियो ।

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा कार्यक्रम समुदघाटन गरिएको थियो । कार्यक्रममा अध्यक्ष गोयलले उपस्थितहरूलाई स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने बताए । कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालिस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने पनि उनले बताए । साथै १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पती गरी एक सय यजमान दम्पतीको सहभागिता रहने पनि उनले जनाए ।

महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताउँदै अध्यक्ष गोयलले महायज्ञ गत फागुनदेखि नै जारी रहेको बताए । सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषता बारे प्रकाश पारे ।

उपराष्ट्रपति यादव लगायतका विशिष्ट वक्ताहरुले यस महायज्ञको प्रशंसा गर्र्दै देशको आर्थिक, व्यावसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यले देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

Logo