साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड


आज साउन महिनाको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ। 

साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिनाभर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्। 

साउनको अन्तिम सोमबार पूजाआजा गरि महिलाहरु व्रत समापन गर्दछन्। सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुईंटेल) आचार्य मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताउँछिन्। पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजा गर्न नपाएकोले मन खिन्न भएको उनले बताइन्। मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन्।

त्यसैगरी पशुपतिनाथ दर्शनका लागि पुगेकी साधुदेवी कुँवरले सधैँ आएको बानि बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताइन्। उनले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भएपनि मन्दिर आउने बानी परेकाले दर्शनका लागि आएको बताइन्।

उनले भनिन्, “सधैँ आएको बानी बसेको भएर आउनुपर्यो, नआए त हुन्थ्यो, यस्तोमा कोरोना सर्ने सम्भावना धेरै हुन्छ, मन्दिर आउने बानी भएकाले बाध्य भएर आएका हौँ।”

कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिएको छैन। तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ। व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन्। 

कोरोनाका कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ। व्रतालुहरु मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ।

Logo