‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा


झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् ।

कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेषरूपमा मनाउने गर्दछन् ।

मेचीनगर नगरपालिका–७ मदनबस्तीमा राजवंशी युवाले चिल्लो बाँसको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे । सो प्रतियोगितामा मेचीनगर–७ का देवलाल राजवंशी प्रथम भएका थिए ।

दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो । ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यता अनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउँथे । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान् श्रीकृष्णको आराधना गरिन्छ ।

हिलो भएको स्थानमा अग्लो बाँसको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बाँस चढेर नरिवल र नगद हात पार्ने प्रतिस्पर्धा गर्दछन् । बाँस चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बाँसका टुप्पोमा पनि तेल राख्ने गरिन्छ ।

यसबाट चढ्न खोज्दा बाँस हल्लिएर झन् चिल्लो हुन्छ । स्थानीयवासी पुनलाल राजवंशीले यो खेल परापूर्वकालदेखि चलिआएको बताए । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडका रूपमा लिने गरेका छन् ।

कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीयवासी युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दाबी गरे । 

Logo