किन मनाउन थालियाे विश्वकर्मा पूजा?, के छ धार्मिक महत्व?

किन मनाउन थालियाे विश्वकर्मा पूजा?, के छ धार्मिक महत्व?


हरेक चाडपर्वको आआफ्नै महत्व र विशेषता हुन्छ। हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन्। वैज्ञानिक कारण पनि हुन्छन्।

आज विश्वकर्मा पूजा। विश्वकर्मा पूजा भन्नासाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं। आखिर किन यसो गरिएको होला ?

हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात असोज १ गते विश्वकर्मा पूजा गरिन्छ। भनाइअनुसार यो दिन विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ।

नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ। यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ। यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरूले गर्छन्।

खासमा यो पूजा केही दशकअघिसम्म नेपालमा त्यति धेरै प्रचलित थिएन। नेपालमा यो यहाँ कार्यरत भारतीयहरूकै कारण झांगिएको हो। अहिले पनि यो पूजा भारतीयहरूले जति धूमधामका साथ गर्छन् त्यति नेपालीहरूले गर्दैनन्। तर पनि देखासिकीमा यो पूजा गर्ने प्रचलनले व्यापकता पाएको छ।

यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छन् र मानिसहरूले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन्।

विश्वकर्मा को हुन् ?

एउटा भनाइअनुसार भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्नभिन्नै जिम्मेवारी दिएका थिए। सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निर्वाह गर्न ब्रह्माले आफ्नो वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिए।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ। उनले पाताल, मर्त्यलोक र स्वर्गलोक गरि तीनै लोकको निर्माण गरे।

भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण गर्न सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ। उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन्।

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरू विश्वकर्मा हुन्। सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ। उनीहरू सबैको मूल विश्वकर्मा हो। त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरूलाई तोडिदिन्छ भन्ने विश्वास छ।

Logo