नेपालका यी प्रसिद्ध धार्मिक गन्तव्य, जहाँ दशैंमा सर्वाधिक भिड लाग्ने गर्छ

नेपालका यी प्रसिद्ध धार्मिक गन्तव्य, जहाँ दशैंमा सर्वाधिक भिड लाग्ने गर्छ


नेपालमा मान्छेभन्दा धेरै मूर्तिहरु र घरभन्दा धेरै मठ मन्दिरहरु छन्। यहाँ आउने विदेशी पर्यटकहरुले वर्णन गर्ने वाक्य हो यो। हुन पनि यहाँ विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन्। मठमन्दिरहरु पनि उस्तै छन्  यी मन्दिरहरुमा सधैंजसो मेला र उत्सवहरु हुने गर्दछ। यसैबीचमा हाम्रो मौलिक चार्ड दशैं आइपुगेको छ। यसवर्ष दशैंमा विगत जसरी खुलेर मन्दिर जान सक्ने अवस्था त छैन तैपनि हामीले दशैंमा विगतमा भक्तजनहरु धेरै जाने र आगामी दिनमा पनि उपस्थिती रहने केही मन्दिरहरुको चर्चा गर्ने प्रयास गरेका छौं। आजको हाम्रो रिपोर्ट काठमाडौं उपत्यका र बाहिरका केही उल्लेख्य मन्दिरहरुको बारेमा केन्द्रीत छ।

उपत्यकाभित्र
१ .नक्साल भगवती
नक्साल भगवती काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येको एक हो। यस मन्दिरमा सोह्र भूजायुक्त (१६ वटा हात भएकी) देवीको मूर्ति रहेको छ। भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ। यस मन्दिरमा विभिन्न भाकल राख्ने र पूजाआजा गर्नेहरुको उपस्थिती उल्लेखनिय रहने गरेको छ। दशैंको समयमा त यहाँ निकै नै भिड हुने गरेको छ। मनले चाहेको पूरा हुने विश्वासमा यहाँ भक्तजनहरुको उपस्थिती रहने गरेको हो।

२.दक्षिणकाली मन्दिर
दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा रहेको छ। राजधानीको बल्खुबाट करिब २० किमिको दुरीमा रहेको यस मन्दिरमा हरेक शनिबार र मंगलबार विशेषरुपमा भिड हुने गर्दछ। यहाँ भाकल राखेर बलि चढाउने भक्तजनहरुको संख्या उल्लेख्य छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई खोलाहरुको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताका मूर्ति पनि छन्। यहाँ मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएका स्थलहरु पनि छन्। तत्कालिन राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। मूलतः दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

३.शोभा भगवती
शोभा भगवती काठमाडौँंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठ हो । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ। यहाँ रहेको ऐतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो। मूर्तिमा भगवतीको बयान गर्दा विविध आयुधहरू समातेको, महिषासुरको दमनको रूपमा छ। शोभा भगवतीको मूर्ति तान्त्रिक आधारमा बनाइएको छ।

तन्त्रशास्त्रमा यिनीलाई ‘बगला’ पनि भन्ने गरिन्छ। नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मान्ने यी भगवतीलाई शुभा भगवती पनि भन्ने गरिएको पाइन्छ। नवौँ शताब्दीतिर मातृका देवीका अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभा भगवतीको पनि स्थापना गरेको अनुमान छ। नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ। त्यतिबेला भक्तजनहरूले गाउँगाउँ, टोलटोल, पीठपीठमा, मूलबाटो, देवालय, मन्दिरमा शक्तिपूजाका लागि देवदेवीहरूको मूर्ति स्थापना गरेका थिए। नेपालमा पनि शक्तिपूजाको सुरुवात निकै पुरानो भएकोले विभिन्न भगवतीहरूको स्थापनाको सिलसिलामा शोभा भगवतीको पनि स्थापना भएको हुनुपर्छ भन्ने कथन छ। काभ्रेको पलाञ्चोक भगवती, राजधानीकै नक्शाल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकारले बनाएको किम्बदन्ती रहेको छ। मूर्तिकारहरूले यसमा आफ्नो कुशल कलाकारिता देखाएकोले पनि भगवतीको मूर्ति निकै प्रभावशाली भएको छ।

४.भद्रकाली
भद्रकाली जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै ’भद्रकाली’ हुन्। दुर्गा सप्तसती (देवी महात्म्य र चण्डी पाठ) मा दुर्गालाई देहाय का ११ नामले बन्दना गरिएको छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

यो मन्दिर सिंहदरबारदेखि ५०० मिटर पश्चिममा रहेको सामान्य स्वरूपको मन्दिर हो। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ। तान्त्रिक पद्धति अनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन्। दुर्गा कवचमा उल्लेख भए अनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो। यसलाई कतै कतै लुमडीस्थान पनि भनिन्छ। विभिन्न वंशावलीका अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्। यहाँ पनि दशैंको घटस्थापनासँगै दशैंभरि नै विशेष पूजा गरिन्छ भने वर्षभरि नै सदाबहाररुपमा भक्तजनहरुको उपस्थिती बाक्लो रहने गरेको छ।

५.तलेजु भवानी
तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवारक्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यसक्षेत्रका अन्य महत्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप आदि। मन्दिरै मन्दिरको यसक्षेत्रमा देशविदेशका पर्यटकहरुको पनि विशेष उपस्थिती रहने गर्दछ।

उपत्यका बाहिर
६.पलान्चोक भगवती
पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साविक साठीघर भगवती गाविस (हाल पाँचखाल नगरपालिका) मा अवस्थित छ। काभ्रेको पाँचखालबाट ९ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती र पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ। यस मन्दिरमा दशैंमा विशेष मेला लाग्ने गरेको छ। घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म नै भक्तजनहरुको बाक्लो भिड रहने यो मन्दिरमा जान आउन मोटरबाटोको राम्रो सुविधा छ।

७.मनकामना मन्दिर
गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिरका पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। इतिहास अनुसार पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराएपछि यहिं आएर लखन थापा मगरले देवीलाई बलि भेट गरेको थाहा पाइन्छ।

यहाँ हरेक दिन देश विदेशबाट भक्तजनहरुको विशेष मेला लाग्छ। चितवनको कुरिनटारबाट यहाँ जानका लागि केबुलकारको सुविधा छ। अहिले मन्दिरसम्म जान आउनका लागि आबुखैरेनीहुँदै मोटरबाटोको पनि सुविधा छ। यहाँ दशैंको समयमा विशेष मेला र पूजाआजा हुने गरेको छ।

८.चण्डेश्वरी मन्दिर
चण्डेश्वरी मन्दिरको मूख्य मन्दिर काभ्रेको बनेपामा छ। तर यसका अन्य मन्दिरहरु काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेका छन्। मूलमन्दिरमा जान नसक्नेहरुले चण्डेश्वरीका विभिन्न प्रतिमाहरु काठमाडौंका चोक चोकहरुमा प्रतिश्थापन गरेको पाइन्छ। धेरैजसो नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन्। यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एक जाती देवीको रूपमा पुज्दछन्।

यो मन्दिर नेपाली मौलिक प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मन्दिरमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरबको मूर्ति रहेको छ। यस मन्दिरमा पाचौँ शताव्दीको हाराहारीमा बनाइएको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन्। यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्व दिइएको छ। चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ। यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आइएको छ। यहाँ पनि दशैंको समयमा भक्तजनहरुको धेरै नै भिड लाग्ने गर्दछ।

९.शैलेश्वरी मन्दिर
शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलका रूपमा रहेको छ। यहाँ देवीको नित्य पूजा सिलगाउँनिवासी भट्ट ब्राह्मणद्वारा गरिन्छ। प्रत्येक वर्ष जेठ र कार्तिक पूर्णिमाका दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। भगवान शिव र माता पार्वतीले आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रागिरी पर्वतलाई रोजेका थिए। ब्रह्मा, विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजी गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो। यहाँ पनि दशैंमा विशेष मेला लाग्ने गरेको छ।

१०.दन्तकाली मन्दिर
दन्तकाली मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालका विजयपुर डाँडाको मध्यभागमा अवस्थित छ। मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ। उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ। यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ।

दन्तकालीको मन्दिर वि.सं.२०३५–३६ सालसम्म सामान्य प्रकारको थियो। त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ। दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ। त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन्। यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ।

विजयपुरको दन्तकालीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ। यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि देख्न सकिन्छ। तसर्थ दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्वपूर्ण छ। दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या र भताभङ्गे विजयपुरका रमणीय तथा भ्रमण गर्न योग्य स्थानहरू हुन्। यसबाहेक सम्पूर्ण विजयपुरनै पर्यटकीय दृष्टिले महत्वपूर्ण छ।

११.पाथिभरा देवी
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो। पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ। विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्रस्थल ताप्लेजुङको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३ हजार ७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ” भनेर चिन्दछन्। लिम्बूभाषामा “मुक्तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन्। यस मन्दिरमा पनि दशैं लगायतका अन्य चार्डहरुमा विशेष मेला लाग्ने गर्दछ।

१२. कालिन्चोक मन्दिर
कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर साविकको कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३ हजार ८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। यहाँ जनैपूर्णिमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

Logo