महाष्टमीमा शक्तिपीठमा भक्तजनको भीड (भिडियाेसहित)

महाष्टमीमा शक्तिपीठमा भक्तजनको भीड (भिडियाेसहित)


नेपालीहरुको महान चाड विजया दशमीको आठौं दिन आज महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइएको छ। 

बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको हो। काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ। काठमाडौंका नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, संकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको भीड छ । महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। 

आजको दिन देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिएर महाष्टमी पर्व मनाउने गरिन्छ । कलपूर्जा, हातहतियार र गाडीहरुलाई आज भगवतीको अस्त्रको रुपमा पूजा गर्ने चलन छ । पशुबली नदिनेहरुले आज आफ्नो पूजाकोठामा कुभिन्डो, नरिवल, घिरौँला, लौका लगायतको बली दिने गर्दछन् ।

त्यसै गरि जनकपुरधामको शक्तिपीठहरुमा पनि खोँइछ भर्नेको भीड लागेको छ । 

राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड रहेको थियो । विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भर्दै आएका छन्। खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा पुग्ने गर्दछन्।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको थियो । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ।

मिथिलामा छोरीको विदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ। त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि जाने गरेका छन्। प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ।

 

Logo