मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र

मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र


मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धमाधम गरिरहेका छन् । युवा क्लब तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभिन्न पोखरी तथा सरोवरहरूलाई दुलहीझैँ सिँगारिएको छ ।

जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने कार्य भइरहेको छ । 

गंगा सागर छठ पूजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारै डिलमा करिब चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए । 

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलि बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठ पर्व  मनाउँदा  चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात् मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ । 

छठ पर्वमा तीन करोडको केरा खपत 

छैठ पर्वमा अन्य समग्रीभन्दा केराको कारोबार बढी हुने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरले छठ पर्वलाई मात्र लक्ष्ति गरी ४५ ट्रक केरा, ११ ट्रक स्याउ, चार ट्रक अनार र चार ट्रक सन्तुला ल्याएको जनाएको छ ।

धनुषा, महोत्तरी र सिराहा गरी तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरा लगायतका सामाग्री खरिद गर्ने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरका  रुदलप्रसाद साहले केरा दुई करोड ५० लाख, स्याउ ८० लाख, अनार ६० लाख र सन्तुला २० लाखको कारोबार हुने अनुमान गरिएको बताए । 

सुरक्षा व्यवस्था कडा बनाउँदै प्रहरी 

चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश २ प्रहरी कार्यालयले प्रदेश सुरक्षा व्यवस्थालाई कडा पारेको छ । विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वकै अवसरमा अप्रिय घटना भएकोले त्यस्ता घटना हुन नदिन आफू सर्तक रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रंजितकारले बताए ।

Logo