किन लोकप्रिय बन्दैछ छठ पर्व ? यस्तो छ धार्मिक महत्त्व (भिडि‍याे)

किन लोकप्रिय बन्दैछ छठ पर्व ? यस्तो छ धार्मिक महत्त्व (भिडि‍याे)


छठ पर्व नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। नेपालको विशेष गरी तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

मानव सभ्यताको सुरुदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा चैते छठ पर्व मनाइन्छ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्म शुद्धि गर्छन्, जसलाई खरना भनिन्छ। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजन राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्कन्छन्। तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँ कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ। त्यसकारण मनले मात्र शुद्ध नभएर सबै थोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ।

षष्ठीको भोलिपल्ट ब्रह्म मुहूर्तमा मानिसहरू पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ। छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ। विशेष गरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ। छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

केही दशकअघि नेपालको तराई र भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यमा धूमधामका साथ मनाइने छठ पर्व यति बेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ । 

छठमा प्राकृतिकका साथै एकता र आस्थाको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको संस्कृत विद्हरू बताउँछन् । छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरूको पर्व  भनेर व्याख्या गरे पनि यो पर्व हरेक वर्गको मनाउने गरेका छन् ।

हिन्दुहरूको हरेक पर्वोत्सवहरूका ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवीदेवताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ । तर,  छठ पर्वमा त्यस्तो केही हुँदैन । यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ ।

अघिल्लो वर्षको तुलनामा कोभिडका कारण भक्तजनहरूको उपस्थिति कम हुँदै गएको काठमाडौंको गौरिघाटमा छठ पुजाको तयारी गिरिरहेका छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष रामबाबु महासेट बताउँछन् । कोभिड पनि हुनेखाने वर्गमा मानिसहरूले आफ्नै घर छेउछाउ छुट्टै तरिकाले छठ मनाउने गरेकाले पनि भक्तजनहरूको उपस्थितिमा कमी हुँदै गएको उनी बताउँछन् ।

 

Logo