जनकपुरमा विवाहपञ्चमी महोत्सवको तयारी सुरु, मासु र मदिरा बिक्रीमा प्रतिबन्ध लगाइने

जनकपुरमा विवाहपञ्चमी महोत्सवको तयारी सुरु, मासु र मदिरा बिक्रीमा प्रतिबन्ध लगाइने


प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ।

मंसिर १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो। विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले  मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए। शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको तयारीको विषयमा जानकारी दिएको हो।  

विगतका वर्षहरूमा विवाहपञ्चमीमा सहभागी नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने गरेको भए पनि मन्दिरले अहिलेसम्म त्यसको विषय जानकारी गराएका छैन। महन्त दासले भने,‘अहिलेसम्म अतिथिहरूको फिक्स हुन सकेको छैन, फिक्स भएपछि यहाँहरूलाई जानकारी गराउँछौं।’

विवाहपञ्चमीको तयारीस्वरूप अहिले मन्दिर परिसरमा पन्डाल निर्माण, सौन्दर्यकरण, सरसफाइका काम सुरु गरिसकेको छ। यसैबीच, विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि केही दिनका लागि माछा–मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने स्थानीय प्रशासनले जनाएको छ। 

Logo