भक्तपुरको होली यौनसँग पनि सम्बन्धित, यस्ताे छ परम्परा

भक्तपुरको होली यौनसँग पनि सम्बन्धित, यस्ताे छ परम्परा


होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर। तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन। यहाँको होली यौनसँग पनि जोडिएको छ। यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ। 

यहाँ लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको दृश्य छ। भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिंगको प्रतिकको रुपमा रहेको करिब तीन फिट लामो काठको लिंग  (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर  (द्राैपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँ राखिएको छ। यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको छ। यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो। यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ।

प्रत्येक वर्ष होलीको क्रमको परम्पराअनुसार त्यहाँ यस्तो गरिएको हो। यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरू पनि उतिकै भेटिन्छन्। होलीको एक हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्राैपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन्। यसले पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ। भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ। 

झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए पनि कुनै सञ्चार माध्यम नभएको त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकारहरू बताउँछन्। शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यो पर्व हो भन्छन् उनीहरू। यो दृश्य होलीको मुख्य दिन बिहीबारसम्म हेर्न सकिनेछ। 

मन्दिरकी पुजारी केशरी कपालीका अनुसार पहिला पहिला भए भीमसेनको योनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो। धेरै भिडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्ड्याउँदा विशेष गरेर महिलालाई हिँड्डुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको उनले जनाइन् ।

झुण्ड्याइएको लिंगलाई होली पूर्णिमाको दिन आज बिहीबार निकालिन्छ। त्यसपछि यसलाई धुनको लागि पुन सूर्यमढी च्याम्हासिंह हुँदै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ। यो अन्तिम दिनमा भीमसेनको याैनाङ्ग बोक्न आउनेको भीड लाग्छ। याैनाङ्ग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास अझै छ। भीमसेनको याैनाङ्ग छोरा नभएकाहरू विशेष बोक्न लालायित हुन्छन्। होलीको दिन साँझ याैनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ। 

संस्कृतिविद् जननीप्रसाद मुल उहिलेदेखिको यो परम्परा अहिले पनि जस्ताको तस्तै हेर्न पाउनुमा खुशी व्यक्त गर्छन्। पुराना संस्कृति, परम्परालाई जोगाईराख्नु आवश्यक रहेको उनी औंल्याउँछन् ।न्युज कारखाना

Logo